त्यो खाँदबारी, यो खाँदबारी
यात्रा अनुभव
- नेचर खबर

सुजता लिम्बु । विराटनगर,
बाल्यकालको एउटा धमिलो सम्झना मनमा आज पनि जीवन्त छ। म मधेसस्थित बिर्तामोड मामाघर जाँदा मामाका छोरा दाइले सोध्नुभएको थियो, ‘खाँदबारीमा स्कुल छ?’ त्यो प्रश्नले मलाई अचम्मित बनाउँथ्यो।
हाम्रो जिल्लामा त थुप्रै सरकारी विद्यालय र स्तरीय बोर्डिङ स्कुलहरू छन् जस्तो लाग्थ्यो। तर, मेरो बाल सुलभ जवाफ ‘अँ छ’ मा मात्रै सीमित भयो।
त्यो समयमा खाँदबारी भौगोलिक कठिनाइ र सडक सञ्जालको पहुँचबाट धेरै टाढा थियो, राज्यको विकास योजनाबाट निकै पछि परेको एउटा कुना।
तर पनि, तुम्लिङटार विमानस्थल भने चालु थियो।
काठमाडौं वा धरान–धनकुटा जानेहरू हवाईजहाज चढ्ने गर्थे। त्यस बेला हवाई यात्रा धनीहरूको मात्रै विलासिता हो, भन्ने एउटा भाष्य थियो, जुन यथार्थसँग मेल खान्थ्यो। सीमित धनीहरू, कर्मचारीहरू र व्यापारीहरू मात्र हवाईजहाजको यात्रा गर्दथे।
आयस्रोत कम हुनेहरूका लागि जीवन अर्कै थियो। उनीहरूलाई सडक सञ्जालसँग जोडिन धनकुटाको हिलेसम्म पुग्न तीन दिनको कष्टकर पैदल यात्रा गर्नुपथ्र्यो। हिले पुगेपछि मात्रै पिच बाटो र गाडीका पाङ्ग्राहरू देख्न पाइन्थ्यो।
अक्करका अजङ्गका भिरहरू, माथि हेर्दा आकाश नै छुनेजस्ता लाग्ने चट्टानहरू, तल उर्लंदो अरुण नदीको भयङ्कर गर्जन र दुई जना मान्छेलाई ओहोरदोहोर गर्न पनि असहज हुने साँघुरो बाटो छिचोल्दै यात्रा गर्नुपर्ने परिस्थिति थियो।
त्यही बाटो हुँदै, आफ्नो ढाडमा जीवनको भारी बोकेर, भरिया दाइहरूले संखुवासभाको सदरमुकाम खाँदबारीसम्म र भोजपुरको टक्सारसम्म खाद्यान्न तथा अन्य आवश्यक सामग्रीहरू ढुवानी गर्दथे।
‘सिमाली छाँयमा बसेर, भरिया दाइले लामो स्वास फेरेर...’
यही गीतका पंक्तिहरू ती बडेमानका भिरहरूमा ठोक्किँदै, अरुण नदीको किनारै किनार हिँड्ने ती भरिया दाइ–दिदीहरूको अथक परिश्रमको साक्षी थिए।
आज ती भरियाहरू सम्झँदा मन भारी हुन्छ कतिलाई बुढ्यौलीले छोयो होला, कतिले त यो संसार नै छोडे होलान्। उनीहरूले हिँडेका पाइलाका डोबहरू मेटिए होलान्, तर तिनका पसिनाका कथाहरू र सम्झनाका क्यानभासहरू अझै मेरो मानसपटलमा जीवन्त छन्।
विसं २०६३/०६४ पछिको दशकमा भौगोलिक संरचनामा एउटा ठुलो परिवर्तन आयो। सदरमुकाम र गाउँहरूमा पक्की, ग्राभेल वा कच्ची नै भए पनि गाडी कुद्ने सडकहरू पुगे। विगतका दिनमा झिसमिसमा उठेर तीन दिनसम्म पैदल हिँड्नुपर्ने अहिले लगभग ५ घण्टामा इटहरीबाट खाँदबारी पुगिन्छ ।
गाउँहरूमा पनि सहर–बजारमा पाइने सामानहरू उपलब्ध हुन थाले। दुर्गम भनी चिनिने मेरो खाँदबारीलाई अब ‘दुर्गम’ भन्नुपर्ने अवस्था रहेन। एक वर्षपछि आफू जन्मेको ठाउँ पुग्दा छुट्टै आनन्द र आत्मिक शान्ति महसुस गरें।
हुन त, त्यही माटोमा हुर्कँदै गर्दा महसुस गर्न नसकेको त्यहाँको प्राकृतिक मनमोहक दृश्यलाई बल्ल मैले चिन्न पाएँ जस्तो लाग्यो। काँचो इँटाले बनेका पुराना घरहरू विस्थापित हुँदै पक्की घर बनेका छन्।
गाउँ–गाउँमा आधुनिकताले स्पर्श गरेको छ। विगतको त्यो खाँटी अर्ग्यानिकपन न सम्बन्धमा मिल्छ, न मित्रतामा, तर गणतन्त्रपछि विकास र परिवर्तनको एउटा बेगिलो प्रवाह आएको छ, जुन मैले प्रत्यक्ष महसुस गरें।
स्वास्थ्य सेवामा पनि निक्कै सुधार आएको छ। बिरामी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने परिस्थितिमा अहिले गाडीमा ४ देखि ५ घण्टामै धरानको घोपा अस्पताल रेफर भएर उपचार पाउने अवस्था सिर्जना भएको छ। तथापि, गाउँ–गाउँमा अझै पनि स्ट्रेचरको खाँचो छ, जुन निकट भविष्यमा समाधान हुने अपेक्षा राखेको छु।
तर, बुवा छोरी गफिँदै गर्दा, बुवाले भन्नु भयो,’मौसम पहिलेको जस्तो छैन । ’बुवाले भने झैँ महसुस गर्दा बाल्यकालमा दसैँको समयमा जाडोले गर्दा तातो पानीले नुहाएको सम्झना छ, तर अहिले पहाडी भेगमा पनि घाम लागेका बेला उखरमाउलो गर्मी हुन थालेको छ।
लामखुट्टे र डेंगु जस्ता रोगहरूले पनि आफ्नो प्रभाव देखाउन थालेका छन्। गाउँका मान्छे सदरमुकाम र सदरमुकामका मान्छे ठुला सहर केन्द्रित हुँदा कतिपय तरकारीहरू तराईकै भर पर्नुपर्ने अवस्था आएको छ, जुन पर्यावरण र स्थानीय उत्पादनको सन्तुलनमा आएको परिवर्तनको सूचक हो।
यातायातमा आएको परिवर्तन पनि चामत्कारिक छ। तुम्लिङटार एयरपोर्टबाट झन्डै दुई–तीन घण्टा पैदल यात्रा गर्नुपर्ने ठाउँमा अहिले लगभग २० मिनेटमै गाडीले पुर्याउँछ। मानेभञ्ज्याङको उकालो हिँड्न नसक्नेलाई एक घण्टा लाग्थ्यो, अहिले १० मिनेटमै ट्याम्पोले पुर्याउँछ। यो पनि विकास र परिवर्तनको सशक्त संवाहक हो।
विगतमा घरधन्दामा मात्र सीमित हाम्रा दिदी–बहिनीहरू र भाउजूहरू अहिले उद्यमी बनेका छन्। उनीहरूले फुर्सदका समयमा आफूलाई मनपर्ने काम गरेर रमाउन सक्ने सामर्थ्य राखेका छन्, जुन एउटा ठुलो सामाजिक र व्यावसायिक रूपान्तरण हो।
खुट्टा टेक्नै नसकिने गरी भिडभाड हुने शनिबारे हाट अहिले अलिक पातलो हुन थालेको रहेछ, किनभने नाम चलेका साहुहरू पनि प्रविधिको प्रयोग गरेर व्यवसाय गर्न थालेका छन्। विकास हामीले कहिलेकाहीँ महसुस गर्न नसकेको मात्रै हो, तर परिवर्तन हामीले प्रत्यक्ष उपभोग गरिरहेका छौँ।
यी सबै परिवर्तनका बिच पनि, हिमाली क्षेत्रहरूमा राज्यको ध्यान अझै पनि पुग्न सकेको छैन। मकालु र भोटखोलाको जनजीवन अझै सदरमुकाम जस्तो सहज छैन। बेमौसमी वर्षा र बाढीले त्यहाँको जीवनलाई सधैँ भयमा राखेको छ। ती क्षेत्रहरूको सम्भाव्यता अध्ययन गर्न र आवश्यक पूर्वाधार विकास गर्न निकै जरुरी छ। मेरो जन्मभूमि खाँदबारीले विकासका धेरै मोडहरू पार गरेको छ, तर यात्रा अझै जारी छ, आशा र चुनौती दुवैका साथ।
प्रतिक्रिया दिनुहोस