जेनजेनको नजरमा मनास्लु : पग्लिँदै हिउँ, बढ्दै जोखिम
- नेचर खबर

सुजता लिम्बू । विराटनगर,
यसअघि सधै हिउँले भरिने मनास्लु हिमालको क्याम्प–२ वरिपरि अहिले हिउँ देख्न मुस्किल पर्छ ।
बिहान पर्खालझैँ अडिएको हिउँ बेलुकासम्म पग्लिएर हराउने दृश्य भर्खरै मनास्लु आरोहण गरेर फर्किएका जेनजेन लामाले आफ्नै आँखाले देखे । उनी भन्छन्, ‘बिहान बेलुका जम्ने हिउँ अहिले पग्लिएर छङछङ खोला बगेको देखिन्छ, बिहान बेलुका जप्नुपर्ने जम्दैन ।’
उनका लागि यो केवल आरोहणको अनुभव मात्र थिएन, जलवायु परिवर्तनले हिमाललाई कसरी रूपान्तरित गरिरहेको छ भन्ने अनुभव पनि रहेको उनी बताउँछन् ।
सन् २०२२ मा पनि उनले मनास्लु आरोहण गरेका थिए । तर, यस पटकको यात्रा फरक थियो । त्यति बेला स्थिर देखिएको हिमाल अहिले अस्थिर बनेको उनले महसुस गरे । ‘पहिले क्याम्प–२ वरिपरि हिउँ स्थिर रहन्थ्यो, अहिले टिक्न छाडेको छ,’ उनी भन्छन् ।
लामाले मौसम पूर्वानुमान पनि अविश्वसनीय बन्दै गएको बताए । ‘हिउँ पर्ने दिन घाम लाग्छ, घाम लाग्ने दिन हिउँ पर्छ,’ उनी भन्छन्, ‘अब मौसम पोडकाष्टमा भर परेर मात्र हिमाल चढ्न सकिँदैन ।’
दैनिक ३७२ जनाले मनास्लु आरोहणको अनुमति लिँदा छोटो समयको लागि छ भने करिब १ सय जना आरोहणमा सहभागी हुन्छन् । लामो सामयको लागि ६० जना आरोहण गर्छन् ।
आरोहणको अवधि मौसम अनुसार (३ देखि ५ दिन) हुने गरेको उनले बताए । जेनजेन लामा भन्छन्, ‘हिमाल आरोहण गर्नुअघि तालिम र तयारी अनिवार्य छ । ज्ञान र अनुभव बिना जाँदा आफू मात्र होइन, साथीहरूको जीवन पनि जोखिममा पर्छ ।’
उनले आरोहणसम्बन्धी प्राविधिक ज्ञान र सीप, यात्रा अघि र बिचमा निरन्तर अपडेट, सुरक्षित र भरपर्दो सामग्रीको प्रयोग, शारीरिक तथा मानसिक तयारीको सुनिश्चितता, अनुभवी गाइड र शेर्पाको साथ न जरुरी रहेको बताए ।
विश्वकै आठौँ अग्लो मनास्लु (८,१६३ मिटर) आफ्नो सुन्दरता र साहसिक यात्राका लागि प्रख्यात छ । तर, ग्लोबल वार्मिङका कारण पग्लिँदै गरेको हिउँ, अस्थिर चट्टान र अप्रत्याशित मौसमले यसलाई बढ्दो संकटतर्फ धकेलेको आरोहीहरूको बुझाइ छ ।
त्यसो त जेनजेन लामाको अनुभव केवल व्यक्तिगत मात्रै होइन, पर्वतारोहण पर्यटनप्रति उठेको चेतावनी हो ।
यसको लागि राज्य र व्यक्ति नै सचेत हुन जरुरी रहेको बताउँछन् । हिमाली क्षेत्रमा भइरहेको असरलाई न्यूनीकरणका निम्ति राज्यले पहलकदमी अपनाउनु जरुरी रहेको उनको बुझाई छ ।
उनको बुझाइमा हिमाली क्षेत्रमा देखिएका असरलाई न्यूनीकरण गर्न राज्यले सक्रिय पहलकदमी लिनु अपरिहार्य छ ।
प्रतिक्रिया दिनुहोस