बढ्दो तापक्रमको असर : चराहरूको बाँच्ने क्षमता ६३ प्रतिशतले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय वातावरण वैज्ञानिकहरूको टोलीले विश्वभर बढ्दो तापक्रम र दुर्गम क्षेत्रहरूमा चराहरूको संख्यामा आएको गिरावट बीचको सम्बन्ध पत्ता लगाएका छन् ।

अध्ययनमा, टोलीले अत्यन्तै दुर्गम वन क्षेत्रहरूमा बस्ने चराहरूको निगरानी गरेका थिए र तिनीहरूको निष्कर्षलाई जलवायु तथ्यांकसँग तुलना गरेका थिए । यो अध्ययन इन्स्टिट्युटो नेसियोनल डे पेस्क्विसास दा अमेजोनिया, मिशिगन टेक्नोलोजिकल युनिभर्सिटी र ओरेगन विश्वविद्यालयका वैज्ञानिकहरूले गरेका हुन् ।

शताब्दीयौंदेखि, मानव जनसंख्या बढ्दै जाँदा, धेरैजसो अन्य जनावरसँगै चराहरूको संख्या घटेको छ । अघिल्लो अनुसन्धानका अनुसार चराहरूको संख्या लगभग सबैतिर घटेको देखिन्छ । मानव अतिक्रमणबाट अछुतो रहेका दुर्गम क्षेत्रहरूमा पनि चराको संख्या घटेका अनुसन्धानहरूले देखाएको छ ।

विगत दुई दशकमा, अमेजनको दुर्गम क्षेत्रहरूमा काम गर्ने अनुसन्धानकर्ताहरूले चराहरूको संख्या निरन्तर घट्दै गएको र केही लोप हुँदै गएको पत्ता लगाएका छन् । धेरै वर्षदेखि, वैज्ञानिकहरू स्पष्ट कारणको अभावमा अलमल्लमा परेका थिए । यस नयाँ प्रयासमा, मुख्यतया ब्राजिलमा काम गर्ने अनुसन्धान टोलीले विश्वभरि बढ्दो तापक्रम र चराहरूको जनसंख्यामा आएको गिरावट बीचको सम्बन्धको अध्ययन गरेका थिए ।

अनुसन्धानमा ब्राजिलमा धेरै दशकदेखि वनको जैविक गतिशीलता परियोजनामा काम गरिरहेका अन्य अनुसन्धानकर्ताहरूले संकलन गरेको चराको संख्याको डेटा ट्र्याक गर्ने र सोही समय अवधिमा क्षेत्रको लागि संकलन गरिएको जलवायु डेटासँग ती डेटाको तुलना गरिएको थियो ।

यस क्षेत्रमा तापक्रम बढ्दै जाँदा विभिन्न बोटबिरुवा र जनावरहरूमा परिवर्तन आएको अनुसन्धानले देखाएको छ । जसले गर्दा चराहरूको लागि वातावरण कम अनुकूल भएको छ । अनुसन्धान अनुसार नयाँ सुख्खा मौसमले प्रभावित क्षेत्रहरूमा २९ मध्ये २४ प्रजातिका चराहरूको अस्तित्व घटाएको छ । विश्वव्यापी रूपमा औसत तापक्रममा केवल एक डिग्री सेल्सियसको परिवर्तनले यस क्षेत्रमा चराहरूको औसत बाँच्ने क्षमतामा ६३ प्रतिशतले कमी आएको उक्त अनुसनधानले पुष्टि गरेको छ ।

साइन्स एडभान्सेस जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार चराहरू गुँड बनाउने, अण्डा दिने र आफ्ना बच्चाहरूको लागि खाना खोज्ने क्रममा आफ्नो वातावरणमा हुने परिवर्तनहरूप्रति विशेष रूपमा संवेदनशील हुन्छन् ।

तापक्रममा हुने सानो परिवर्तनले पनि चराहरूको लागि समस्या निम्त्याउन सक्छ । उदाहरणका लागि, यदि उनीहरूका चल्लाहरूलाई चाहिने खाना अण्डा निस्कने समयसम्ममा आइपुगेर गइसकेको छ भने, गुँडमा रहेका चल्लाहरू भोकै मर्नेछन्, जसले गर्दा समयसँगै तिनीहरूको संख्यामा निरन्तर गिरावट आउँछ ।

अनुसन्धानकाे पुरा विवरण पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics