पुरा हुँदै बाघ बढाउने बाचा

A+ A-

परिचय

बाघ विरालो प्रजातीमा पर्ने सवैभन्दा ठूलो प्रजाती हो । साथै विरालो प्रजातीको क्रमविकासको सन्दर्भलाई हेर्ने हो भने प्यालियोसिन युगमा मांसाहारी जीवहरु दुई हाँगाहरु विरालो र कुकुर प्रजातीमा बाँडिए । हालका ती विरालो प्रजातीहरु पहिलो चोटी करीब १०.८ मिलियन बर्ष पहिले पृथ्थीमा देखा परेको अनुमान गरिएको छ । बाघका उप–जातिहरु मध्यको एक बंगाल बाघ साइटिसको परिशिष्ट १, आइयुसियानको संकटापन्न तथा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित बन्यजन्तुको सुचीमा सूचिकृत छ ।

विश्वमा बाघका ६ वटा जीवित उप–जातिहरु मन्चुरियाली- अमुर बाघ-साइबेरियन बाघ, बंगाल बाघ, हिन्दचिनियाँ बाघ-इन्डोचाइनिज बाघ, मलायन बाघ, दक्षिणी चिनियाँ बाघ-जीमिन बाघ-अमोइ बाघ र सुमात्रेली बाघ रहेका छन् भने तीनवटा बाघका उप–जातिहरु बाली बाघ, क्यास्पियन बाघ र जाभान बाघ बिसौं शताब्दीतिर लोप भैसकेका छन् ।

बिरालो प्रजातीहरु अन्तर्गत ३ वटा जेनेराका ७ वटा प्रजातीहरु रहेका छन् :
क. प्यान्थेरा जेनस : यस अन्र्तगत बाघ, सिंह, हिउँ चितुवा, जागुर र सामान्य चितुवा पर्दछन् ।
ख. निओफिलिस :यस अन्र्तगत ध्वाँसे चितुवा पर्दछ ।
ग. एकिनोनिक्स : यस अन्र्तगत चिता पर्दछ ।
बाघको महत्व

क. साँस्कृतिक महत्व
सदियौदेखि बाघको वर्णन विभिन्न धर्म र संस्कृतिहरुमा गरिएको पाइन्छ । करीब ५,००० वर्ष पहिले हालको पाकिस्तान रहेको सिन्धु  उपत्यकाका मानिसहरुले आफ्नो मुद्राहरुमा बाघको चित्र अंकित गर्दथे भन्ने भनाइ रहेको छ । त्यस्तै भारतीय उपमहाद्धिपका विभिन्न स्थानहरुमा प्रचलित हिन्दू धर्म ग्रन्थहरुमा भगवान शिवले वाघको छाला ओड्ने तथा बाघलाई दुर्गा भवानीको वाहनको रुपमा पनि चित्रण गरिएको पाइन्छ । साथै उत्तरी मुम्वइका वार्ली जनजातिहरुले प्रजनन क्षमता, विवाह र गर्भावस्थामा पार्ने प्रभावहरुका लागि व्याघ्र देवतालाई सबभन्दा महान देवता मानी वाघदेवलाई पूजाआजा गर्छन् । भुटान, चीन, थाइल्याण्ड र तिब्वतका बौद्ध मन्दिरहरुमा बाघको चित्र कोरिएका भित्ते चित्रहरु देख्न सकिन्छ । त्यस्तै नेपालका सबैजसो दुर्गा भगवतीको मन्दिरहरुमा बाघमाथि सवार दुर्गा भगवतीलाई देख्न सकिन्छ । उदाहरणको लागि कीर्तिपुरको बाघभैरवको प्रख्यात मन्दिर बाघको आध्यात्मिक शक्तिको सम्मानस्वरुप निर्माण गरिएको हो ।
चिनियाँ सँस्कृतिमा प्रत्येक बाह्रौ बर्षलाई वाघप्रति समर्पण गरिन्छ र नयाँबर्षमा शक्ति र स्वास्थ्य प्रवद्र्धन गर्नका लागि केटाकेटीहरुका निधारमा बाघका चित्रहरु कोरिन्छन् । साथै बाघ बर्षमा जन्मेको बच्चा बलियो, जोशिलो, साहसी, अटेरी, रंगिला, तरंगी र भाग्यमानी हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

ख. पारिस्थितिकिय महत्व

बाघ हाम्रो प्राकृतिक सम्पदाको प्रतीक र हामी सबैलाई जिवित राख्ने जीवनरुपी तन्तुहरुको एक मुख्य अंश हो । बाघ स्वच्छ पारिस्थितिकी प्रणालीको सुचक प्रजाती हो । यसले कुनै पनि पारिस्थितिक प्रणालीमा छाता प्रजातीको रुपमा पनि काम गर्दछ ताकी बाघ संरक्षणले यसको वासस्थानमा पाइने सम्पूर्ण प्रजातीको संरक्षणमा टेवा पुग्दछ । साथै यो किस्टोन प्रजाती हो किनकी यसको स्थान पारिस्थितिक पिरामिडमा सबभन्दा टुप्पोमा हुन्छ । साथै कुनै पनि पारिस्थितिक प्रणालीमा सबभन्दा माथिको स्थान ओगट्ने जीवहरुको अस्तित्व संकटमा पर्दा पुरै पारिस्थितिक प्रणालीमा गडवडी आउँछ । जस्तै – शुक्लाफाँटा बन्यजन्तु आरक्षमा बाघको संख्यामा ह्रास आउँदा त्यहाँ पाइने बाघको आहारा भनेर चिनिएको मृग प्रजातीको संख्यामा बृद्धी भई त्यहाँको जंगल तथा घाँसेमैदानमा भएका विरुवा तथा घाँस प्रजातीहरुमा धेरै चाप पर्न गई कैयौ विरुवाहरु त लोप हुन पुग्छन् भने वातावरणीय ह्रास हुन आउँछ । जसको प्रत्यक्ष असर त्यहाँका अन्य जीवहरुमा समेत पर्न गई सो स्थानको वातावरणिय सन्तुलन विग्रन सक्ने सम्भावना बढी हुन्छ । त्यसकारण कुनै पनि पारिस्थितिकिय प्रणालीलाई स्वस्थ वनाइराख्न वाघ जस्तै पहाडमा चितुवा र हिमाली भागमा हिउँ चितुवा जस्ता मांसाहारी जीवहरुले वातावरणीय सन्तुलन कायम राखी वनजंगलको संरक्षण मार्फत भूक्षय, पहिरो जस्ता प्रकोपका घटनामा कमी ल्याई मानव जीवनको अस्तित्व कायम राख्न सघाउँछन् भने अर्कातिर पर्यापर्यटन मार्फत विदेशी मुद्रा आर्जन गरी गरीवी न्युनिकरणमा समेत टेवा पुर्याउँछन् ।

विश्व र नेपालमा वाघका प्रजातिहरुको अवस्था

विगत शताब्दीको शुरुमा आठ उप–जातिका बाघहरु १,००,००० भन्दा बढीको संख्यामा यस पृथ्वीमा बसोबास गर्दथे । तर गएको ५०–६० बर्षयता बिशेषगरी मानवीय उत्पीडन तथा बासस्थानको विनासका कारण तीन उप–जातिका बाघहरु यस पृथ्वीबाट लोप भैसकेका छन् । सन् १९४० को दशकमा बाली बाघ लोप भएको थियो भने पछि सन् १९७० को दशकमा क्यास्पियन बाघ पनि लोप भयो । अझ बाघका तीन उप–जातिहरु–अमुर, सुमात्रेली र दक्षिण चिनियाँ–चरम रुपले खतरामा परेको मानिन्छ भने हिन्द चिनियाँ बाघ र बंगाल बाघ पनि खतराको सूचीमा सूचिकृत गरेको पाइन्छ । वितेका १०० बर्षमा बाघको संख्या ९५ प्रतिशतले घटेर अहिले ५,००० वटा मात्रै बाघहरु यस पृथ्वीमा रहेको अनुमान गरिएको छ ।

बाघका बाँकी बचेका ५ उप–जातिहरु–बंगाल (भारतिय), अमुर (साइबेरियाली), दक्षिण चिनियाँ, सुमात्रेली र हिन्द चिनियाँ–बंगलादेश, भूटान, बर्मा, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, नेपाल, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाम आदि १४ देशहरुमा फैलिएका छन् जसलाई वाघ पाइने देश भनेर संसारमा चिनिन्छ ।

नेपालमा बाघ पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरिपरिका जंगलहरुमा पाइन्छन् । सन २०१८ मा गरिएको बाघको सर्भेक्षण अनुसार नेपालमा बाघको संख्या २३५ पुगिसकेको छ जुन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धता अनुरुप सन् २०२२ सम्म वाघको संख्या २५० वनाउने लक्ष्यको नजिक पुगेको देखिन्छ ।

बाघ संरक्षण सम्वन्धी चुनौतीहरु
बाघ संरक्षण सम्वन्धी चुनौतीहरु निम्न रहेका छन् :
- वन जंगलको विनाशका कारण वाघको वासस्थान अतिक्रमण भई वाघको विचरणमा अवरोध सृजना भएको,
-वाघका हड्डी, छालाको माग अन्तर्राष्ट्रिय वजारमा अत्यधिक भएका कारण चोरी शिकार भई चोरी निकासी हुने गरेको,
-मानव र वाघ वीचका द्वन्दका कारण वाघ प्रति मान्छेको धारणा नकारात्मक हुने गरेको ।

नेपालमा बाघ संरक्षण सम्वन्धी कानुनी व्यवस्था

नेपालमा वाघलाई कानुनी रुपमा संरक्षण प्रदान गर्न यसलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १० अनुसार संरक्षित बन्यजन्तुको अनुसूचीमा राखिएको छ ।

१. उक्त ऐन अनुसार बाघ लगायत गैंडा, हात्ती, कस्तुरी मृग, ध्बाँसे चितुवा, हिउँ चितुवा वा गौरीगाई मार्ने वा घाइते पार्ने ब्यक्तिको सुराक लगाई पक्राउ गराई दिने ब्यक्तिलाई ५०,००० रुपियाँसम्म र उपरोक्त बन्यजन्तु बाहेक अन्य संरक्षित बन्यजन्तु मार्ने वा घाइते पार्ने ब्यक्तिको सुराक लगाई पक्राउ गराइदिने ब्यक्तिलाई २५,००० रुपियाँसम्म नगद पुरस्कार दिने व्यवस्था रहेको ।

२. त्यस्तै गैरकानुनी तरीकाले बाघ लगायत गैंडा, हात्ती, कस्तुरी मृग, ध्बाँसे चितुवा, हिउँ चितुवा वा गौरीगाई मार्ने, घाइते बनाउने, खरीद गर्ने वा बिक्री गर्ने ब्यक्तिलाई ५,००,००० रुपियाँदेखि १०,००,००० रुपियाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ बर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान रहेको ।

३. संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न वनेको ऐन, २०७४ अनुसार दुर्लभ वा लोपोन्मुख वन्यजन्तुको ओसारपसार, निकासी, पैठारी गरेको पाइएमा ५ वर्र्षदेखि १५ वर्षसम्म कैद वा ५,००,००० रुपियाँदेखि १०,००,००० रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको ।

उपसंहार

बाघले पृथ्वीको वातावरणलाई स्वस्थ बनाई मानवको अस्तित्वलाई बचाउन महत्वपूर्ण भूमिका निर्बाह गरेतापनि चोरीशिकारी तथा मान्छेसँगको द्वन्दका कारण वाघको अस्तित्व संकटमा पर्दै गइरहेको हुँदा सबै नागरिकहरु मिली यसका अंग प्रत्यंग चोरी शिकारी गर्नेको सुराकी सम्वन्धित निकायमा दिई सहयोग गर्नका साथै सरकारी निकायहरु र विभिन्न संघसंस्थाहरुले पनि यसको वासस्थान संरक्षण, चोरीशिकारी नियन्त्रणमा विशेष ध्यान दिई वाघ, चितुवा र हिउँ चितुवा बचाउ अभियानमा जुट्नु अपरिहार्य जस्तै भएको छ ।

लक्ष्मी राज जोशी जिल्ला वन कार्यालयका  सहायक वन अधिकृत  हुन  ।

प्रतिक्रिया दिनुहोस

web
analytics