पूर्व–पश्चिम रेलमार्गको लागि माटो परीक्षण हुँदै



पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको लागि सरकारको कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य सुरु भएको छ । माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको हो ।

प्याकेज–१ को बुटवल–लमही खण्ड अन्तर्गत १ सय १० किमीमा अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण कार्य भइरहेको छ । माटो परीक्षण प्रत्येक ५ सय मिटरको अन्तरमा गर्ने गरिएको छ । कालिका ड्रिलिङ प्रालिका प्राविधिक शिवराम रिजालले पानी जम्ने खाल्टा तथा नालामा ३ सय मिटरमा परिक्षण गर्ने गरेको बताए।

पुल क्षेत्रमा ३० मिटर र मैदान क्षेत्रमा १५ मिटर गहिराइमा पुगी नमूना संकलन गरिएको छ । नमूना संकलनका लागि रोटरी रिभर्स र जिओ कोर सिस्टम नामक दुई यन्त्र प्रयोगमा ल्याइएको छ ।

रोटरी रिभर्स फराकिलो सडक भएको ठाउँमा प्रयोग हुन्छ। यो बोरिङ खन्नसमेत प्रयोग गरिन्छ। जियो कोर सिस्टम वन क्षेत्र र साँघुरो बाटो भएका ठाउँमा प्रयोग गरी माटो संकलन भइरहेको प्राविधिक रिजालले जानकारी दिए । एक महिना अगाडि चन्द्रौटाबाट सुरु गरिएको माटो संकलन कार्यअन्तर्गत शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाको नमूना संकलन भइसकेको छ।   वैशाखभित्र नमूना संकलनको काम पूरा गर्ने योजना रहेकाे  छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics