सामुदायिक वनको पच्चिस वर्षका उपलब्धी सार्वजनिक

सामुदायिक वन उपभोक्ता महासंघले विगत २५ वर्षको अवधीमा हासिल गरेका महत्वपूर्ण उपलब्धीहको समीक्षा गरेको छ ।

देशव्यापी रुपमा सामुदायिक वन हस्तान्तरण र उपभोक्ता समूहको क्षमता विकासका लागि निरन्तर अभियान तथा कार्यक्रमहरु सञ्चालन गरी सामुदायिक वनलाई स्थानीय समुदायको जीवनको अभिन्न अंगको रुपमा स्थापित लगायत विभिन्न उपलब्धी सार्वजनिक  गरेको हो ।

“वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार : उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ महासंघले देशव्यापी आफनो २६औं स्थापना दिवस मनाउने योजना बनाएको छ ।

यसरी २६ वर्षको अवधिमा महासंघले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को अध्यक्ष भारती पाठकले जानकारी दिइन ।

यस वर्ष कोरोना भाइरस (कोभिड १९) को संक्रमण र प्रभावलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरुको पालना गरी स्वास्थ्य सामग्री वितरण, राहत वितरण, सामुदायिक वनको सहयोग परिचालन लगायतका कार्यहरु र सम्भव भएसम्म स्थान अनुसार वृक्षारोपण लगायतका कार्यहरु गरी सप्ताहव्यापी रुपमा महासंघ स्थापना दिवस मनाइने फेकोफनले जनाएको छ ।

यस्ता छन् पच्चिस वर्षका उपलव्धीहरु :

-तराईका जिल्लाहरुमा रहेको सालको वनमा हुन लागेको विदेशी निजी कम्पनीहरुको हस्तक्षेप विरुद्धको आन्दोलन गर्दै वनमा विदेशी निजी कम्पनीहरुको हस्तक्षेप रोकी तराईमा सामुदायिक वन अभियान सञ्चालन गरिदै आएको ।

- देशव्यापी रुपमा सामुदायिक वन हस्तान्तरण र उपभोक्ता समूहको क्षमता विकासका लागि निरन्तर अभियान तथा कार्यक्रमहरु सञ्चालन गरी सामुदायिक वनलाई स्थानीय समुदायको जीवनको अभिन्न अंगको रुपमा स्थापित गरिएको ।

- संविधानमा सामुदायिक अधिकारको सुनिश्चितताका लागि सञ्चालित अभियानका माध्यमबाट संविधानमा प्राकृतिक स्रोतको परिचालन र सोबाट प्राप्त लाभमा स्थानीय समुदायको अग्राधिकार हुने व्यवस्था गरिरएको ।

- सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षहरुबाट सामुदायिक वनमा हुँदै आएका विभिन्न हस्तक्षेपहरु रोक्नका लागि द्वन्द्वरत पक्षहरुलाई दवाद सृजना गरी सामुदायिक वन अधिकारको सुरक्षा गरिएको ।

- वन तथा वातावरण र जैविक विविधताको सन्दर्भमा विभिन्न समयमा तर्जुमा हुने वन नीतिहरु, वन ऐन तथा नियमावली, निर्देशिका र कार्यविधि तथा मार्गदर्शनहरुमा सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चितताका लागि विभिन्न वकालतका कार्यहरु गरी सामुदायिक वन अधिकारको सुनिश्चितता गरिएको ।

-सामुदायिक वनमा लगाईदै आएको विभिन्न किसिमका करको बोझ हटाउन र सामुदायिक वन उपभोक्ता समूहको कोषमा विभिन्न पक्षबाट हुने हस्तक्षेप राक्नका लागि समुदायस्तरदेखि राष्ट्रियस्तरसम्म आन्दोलन र कानूनी उपचारका माध्यमबाट अधिकांश करको बोझहरु हटाउन सफलता मिलेको ।

-सामुदायिक वन अधिकारमा प्रभाव पर्ने विभिन्न किसिमका संरक्षित क्षेत्रहरु, चुरे वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र घोषणा तथा विस्तार गर्ने कार्यहरु विरुद्ध निरन्तर सामुदायिक अभियान सञ्चालन गरी सामुदायिक वनका माध्यमबाट नै वातावरण र जैविक विविधता संरक्षणमा सफलता हासिल हुने कुरा स्थापित गरिएको ।

- सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापनको नाममा हुँदै आएको हस्तक्षेप रोक्नका लागि सञ्चालित अभियान स्वरुप बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज भएको र सामुदायिक वनको काठ लगायतका वन पैदावारमा हुँदै आएको केन्द्रिकृत हस्तक्षेप कम हुँदै गएको ।

-सामुदायिक वनमा आधारित वन उद्यम र पर्यापर्यटनमा देखिएका कानूनी अवरोधहरु हटाउनका लागि गरिनु पर्ने नीतिगत तथा कानूनी सुधारका लागि निरन्तर वकालतका माध्यमबाट आंशिक रुपमा नीतिगत सुधारहरु भएको ।

-विभिन्न समयमा भएका प्राकृतिक प्रकोप र महामारीहरुमा सामुदायिक वन उपभोक्ता समूहबाट सहयोग जुटाउनका लागि देशव्यापी रुपमा उपभोक्ता समूहहरुलाई व्यापक रुपमा परिचालन गर्दै आएको र यसबाट प्रभावित समुदायलाई राहत पुगेको ।

-सामुदायिक वनका माध्यमबाट जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि व्यापक रुपमा सामुदायिक वनको आर्थिक तथा अन्य स्रोत साधन परिचालन गरिदै आएको ।

-सामुदायिक वन उपभोक्ता समूहमा सुशासन, लैङ्गिक समानता, समाजिक रुपमा समानुपाति समावेशीकरण र सामाजिक आर्थिक न्याय स्थापनाका लागि क्षमता विकास र सामाजिक अभियानहरु सञ्चालन गर्दै आएको ।

- २०६२-०६३ को लोकतान्त्रिक जनआन्दोलन लगायत विभिन्न समयमा भएका जनआन्दोलन र नागरिक अभियानहरुमा सक्रिय सहभागता जनाई महासंघलाई वन क्षेत्र र नागरिक तथा सामाजिक अभियानको क्षेत्रमा एक सशक्त नागरिक समाजको रुपमा स्थापित गरिएको ।

-संघीय राज्य संरचना अनुरुप महासंघको सांगठनिक संरचना स्थाीपत गरी देशव्यापी रुपमा र सबै तहमा महासंघको उपस्थिति, पहिचान र भूमिकालाई सशक्त बनाइएको ।
ड्ड विगत २५ वर्षका सिकाईलाई आधार मान्दै आगामी २५ वर्षको लागि महासंघको नयाँ गन्तव्य सहितको मार्गचित्र तय गरिएको ।

सामुदायिक वन उपभोक्ता समूहहरुको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने र उपभोक्ता समूहको क्षमता एवं नेतृत्व विकास गर्ने लक्ष्य सहित २०५२ साल जेठ १८ गते स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिमूलक छाता संगठन हो । देशभर रहेका २२,४१५ सामुदायिक वन उपभोक्ता समूहले २२,३७,६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन् जसमा २९,०७,८७१ घरधुरी संलग्न रहेका छन् । वन उपभोक्ताको सकृय सहभागितामा सामुदायिक वनको भावना र मर्म अनुसार वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी भएको छ भने राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा नेपालको सामुदायिक वन एक सिकाई केन्द्र्र्रको रुपमा स्थापित भएको छ । नेपालको संविधान र नीति तथा कानूनले परिकल्पना गरेको नेपाली जनताको समृद्धिको अभियानमा सामुदायिक वनले पनि योगदान गर्दै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics