वातावरणमैत्री हुन माग गर्दै सरकारलाई एकलाख हस्ताक्षर



जलवायु परिवर्तनसम्बन्धी विषयमा सरकार गम्भिर नभएको भन्दै युवाहरुले एक लाख हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेका छन् । हिमाली समुदाय हाम्रो गौरव (होप)ले सरकारले हिमाली पदमार्ग क्षेत्रलाई राष्ट्रिय परियोजनाका रुपमा घोषणा गर्नुपर्नेसहितका माग राखेर हस्ताक्षर संकलन गरिरहेको छ ।

हिमाली समुदाय जलमैत्री संगठनका कार्यकारी अधिकृत तथा होप कार्यक्रमका संयोजक प्रेम बहादुर बोहोराले भने, ‘हिमाली क्षेत्र विकासको गतिमा पछाडी छ । हिमाली क्षेत्रका बासिन्दा जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परिरहेको बेलामा सरकारले केही गर्न सकेको छैन । त्यसैका लागि हाम्रो दवाव हो’ होपले प्रधानमन्त्रीलाई बुझाउन लागेको पत्रमा हिमाली क्षेत्रलगायत देशका ७५ वटै जिल्लाका एक लाख व्यक्तिहरुको हस्ताक्षर रहनेछ । बोहोराका अनुसार उक्त पत्र बैशाख ११ सम्ममा प्रधानमन्त्रीलाई बुझाइने छ ।

हिमाली समुदायको समस्याहरुप्रति नेपाल सरकार र अन्तराष्ट्रिय समुदायले देखाएको उदासिनताको विरुद्ध शान्तिपुर्ण विरोध जनाउन नागरीक समाजद्वारा यो कार्यक्रमको सुरु गरिएको जानकारी उनले दिए । कार्यक्रम अन्तर्गत युवाहरुको नेतृत्वमा ९९ दिने होप अभियानको सुरु गरिएको छ । अभियानको मूख्य लक्ष्य हिमाली समुदायको समस्याहरुप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउंदै ‘ग्रेट हिमालयन ट्रेल’ लाई जलवायु अनुकुलन भूपरिधी र राष्ट्रिय गौरवको परियोजनाको रुपमा घोषणा गराउनु रहेको छ । होप अभियान मार्फत नेपाल सरकारले हरेक लिटर पेट्रोल र डिजेलको विक्रिमा ५० पैसाको दरले प्रदुषण कर लगाउनु पर्ने, हाल उपयोगमा नआएको अर्थमन्त्रालयमा जम्मा भएको रकम वातावरण मन्त्रालयलाई बिग्रंदो शहरी तथा ग्रामीण वातावरणलाई नियमन तथा सुधार गर्न प्रयोगमा ल्याउनुपर्ने माग समेत राखेको छ ।

साथै यस कार्यक्रमबाट होपले वायु प्रदुषण नियन्त्रण तथा फोहोरमैला व्यवस्थापन व्यवस्थित ढंगले गर्नुपर्ने, नेपाल सरकारले घोषणा गरेको नेपालव्यापी प्लाष्टिक झोला प्रतिबन्धलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनुपर्ने, प्रदुषणकर्ताहरु (विशेष गरी प्याकेजिङ मार्फत प्रदुषण फैलाउने व्यक्ति वा व्यवसाय) गर्नेहरुलाई प्रदुषण कर तिराउनु पर्ने जस्ता मागहरु राखेको छ । हिमाली क्षेत्रको विकासले मुलुकको पर्यटकीय विकासमा समेत सहयोग पुग्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics