भोजपुरको ‘सेल्मे फलाम खानी’ सञ्चालनमा ल्याउन माग

भोजपुर – भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन् ।

सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकाले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ । यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगढ हर्कराज विश्वकर्माले बताए ।

आफ्ना पुर्खाले यहीँ नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ । अहिले पनि उद्योग सञ्चालन गरिएको स्थान आसासमा फलामको किट पाउन सकिने उनको भनाइ छ । सेल्मे क्षेत्रका करिब नौ घरपरिवारले अहिले पनि व्यावसायिक रुपमा कालिगढ पेसा अँगालिरहेको अर्का कालिगढ तीर्थकुमार विश्वकर्माले बताए । राज्यले यहीँ नै फलाम खानी सञ्चालनमा पहल गरी दिए सहजता हुने उनको भनाइ छ । उनले गाउँमा नै भएको खानीले निरन्तरता पाए बाहिरबाट फलाम ल्याउनुपर्ने बाध्यता हट्ने बताए ।

स्थानीय जानकार वृद्धवृद्धाका अनुसार तीनदेखि चार पुस्ता अघि अर्थात् करिब एक सय ५० वर्ष अघिबाट फलाम खानी सञ्चालन भएको इतिहास रहेको वडाध्यक्ष नभराज माङपाहाङले बताए । त्यो समयबाट सुरु भएको उद्योग करिब विसं २०१३ सम्म सञ्चालनमा रहेको स्थानीय जानकारहरूको भनाइ छ ।

पछिल्लो समयमा राज्यको बेवास्ताका कारण खानीबाट फलाम उत्खनन रोकिएको स्थानीय बताउँछन् । यहाँको देवी खोला, छोक्ला, सेल्मेलगायत स्थानमा फलामको धाउ पाइने वडाध्यक्ष माङपाहाङले बताए । सेल्मे क्षेत्रमा फलामको राम्रो सम्भावना रहेकाले राज्यले यसको उत्खननमा जोड दिनुपर्ने उनको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics