दिगो विकास लक्ष्यहरू (एसडीजी)मा पनि काम गर्दै नबिल बैंक

काठमाडौं – नबिल बैंकले दिगो विकास लक्ष्य (एसडीजी)हरूको उद्देश्य पुरा गर्न यसका १७ विकास लक्ष्यहरूमा पनि काम गर्ने भएको छ । पृथ्वी र समृद्धिका लागि तयार पारिएको कार्ययोजना एसडीजीका लक्ष्यहरूमा टेकेर यस अघि पनि बैंकले काम गर्दै आएको र आगामी दिन पनि कार्यक्रमहरू सञ्चालन गर्ने बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बताए ।

यसै अवसरमा सोमबार बैंकले दिगो विकास लक्ष्य (एसडीजी) समेटिएको झण्डाको झण्डोत्तलन गरिएको छ । केन्द्रिय बैंकको कार्यालय परिसरमा एक कार्यक्रमका बिच अध्यक्ष पौड्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले झण्डोत्तलन गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्ने लक्ष्य दिगो विकास लक्ष्य (एसडीजी)ले समेटेकाले त्यो लक्ष्य पुरा गर्नु बैंकहरूको पनि कर्तव्य रहेको बताउँदै यसमा नबिलले योजना बनाएर अघि बढेको बताए ।

उनले भने, ‘चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ र दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ । यसमा अब नबिलको पनि साथ रहनेछ । हामी नेपालका विभिन्न क्षेत्रमा यसकै लक्ष्यमा काम गछौं ।’

१७ विकास लक्ष्यहरूले सहस्राब्दी विकास लक्ष्य (एमडीजी)हरूको उपलब्धिमा टेकेर त्यसबाट हासिल हुन नसकेका कुराहरूलाई पूरा गर्न खोजेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

उनले भने, ‘सबैका लागि मानवअधिकार प्राप्त गर्ने र सबै महिला तथा बालिकाका लागि लैंगिक समानता तथा सशक्तीकरण हासिल गर्नु तिनको उद्देश्य छ । यी लक्ष्यहरू एकीकृत गरी तिनले दिगो विकासका तीन आयाम– आर्थिक, सामाजिक र वातावरणीय– लाई सन्तुलित गर्छ । हो हामी तीनै आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा काम गर्नेछौं ।’

यस अघि पनि नबिल बैंकले दिगो बैंकिङको माध्यमबाट बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले नबिल दिगो बैंकिङ योजना ल्याएर काम गरेको थियो ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिकस्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघुउद्यम सिर्जना गर्नका निमित्त सुविधाहरू प्रदान गर्ने सोचका साथ अघिल्ला वर्षहरूमा धेरै काम गरेको बैंकका अध्यक्ष पौड्यालले बताए । ‘हामीले यस अघि पनि विभिन्न कार्यक्रम गरेका थियौं । ती कार्यक्रम लाखौँको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भए,’ उनले भने ।

अघिल्लो वर्ष अर्थात सन् २०२२ को नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको थियो । बैंकको इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्सिङ डिभिजनअन्तर्गत भएको कर्जा तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरिएको बैंकका नायब महाप्रबन्धक–आदर्श बजगाईँले बताए ।

उनका अनुसार नबिल बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) को प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमध्ये एक हो । नबिलले शून्य कार्बन उत्सर्जनको दिशामा अब बैंक मात्र नभई सबै क्षेत्र उत्तिकै लाग्नु पर्नेमा जोड दिएको छ ।

बिल्डिंग इञ्जिनियरिंग एसोसिएसन नेपाल सँगको सहकार्यमा नबिलले विश्व वातावरण दिवसको अवसर पादैं ग्रिन हाउसको शुभारम्भ गरेको थियो । यस्तै बैकका सम्पूर्ण कामहरूलाई पेपरलेस गरी प्रविधिमैत्री बनाउँदै लगेको पनि बैंकले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics