‘कोभिड१९ भन्दा खतरा रोगको सामना गर्नुपर्छ’



प्रसंग चीनबाट सुरु गरौं । कोभिड १९ को उद्गम स्थल मानिएको वुहानमा मेरा एकजना मित्र छन् मिस्टर वाङ (यद्यपी कोरोनाभाइरसको उत्पत्तिका बारेपनि अनेक अनुमान त छदैछन्) उनी पछिल्लो समय व्यापारको सिलशिलामा बाक्लै नेपाल आउजाउ गर्छन् । यो भाइरस देखिएको बेला र सरकारले कडा लक डाउनको निर्णय गरेका बेला उनी बुहानस्थित आफ्नै घरमा थिए । सरकारले लक डाउनको घोषणा गर्ने दिन पनि मसंग उनी कोरोना भाइरस र यसको संभावित उत्पतिको बारेमा सुनाइरहेका थिए ।

दक्षिण चीनमा चमेरोजस्ता स्तनधारी जनावर जीवहरु खाने एउटा सांस्कृतिक परम्परा नै हो । उनीहरु यसलाई वर्षौंदेखि त्यसैगरी उपभोग गरिरहेका छन् । तर अहिले कोभिड १९ चमेरोबाटै मानिसमा सरेको अनुमान गरिएपछि भने चिनियाँको दृष्टिकोणसमेत बदलिएको छ । उनीहरुले पनि वाङजस्ता धेरै चिनियाँहरु अहिले यस्ता वन्यजन्तु र प्राणीहरुको व्यापार र खानपान बेठिक भएको निश्कर्ष निकाल्दै उनीहरुलाई प्राकृतिक रुपमै बाँच्न दिनुपर्छ भन्ने बलियो मान्यता स्थापित हुँदै गएको छ । पर्यावरणको एउटा प्राकृतिक र निरन्तर  गतीलाई मानिसहरुले वेवास्ता र प्रहार गर्दा करिव दुई महिनादेखि विश्वले एउटा डरलाग्दो भाइरसको अनेक तहबाट सामना गरिरहेको छ । स्पेनिस फ्लूले करिव एक करोड मान्छेको मृत्यु भएको घटनाको एकसय दुई वर्षपछि देखिएको यो कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र र विश्व राजनीतिलाई कता लैजाने हो र त्यसले पुरानै गती समाउन कति वर्ष कुर्नुपर्ने हो समयले नै बताउला ।

तर यी सब समस्या र अनुमानका बीच एउटा सत्य भने विश्वले अहिले स्वीकार गरिसकेको छ । त्यो के हो भने प्रकृती र पर्यावरण भन्दा माथी यो दुनियामा कोही छैन र कहिल्यै पनि हुने छैन । प्रकृतिलाई चुनौती दिन खोजियो वा प्रकृतिको लय भत्काउन खोजियो भने हामी मान्छेहरु नामेट हुनेछौं । अकल्पनीय दुर्घटनाका पहिलो शिकार हुनेछौं ।

आधुनिक विश्वलाई मुठ्ठिमा राख्ने विश्वका शक्तिशाली देशलाई यसले हायल कायल बनाइदियो । त्यसैले त पश्चिमा देशका बैज्ञानिकहरुले खुलेआम भनिरहेका छन्,' कोरोना भाइरस एकप्रकारको टाइम बम नै हो ।'

यसै क्रममा केही सातामात्रै संयुक्त राष्ट्रसंघीय वातावरण संगठनका प्रमुख इंगर एन्डरसनले एउटा अर्थपूर्ण र गम्भिर सन्देश प्रवाह गरे ' हामीलाई प्रकृतिले कोरोनाभाइरससँगै सन्देश पठाइरहेको छ । वन्यजन्तु र वातावरणको विनास तथा जलवायु परिवर्तन पृथ्वीका लागि सबैभन्दा ठूला खतरा हुन् ।' उनले भनेका छन्, 'मानवजातीले प्रकृतिमाथी आक्रमण गरिरहेका छौं । पर्यावरण निरन्तर विनास गरिरहेका छौं । यो एउटा हाम्रा लागि गम्भिर भएर सोच्नुपर्ने सन्देश हो ।'

विश्वका प्रसिद्ध अरु वैज्ञानिकले पनि यसलाई समर्थन गर्दै थपे ,' कोभिड १९ प्रकृतिले हामीलाई एउटा स्पष्ट र खतरा सन्देश पठाएको हो । प्रकृतीमाथीको हमला कायमै राख्ने हो भने आगामी वर्षहरुमा यो भन्दा कयौं गुणा बढी खतरनाक र डरलाग्दा रोगको सामना गर्नुपर्ने हुन्छ ।'यसको अर्थ आधुनिक समाजका हामी आधुनिक मानवहरु प्रकृतिको विनास गरेर खुलेआम आगोसँग खेलिरहेका छौं ।'

यस्ता डरलाग्दा रोगको प्रतिरोध गर्नु भनेकै हामीले आगामी दिनमा विश्वव्यापी उष्णीकरण र प्रकृतीको विनास क्रमलाई रोक्नु नै हो । एउटा अध्ययनलाई उद्दृत गर्दै गार्डियन लेख्छ, '७५ प्रतिशत रोग, संक्रमण र महामारीहरु सबै वन्यजन्तुबाट आएका छन् । ती पहिला घर पालुवा जनावरमा सर्छन् अनि क्रमस मान्छेमा सर्दै त्यसले महामारीको रुप लिन्छ । '

पछिल्ला वर्षहरुमा फैलिएका महामारी वा अधिकांश रोगका संक्रमण जनावरबाट मानिसमा सरेका हुन् । इबोला, बर्ड फ्लू, मिडल इष्ट रेस्पिरेटोरी सिन्डेम -मर्स_, सार्स, वेष्ट निल भाइरस तथा जिका भाइरस सबै त्यसैगरी सरेका हुन् । पछिल्लो पटक कोभिड १९ पनि थपिएको छ ।

प्रकृति र महामारीबारे अध्ययन गरिरहेकी बैज्ञानिक कुन्निमघमका अनुसार, जनावरहरुबाट मानिसमा सरेको संक्रमण वा रोगका कारण मानिसको मृत्यु दर उच्च हुन्छ । जस्तो की इबोला ५० प्रतिशत, निफा भाइरसको मृत्यू दर ६०देखि ७५ प्रतिशत रहेको थियो । निफा भाइरस पनि चमेरोबाटै दक्षिण एसियामा सरेको वैज्ञानिकहरुको निश्कर्ष थियो ।

चीनसहित विश्वका धेरै देशहरुमा जनावरलाई लामो दुरीसम्म खोरमा हालेर ओसार पसार गरिन्छ । जसका कारण उनीहरु तनावमा हुन्छन् र पाचन शक्तिसमेत कमजोर हुदै गइरहेको हुन्छ । यहीबेला उनीहरुले आफ्नो शरीरमा भएको हानिकारक जिवाणुहरु बाहिर निकालिरहेका हुन्छन् । र ती जिवाणुसँग बजार तथा वन्यजन्तु भएका स्थानबाट मानिसमा सर्छ । यो विश्वव्यापी सत्य हो । नेपालकै सन्दर्भमा हेर्दा पनि जनावरहरुलाई अमानवीय रुपमा ट्रकमा खाँदेर ओसार पसार गरिरहेको देखिन्छ ।

यस कारण पनि जथाभावी हुने वन्यजन्तुको व्यापार नियन्त्रण चलिहेको आवश्यकता हो । विश्व बजारमा सबैभन्दा धेरै वन्यजन्तुको माग हुने चीनले यसको सुरुवात त गरेको छ तर निरन्तरताको संभावना हुने कमजोर हुदै गएको देखिन्छ ।

वन्यजन्तुको अवैध व्यापारको आकार पनि हामीले कल्पना गरेभन्दा निक्कै ठूलो छ । विश्व बजारमा अहिले पनि २३ बिलियन अमेरिकी डलरको वन्यजन्तुको अवैध कारोबार हुन्छ । नेपालमा पनि वन्यजन्तुको अवैध कारोबार एउटा प्रमुख अपराधको रुपमा रहेको छ । यो सामाजिक, सांस्कृतिक, आर्थिक अपराधसँग प्रत्यक्ष जोडिएको अपराध हो ।

मानवीय व्यवहारको कारण उत्पन्न भएको यो भाइरसको नियन्त्रण त अब चाँडै होला । तर यसले हाम्रै पुस्ता तथा आगामी दिनका लागि भने महत्वपूर्ण सन्देश दिएर गएको छ । एकजना वन्यजन्तुप्रेमी पल अक्स्टनले भनेका छन्, ' जतिबेलासम्म संसारमा जनावर र वन्यजन्तु वा पशुपंछी हुनेछने, त्यो बेलासम्म संसारमा माया, प्रेम र विश्वास रहिरहन्छ ।'

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics