जीवजन्तु र चराको संरक्षण कार्ययोजना बनाउन जोड



सरकारले सन् २०२० सम्म १० जीवजन्तुका कार्ययोजना बनाइसक्ने भएको छ । राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजना (२०१४-२०२०) को आधारमा १० प्रजातिको कार्ययाेजना बनाएर काम गर्ने उद्देश्य राखेको हाे ।

अहिले ठूला प्रजाती हात्ती, बाघ, गैंडा, हिउँ चितुवा, खर मुजुर र गिद्धको मात्र कार्ययोजना बनाइएको छ । राष्ट्रिय निकुञ्ज विभागले सिमसार दिवसका अवसरमा शुक्रवार घडियाल गोहीको पाँच वर्षे कार्ययोजना घोषणा गर्दैछ । विशेषज्ञहरुको सहयोग लिएर विभागले घडियालको कार्ययोजना बनाएको हो ।

सालक र रेडपाण्डाको कार्ययोजना पनि बनाउने काम चलिरहेको छ । विभागले सहयोगी संस्थाहरू र विशेषज्ञहरुको सहयोग लिएर वन्यजन्तुको व्यवस्थापन र संरक्षणसम्वन्धि कार्ययोजना बनाउने गरेको छ । हात्तीको (२०१७–२०२१), बाघको (२०१६–२०२०), गैँडाको (२०१७–२०२१), हिउँ चितुवाको (२०१७–२०२१), गिद्धको (२०१५–२०१९) र खर मुजुरको (२०१६–२०२०) सम्मको कार्ययोजना बनाएको छ ।

संकटमा पर्न लागेका रेडपान्डा, सालकलगायतका वन्यजन्तुको पनि छिट्टै कार्ययोजना सार्वजनिक गर्ने विभागको तयारी छ । कार्ययोजना बनाएर काम गर्दा संरक्षण र व्यवस्थापन प्रभावकारी भएको पाइएपछि सबै वन्यजन्तुको योजना तर्जुमा गर्नेतिर ध्यान दिइएको हो ।

यस्तै, वन विभागले संकटमा परेका १० प्रजातिका जडिबुटीका कार्ययोजना बनाउने तयारी गरेको छ । नेपालमा वन्यजन्तु संरक्षण, अनुगमन, गणनाका साथै तीनको कार्ययोजना बनाउन डब्लूडब्लूएफ नेपाल, प्रकृती संरक्षण कोष, पन्क्षी संरक्षण संघ र जुलोजिकल सोसाइटी अफ लण्डन नेपालले आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेका छन् ।

दुर्लभ र लोपोन्मुख प्राजतिको कार्ययोजना बनाएर संरक्षण गर्दा सरकार र संरक्षण साझेदार संघ संसथालाई प्राथमिकता साथ् काम गर्न सघाउ पुग्ने आशा गर्न सकिन्छ जसले गर्दा योजना तर्जुमा गर्न र बजेट बिनियोजन गर्न सघाउ पुग्छ ।

तर एउतै बासस्थानमा दुई भन्दा बढी दुर्लभ र लोपोन्मुख वन्यजन्तु पाइने र अलग अलग प्रजातिको लागि अलग अलग कार्ययोजना बनाउँदा कार्यान्वायन गर्दा पर्न सक्ने दोहोरोपन र प्राथमिकता तोक्दा भने विशेष ध्यान दिनु पर्ने हुन्छ |

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics