प्रकृति र ख्याली: फूल बुट्टे रुमाल लिनुहोस् है, रिसानी माफ दिनुहोस् है…

गोविन्द चोङबाङको ‘ख्याली’ संघर्ष

सुजता लिम्बू । विराटनगर
‘धान छरी ब्यू, ए कान्छा ज्यू ए
फूल बुट्टे रुमाल, लिनुहोस् है
रिसानी माफ, दिनुहोस् है
फलामको छेस्को, ओदानी
यो दुःखी ज्यानको, सोधनी
दाम्लोलाई बाट्ने, तसोरी
ढुंगालाई टिपी, हान्नुहोस् है
लौ यसको जवाफ, भन्नुहोस् है ।’

पछिल्लो केही वर्षदेखि टिकटक रिल्स बनाउनेहरूको मन मस्तिष्कमा यो ख्यालीले गहिरो छाप छोडेको छ । यसको क्रेज अझै घटेको छैन । उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्र ‘जारी’ मा यो ख्याली बज्दै गर्दा, माथि उल्लेखित हरफहरू चलचित्रमा समावेश भएका छन् भन्ने कुरा रचनाकार स्वयंलाई पनि पत्तो थिएन ।

एउटा सिर्जना, जसले दर्शकको मन जित्यो । तर, त्यसको जन्मदाता यस सफलताबाट बेखबर रहँदा उनलाई निकै सनक चढ्यो । उनी हाँस्दै भन्छन्, ‘कल्पना गर्नुहोस् त, तपाईँको हृदयदेखिको सिर्जना करोडौं दर्शकमाझ गुञ्जियोस्, तर तपाईँको नाम कतै उल्लेख नहोस्, रिस त उठिजान्छ नि ।’

टिजरमा गुञ्जिएको त्यो मनछुने ख्याली जसले धेरैको ध्यान खिच्यो । त्यसका रचनाकार मोरङ बेलबारीका गोविन्द चोङबाङ थिए । जब उनले टिजरमा कतै आफ्नो नाम फेला पारेनन्, उनी खुब रिसाए ।

३० वर्षअघि ‘याःलाक’ नामक पुस्तक प्रकाशित गरेका चोङबाङ ख्याली अहिले पनि आफ्नो साथमा राख्छन् । कसैले परिचय माग्दा उनी सो पुस्तक देखाएर आफ्नो परिचय दिन्छन् । उनले रचेको ख्यालीमा संगीतको मिठास थपिएपछि त्यो अझै राम्रो बनेको छ । अहिले पनि सामाजिक सञ्जालमा त्यसले ख्याति कमाइरहेको छ, जसका कारण ख्याली पुरानो भएको महसुस हुँदैन ।



पछिल्लो पुस्ताको पनि मन र मस्तिष्कमा बस्न सफल भएको ख्याली जारी चलचित्रमा समावेश भएको पत्तो नै नहुँदा उनले आफ्नो रिस सामाजिक सञ्जालमा पनि पोखेका थिए।  उनी भन्छन्, ‘अनि आफ्नो रचना आफैलाई थाहा छैन, टिकटकमा बज्छ कति जनालाई मैले लेखेको पो हो भन्नु अनि लेखे फेसबुकमा ।’

उनले आफ्नो रचनाको विषयमा खबर पुर्‍याउन निर्देशक उपेन्द्र सुब्बासम्म पुग्न निकै कसरत गरे । हाँस्दै विगत स्मरण गर्छन्, ‘झन्डै मुद्दा हाल्नेसम्मका योजना बनाए ।’ पछि निर्देशक सुब्बाले ख्यालीका रचनाकारको नाम समावेश गर्ने र अन्तर्वार्तामा नाम उल्लेख गरिदिने सन्देश पठाएपछि उनलाई शान्ति महसुस भएको सुनाउँछन् । उनले भने, ‘पछि टिजरमा ख्याली रचनाकारको नाम गोविन्द हुक्पा चोङबाङ भनेर लेखिएर आयो ।’ अहिले उनी त्यो रिस र सिर्जनात्मक अधिकार प्राप्त भएपछि खुसी व्यक्त गर्छन् ।

पछिल्ला पुस्ताहरूले पालम र ख्यालीहरू भुल्दै गएकाले उनी अक्सर साहित्यिक कार्यक्रमहरूमा ख्याली वा पालम गाएर सुनाउँछन् । आफ्नो संस्कार, संस्कृति र परम्परागत शैलीहरूलाई जीवन्त राख्न उनी अभियानकै रूपमा अगाडि बढिरहेको बताउँछन् । उमेरमा धान नाच्दै, पालम गाउँदै र ख्याली गाउँदै हिँडेको स्मरण गर्दै उनले त्यही बेलाको सङ्ग्रहित यो पुस्तक रहेको सुनाउँछन् ।

‘उमेरमा खुब धान नाचियो । पालम गाउँदै हिँडियो । अहिलेको पुस्ताले भुलिसक्यो,’ उनी सुनाउँछन्, ‘अब पुरानो कुरालाई जीवन्त राख्न पनि म त ख्याली गाइदिन्छु ।’

उपेन्द्र सुब्बाले कसरी फेला पारे यो ‘ख्याली’ ?
गोविन्द चोङबाङको ‘याःलाक’ (पालाम संग्रह) नामक पुस्तकको अंश मदन चोङबाङले ‘हाम्रो संस्कृति’ द्वैमासिक पत्रिकाको एक स्तम्भमा बाटो घरे जेठा (गोविन्द चोङबाङ) लाई पात्र बनाएर उल्लेख गरेका थिए । मदनले लेखेको उक्त ख्याली उपेन्द्र सुब्बाले ‘हाम्रो संस्कृति’ पत्रिकामा पढेर प्रभावित भए ।

सुब्बाले उक्त ख्यालीलाई आफ्नो कविता संग्रह ‘खोलाको गीत र अरू कविताहरू’ मा ’ख्यालीमा हारेको ध्रुव’ शीर्षकको कवितामा समावेश गरे । उनले ख्याली अंश मदन चोङबाङको भनेर उल्लेख पनि गरेका थिए । पछि, गोविन्द चोङबाङले आफ्नो रचनाको नाम उल्लेख नभएको भन्दै गुनासो गरेपछि उपेन्द्र सुब्बासम्म कुरा पुग्यो र समस्या समाधान भएको लेखक देवेन्द्र खापुङले बताए । उनको अनुसार पालम ख्याली प्रकृतिसँग सम्बन्धित छ ।

त्यसो त पूर्वी भेगमा बसोबास गर्ने आदिवासी लिम्बू समुदायको मौलिक परम्परा पालाम र ख्यालीले आधुनिक समाजमा पनि आफ्नो महत्व कायम राखेका छन् । प्रकृतिको नजिक रहेर जीवनयापन गर्ने लिम्बू समुदायका लागि पालाम र ख्याली केवल गीत मात्र नभई उनीहरूको जीवनशैली, संस्कृति र प्रकृतिप्रतिको गहिरो सम्मानको प्रतीक रहेको उनको भनाइ छ ।

पालाम र ख्याली लिम्बू समुदायका दुई महत्त्वपूर्ण मौखिक परम्परा रहेको र पालाम प्रायः लामो र कथात्मक शैलीमा गाइन्छ, जसमा प्रेम, बिछोड, सामाजिक घटना र ऐतिहासिक प्रसंगहरू समेटिएका हुन्छन् भने, ख्याली भने छोटो, चुलबुले र तत्कालै सिर्जना गरिने (जुहारी शैलीको) गीत रहेको सरोकारवालाहरू बताउँछन् ।

लिम्बू समुदायको पालाम र ख्यालीमा प्रकृतिको वर्णन अत्याधिक पाइने गरेको सञ्चारकर्मी भक्तशेर लिम्बू बताउँछन् । पहाड, खोलानाला, वनजंगल, फूल, जीवजन्तु र मौसम परिवर्तनका विविध आयामहरूलाई गीतको माध्यमबाट व्यक्त गरिने उनको भनाइ छ ।

पुस्तान्तरण र संरक्षणका चुनौती
आधुनिकीकरण र विश्वव्यापीकरणले गर्दा यी मौलिक परम्पराहरूको संरक्षणमा केही चुनौतीहरू देखिएको उनीहरूको भनाइ छ ।

युवा पुस्तामाझ पालाम र ख्यालीको ज्ञान र अभ्यास घट्दै गएको छ । यद्यपि, लिम्बू सांस्कृतिक संस्थाहरू, स्थानीय सरकार र सरोकारवालाहरूको पहलमा पालाम र ख्याली प्रशिक्षण कार्यक्रमहरू, प्रतियोगिताहरू र सांस्कृतिक महोत्सवहरू आयोजना गरी यी परम्परालाई जीवन्त राख्ने प्रयास भइरहेका छन् ।

पछिल्लो समय, डिजिटल माध्यमबाट पनि पालाम र ख्यालीलाई नयाँ पुस्तामा पुर्याउने प्रयास भइरहेको छ, जसले गर्दा यसको पहुँच र लोकप्रियता बढ्दै गएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics