हरिणको मासु बेच्ने पाँचजना पक्राउ



हरिण शिकार गरेर मासु बेच्दै गरेका पाँच जना सर्लाहीको राजघाटबाट पक्राउ परेका छन् । सेक्टर वन कार्यालय मूर्तियाको टोलीले बिहिबार बागमती नगरपालिका–६ राजघाट स्थित लालबहादुर टोलबाट पाँच जना शिकारीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँका ३२ वर्षका दुधलाल स्याङतान, ४३ वर्षका ज्ञानबहादुर मोक्तान, ६० वर्षका मानबहादुर मोक्तान, ४८ वर्षका वीरबहादुर स्याङतान र ६७ वर्षका सुब्बा सिं मोक्तान रहेका छन् । गाउँमै मासु काटेर बेचिरहेको अवस्थामा विशेष सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय सर्लाहीका निमित्त प्रमुख राजाराम साहले जानकारी दिनुभयो ।

साहका अनुसार घटना स्थलबाट मासु काट्न प्रयोग गरिएको दुई थान चक्कु, एक थान दाउ र एक थान चुलेसी तथा हरिणको १० किलो मासु समेत बरामद भएको छ । पक्राउ परेकाहरूलाई वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही गर्न जिल्ला वन कार्यालय लालबन्दी ल्याइ हिरासतमा राखिएको छ ।

जिल्लाको वन क्षेत्रमा अहिलेपनि खुलेयाम रूपमा बँदेल, हरिण जस्ता जंगली वन्यजन्तु र पंक्षीको शिकार गर्नेक्रम रोकिएको छैन् । वर्षेनी सुख्खा मौसममा लाग्ने डढेलो र बढ्दो अतिक्रमणका कारण बासस्थानको अभावमा जंगली वन्यजन्तु मानव बस्तीमा निस्कन थालेपछि चोरी शिकारी झन बढेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics