लालझाडी संरक्षीत क्षेत्रमा अनुमति विना दर्जनौँ रुख काटिए

A+ A-

 

कञ्चनपुरको लालझाडी संरक्षीत क्षेत्रमा कटान आदेश नपाएका दर्जनौँ रुख काटिएको फेला परेको छ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, टिम्बर कर्पोरेशन र काठ व्यवसायीको मिलेमतोमा लालझाडी मोहना संरक्षित वनमा कटान आदेश नपाएका रुख समेत काटिएको फेला परेको हो।

सुदूरपश्चिम प्रदेशको वन मन्त्रालय र टिम्बर कर्पोरेसनको मिलेमतोमा सांसदको फार्मलाई ठेक्का पारेर काठ दाउरा कटानीमा अनियमिता भइरहेको छ ।

वन डिभिजन कार्यालय महेन्द्रनगरले छपान नलगाएका ढलापडा र सुख्खड खडा गरी एक दर्जन रुख काटिएको दाबी गरे पनि उक्त वनमा दर्जनौँ रुख काटिएको स्रोतले जनाएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी गोपाल जोशीले छपान नलगाएका रुख काटिएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। टिम्बर कर्पोरेशनले यसअघि नै काठको घाटगद्दी गरेर गोलियामा नम्बर समेत लगाईसकेको छ तर मन्त्री र नेताको दबाबमा अहिले आएर पिपरिया शव डिभिजन वन कार्यालयको गस्ती टोलीले काठ बरामद गरेको उल्लेख गरिएको छ।

टिम्बर कर्पोरेसन धनगढी शाखाले गत वैशाख ३ मा नेपाली काँग्रेसका तर्फबाट कञ्चनपुरका समानुपातिक प्रदेशसभा सदस्य श्यामलाल राना सञ्चालक रहेको शिव शक्ति समिल तथा फर्निचर उद्योगसंग नौरंगादेखि पिपरैया सम्मको वन क्षेत्रमा ढलापडा र सुख्खड खडा रुख काट्ने सम्झौता गरेको छ। प्रति क्युफिट १ सय २३ का दरले गरिएको सम्झौतामा १६ हजार चार सय ८० क्युफिट काठ सङ्कलन गरिने कुरा उल्लेख छ।

त्यसमा लालझाडी संरक्षीत वनबाट मात्रै झन्डै साढे १० हजार क्युफिट काठ सङ्कलन गर्ने लक्ष्य राखिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले टिम्बर कर्पोरेशनसंग छपान नगरेका रुख काट्नुको कारण बारे जवाफ माग गरेको छ भने पिपरिया शव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालमुकुन्द भट्टलाई अनुसन्धानको जिम्मा दिइएको छ।

वन मन्त्रीको निर्देशनमा निकटका व्यक्तिलाई टिम्बर कर्पोरेशनमा भर्ना गरेर मासिक तलब भत्ता खुवाईरहेका बेला कमिशनको चलखेलमा काठ कटानीमा पनि अनियमितता भइरहेको स्थानियले आरोप लगाएका छन् ।

स्रोत - दिनेश खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics