२० वर्षपछि जलाईयो ४ हजार आखेटोपहार
- सुजाता कार्की
पैसा आर्जनका लागि वन्यजन्तुको मार्ने र तीनका अंगको तस्करी गर्नेलाई सरकारले दह्रो झापड दिएको छ । ज्यानको बाजी मारेर गैंडा, बाघ, हात्ती लगायतका वन्यजन्तुको अंग हात पार्न पल्केकाहरुलाई ति अंगको कुनै मुल्य छैन भन्ने सन्देश दिन वन मन्त्रलायले ४ हजार थान वन्यजन्तुको अंग एकैपटक जलाएर खरानी बनाइदिएको छ ।
वन्यजन्तुको अंगको मुल्य शुन्य हुन्छ, वन्यजन्तु तस्करी नियन्त्रणसम्वन्धि महासन्धी (साइटिस) कार्यन्यवनमा नेपाल प्रतिवद्ध छ, वन्यजन्तुका अंगबाट कुनै पनि औषधि लगायत कुनै पनि प्रयोजनमा प्रयोग हुदैन भन्ने सन्देश दिन २० वर्षपछि जलाइएको हो । मन्त्रीपरिषद्को जेठ ४ गतेको निर्णय अनुसार वन मन्त्रालयको पहलमा सोमवार चितवन निकुञ्जको कार्यालय कसरास्थित् नेपाली सेनाको खेल मैदानमा नेपाल सरकारका तीन मन्त्री र एक राज्यमन्त्री भएर जलाएका हुन् ।
जैविक विविधता र दिगो पर्यटन नारा दिइ मनाईएको अन्तराष्टिय जैविक विविधता दिवसकै दिन सरकारले यस्तो महत्वपूर्ण काम गरेको हो । जलाउने कार्यक्रममा पराराष्टमन्त्री प्रकाशशरण महत, वनमन्त्री शंकर भण्डारी, वातावरणमन्त्री जयदेव जोशी र वनराज्यमन्त्री दीर्घराज भाट सहभागी थिए ।
वन मन्त्री शंकर भण्डारीले नेपाल जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण र अन्तराष्टिय कानुन कार्यान्वयनमा नेपाल सफल भएको बताउदै सफलतामा उचाइ थप्न वन्जन्तुको आखेटोपहार नष्ट गरिएको बताए । वर्षौ देखि थुप्रिएका वन्यजन्तुका अंगहरुको व्यवस्थापन गर्न सकिएको थिएन । मक्किएका थिए, गन्हाएका थिए, मन्त्री भण्डारीले भने, तीनको उचित व्यवस्थापन के कसरी हुन सक्छ भनेर छलफलपछि आगो लगाएर नष्ट गर्नु नै उत्तम ठानियो र यो काम सम्पन्न भयो ।
यो समारोहले अन्तराष्टिय समुदाय माझ महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले पारदर्शी ढंगले नष्ट गर्ने काममा सघाउ पुर्याउने अन्तराष्टिय निकाय, साझेदारी संस्था, दातृ निकाय, स्थानिय समुदाय, संरक्षणकर्मी, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिए ।
मुलुकका विभिन्न स्थानबाट तस्करी हुने क्रममा बरामद गरि टिकौलीस्थित् सशश्त्र वन तालिम केन्द्रमा राखिएका विभिन्न वन्यजन्तुका १७३९ थान र निकुञ्ज मुख्यालय कसरमा थुपारिएका २२७३ सहित कुल ४ हजार १२ थान वन्यजन्तुका अंग सोमवार जलाईएको हो ।
संरक्षणकर्मी, संरक्षणमा सहयोगी दातृ निकायका प्रतिनिधि, वन्यजन्तु संरक्षण र अवैध व्यापार नियन्त्रणमा काम गर्ने राष्ट्रिय, अन्तराष्ट्रिय निकाय, विशेषज्ञहरु, स्थानियबासी र सञ्चारकर्मीको उपस्थितिमा आखेटोपहार जलाइएको हो ।
एकसिंगे गैंडाका ३५७ थान खाग, बाघका ६७ थान छाला, हात्तीको पुच्छरको ३५४ थान रौं, कस्तुरीको विना ३४ थान, चिरु (साहतुस) को रौं ४२ पोका र सालकको दुई पोका खपटा पनि खरानी पारियो ।
नष्ट गरिएका अंगहरुमा ध्वासे चितुवाको छाला एक थान, हिउ चितुवाको छाला एक थान, हाब्रेको छाला ४७ थान, चितुवाका छाला ४ सय १८ थान, भालुको पित्त १५ थान छन् । सोमवार जलाइएका वन्यजन्तुका अंगमा साईटिस अनुसुची १ का १८ प्रजाति, अनुसुची २ र र ३ का ४ र अन्य प्रजाति २२ गरी ४८ प्रजातिका आखेटोपहार छन् । अन्तराष्टिय जैविक विविधता दिवसकै अवसर पारेर सरकारले आखेटोपहार नष्ट गरेको हो ।
बाघको छाला ५, गैंडाका खाग १०, कस्तुरीको विना ४, हाब्रेको छाला २, हिउ चितुवाको छाला १ थान र चिरु (साहतुस) को रौं १ पोका भने सुरक्षित राखिएको छ । प्रदर्शनी र अध्ययन अनुसन्धानका लागि यी नमुनाका रुपमा राखिएको हो । हात्तीको १ एक हजार १ सय किलो दाह्रा भने जलाइएको छैन । दाह्रा जलाउन आवश्यक पर्ने तापक्रम (९ सय डिग्रि) बनाउन नसकिएकाले नजलाइएको हो ।
वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले नेपालमै नपाईने तर नेपालको नाका भएर तस्करी हुने क्रममा बरामद गरिएका सामुन्द्रिक घोडा (सि हर्स), चिरु (साहतुस) लगायतका वन्यजन्तुका अंग पनि जलाइएको बताए । उनले यसले अन्तराष्टियस्तरमा नेपाल संरक्षणसंगै अन्तराष्टिय महासन्धि कार्यान्वयनमा पनि सफल छ भन्ने सन्देश दिएको टिप्पणी गरे । त्यस्तै, मुद्दा चलिरहेका वन्यजन्तुका अंग पनि नष्ट गरिएको छैन । ती सबै कसरास्थित् निकुञ्जको मुख्यालयमा सुरक्षित राखिएको छ । यसअघि २०५४ चैत ९ मा ह्दयेश त्रिपाठी वनमन्त्री हुदा केही आखेटोपहार जलाईएको थियो ।
निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खडकाले प्रकृतीमा छदाका बखत वन्यजन्तु अथाह सम्पत्ति भए पनि मरिसकेपछि तीनको मूल्य छैन भन्ने सन्देश दिन नष्ट गरिएको बताए । यसले वन्यजन्तु तस्कर हतोत्साही हुनेछन् भन्ने हाम्रँे विश्वास हो, महानिर्देशक खडकाले भने, यसले वन्यजन्तुको तस्करीमा लाग्नेहरु निरुत्साहित हुनेछन् र जैविक विविधता संरक्षणमा सहयोग पुग्छ भन्ने विश्वास छ ।
वन्यजन्तुका अंगको औषधी लगायत अन्य कुनै पनि प्रयोजन छैन भन्ने सन्देश दिन पनि यी अंग जलाईएको उनले प्रष्ट्याए । जलाएपछिको खरानीलाई निकुञ्ज कार्यालय छेउको खाडमा गाडिएको छ । त्यही स्थानमा वन्यजन्तु स्मृती स्मारक बनाईने खड्काले सुनाए ।
दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तराष्टिय व्यापार नियन्त्रण सम्वन्धि महासन्धि (साइटिस) को कोप १५ को घोषणापत्रमा समेत आखेटोहार नष्ट गर्न सकिने व्यवस्था छ ।
निकुञ्ज ऐन २०२९ को संशोधन गरी वन्यजन्तुका अंग नष्ट गर्ने व्यवस्था समेटिएको छ । संशोधित निकुञ्ज ऐनमा अनुसन्धान वा शैक्षिक प्रदर्शनीका लागि कालगतिले मरेका वा बरामद गरिएका आखेटोपहार शैक्षिक वा अनुसन्धान संस्थालाई शैक्षिक वा अनुसन्धान प्रयोजनका लागि प्रयोग गर्न दिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस