यसरी मिचाहा वनस्पतिको उपयोग गरौं

A+ A-

भौगोलिक तथा जलवायुको विविधताको कारणले गर्दा क्षेत्रफलको अनुपातमा नेपालमा धेरै प्रकारका परिस्थतिकीय प्रणाली पाइन्छन् । विविध प्रकारका परिस्थतिकीय प्रणालीको उपलब्धताको कारण नेपाल जैविक विविधताको अथाह भण्डारको रुपमा परिचित छ । जैविक विविधताको असर मानव जीवनको पर्यावरणीय मात्र नभई धार्मिक,सामाजिक र आर्थिक पाटोमा पनि परेको छ ।

मानव जीवनको महत्वपूर्ण अङ्ग भएतापनि विभिन्न कुराहरुको प्रभावले गर्दा जैविक विविधता सङ्ख्यात्मक तथा गुणस्तरको रुपमा ह्रास हुने क्रममा छ । जैविक विविधतामा ह्रास ल्याउने धेरै कुराहरु मध्यको एक हो, मिचाहा वनस्पति अथवा बाह्य मिचाहा वनस्पति ।

आफ्नो प्राकृतिक तथा भौगोलिक क्षेत्रबाट नयाँ ठाउँमा पुग्ने प्रजातिहरुमध्य कतिपयले अतिक्रमण गरी त्यहाँ रहेका स्थानीय प्रजाति एवं पर्यावरणीय चक्र समेतलाई असर गर्ने वा असर पार्ने क्षमता राख्छन् । त्यस्ता वनस्पतिका प्रजातीलाई बाह्य मिचाहा वनस्पति भनिन्छ ।

यि मिचाहा वनस्पतिको प्रसारण प्राकृतिक माध्यम तथा मानवीय माध्यम दुवै तरिकाबाट हुने भएता पनि, मानव सभ्यता , कृषि प्रणाली र विज्ञान प्रविधिको विकाससँगै मानव जीवनमा आएको परिवर्तन र विश्वव्यापीकरणलाई प्रसारणको मुख्य कारण मान्न सकिन्छ । यसरी त्यस्ता वनस्पतिको प्रसारण जानेर वा अन्जानमै गरियो र ती वनस्पति नयाँ ठाउँमा पुगेर मिचाहा हुन थाले ।

नेपालमा पनि कतिपय वनस्पतिहरु यात्रीसगँ वा बिउबिजनसगँ मिसिएर आएका छन्  अनि कतिपय वनस्पतिहरु कृषि, वागवानी र वनमा प्रयोगको लागि भित्राइएका छन् । यसरी अन्य महादेश वा ठाउँहरु बाट भित्राइएका वा आएका वनस्पतिहरुको कुल सङ्ख्या एक अध्ययनको अनुसार १७९ छ भने ती मध्यका २५ प्रजाति मिचाहा प्रकृतिका छन् । ति २५ वटा प्रजातिमध्य ४ वटा ( लहरे वनमारा , सेतो वनमारा , जलकुम्भी र वनकाँडा( ल्यान्टाना ) विश्वका १०० खराब मिचाहा प्रजातिमा पर्दछन् भने नेपालका २५ वटा प्रजाति मध्य ६ वटालाई (लहरे वनमारा-माइकेनिया, पातीझार-पार्थेनियम, जलकुम्भी, कालो वनमारा, सेतोवनमारा, वनकाडाँ-ल्यान्टाना) उच्च जोखिमयुक्त मिचाहा प्रजाति भनि वर्गीकरण गरिएको छ ।

मिचाहा प्रजातिहरु धेरै खालका वातावरणीय स्थितिहरुमा बाच्ने, नयाँ वासस्थानमा छिट्टै अनुकूलीत हुने गर्छन् । अत्याधिक बिउ उत्पादन र अन्य माध्यमबाट समेत पुर्नउत्पादन गर्ने जस्ता क्षमता भएका यिनीहरुले नयाँ ठाउँमा अतिक्रमण गरेर रैथाने प्रजातिहरुलाई विस्थापित गरी  तिनीहरुलाई सकंटमा पार्न सक्छन् । यसरी परिस्थतिकीय प्रणालीलाई नै धरापमा पार्ने मिचाहा प्रजातिको असर जैविक , पर्यावरणीय , आर्थिक एवं मानव स्वास्थ्य आदि क्षेत्रमा हुन्छ ।

बाह्य मिचाहा वनस्पतिको बहुआयामीक असरको उदाहरणको रुपमा लहरे वनमारा (माइकेनिया )ले नेपालको तराई क्षेत्रमा पारेको असर , पातीझार ( पार्थेनियम) अनि सेतो वनमाराले खेतवारीमा पारेको असर र जलकुम्भीले सिमसारमा पारेको असर आदीलाई लिन सकिन्छ । नेपालको पूर्वी तराईबाट प्रवेश गरी पश्चिम तिर पुगिसकेको लहरे वनमाराले बिचमा पर्ने संरक्षित क्षेत्रभित्र मात्र नभई अरु वनक्षेत्रमा पनि अतिक्रमण गरी  गैंडा लगायत वन्यजन्तुको वासस्थान विनास , आहारमा ह्रास जस्ता पर्यावरणीय असर गरेको छ एवं मध्यवर्ती क्षेत्रहरुका बासिन्दालाई यसले आर्थिक रुपमा असर गरेको छ । सन् २०१२ मा प्रकाशित एक अध्ययन प्रतिवेदनको अनुसार माइकेनियाको ब्यवस्थापनको लागी एक किसानले प्रतिबर्ष रू. २५०० जति खर्च गर्न तयार रहेको देखाएको थियो ।

सेतो वनमारा


यसरी मिचाहा वनस्पतिको बहुआयामीक असरलाई मध्यनजर गर्दा, यस्ता प्रजातिको ब्यवस्थापन र नियन्त्रण  गरी हाल्नु पर्ने देखिन्छ । तर यिनको उच्च फैलावट र छिटो पुर्न उत्पादनको कारणले गर्दा ब्यवस्थापन र नियन्त्रण चुनौतीपूर्ण छ । अझ बढ्दो विश्वव्यापीकरण, जलवायु परिवर्तन आदिको असरले यिनीहरुको फैलावट अझ बढ्ने अनुमान गरिएको छ।
ठाँउ, प्रजाति र अवस्था अनुसार ब्यवस्थापनका उपायहरु फरक–फरक हुन सकेता पनि सामान्यत ; बाह्य मिचाहा वनस्पतिको ब्यवस्थापन र नियण्त्रणका लागि निम्न उपायहरु अबलम्बन गर्न सकिन्छ ।

नयाँ मिचाहा प्रजाती भित्रन नदिनु (कृषि उत्पादन र अन्य सामान निर्यात गर्दा उचित तरिका अपनाउने र कडा क्वारेन्टिन सुरक्षा नीति पालाना गर्ने), नयाँ ठाउँमा अतिक्रमण हुन नदिने , फैलिसकेको स्थानमा नियण्त्रण गरेर प्रभाव र घनत्व रोक्न भौतिक , रासायनिक र जैविक विधीहरु प्रयोग  गर्न सकिन्छ  । भित्रन नै नदिनु प्रभावकारी उपाय भएता पनि, भित्रिसकेर फैलिएको अवस्थामा व्यवस्थापन र नियण्त्रणको लागि जैविक विधी (मिचाहा प्रजातिको प्राकृतिक शत्रुलाई निश्चित प्रक्रियाबाट छानेर अतिक्रमित क्षेत्रमा छोड्नु ; जस्तै कालो वनमारा नियण्त्रणको लागि गल फ्लाई नामक किराको प्रयोग विभिन्न ठाउँहरुमा गरिएको थियो ) दिर्घकालिन रुपमा दिगो, वातावरण मैत्री र सस्तो हुने कुरा विभिन्न अध्ययनहरुले पुष्टी गरेका छन् ।

बाह्य मिचाहा वनस्पतिको नियण्त्रणका र ब्यवस्थापन गर्न लामो समय र धेरै स्रोतहरु लागेता पनि कतिपय प्रजातिहरुलाई स्थानीय रुपमा विभिन्न तरिकाले प्रयोगमा ल्याउन सकिन्छ । जस्तै जलकुम्भीलाई ग्रीन म्यानुअर, कम्पोष्ट मल, मल्चीङ्गको रुपमा प्रयोग गर्न सकिन्छ भने सेतो वनमारालाई जैविक मल, वायोचार , वायोविक्रेट एवं कतिपय अवस्थामा औषधीको रुपमा प्रयोग गरेको पनि पाइन्छ । यस्तै कालो वनमारालाई जैविक किटनाशक, ग्रीन म्यानुअर र मल्चीङ्गको रुपमा प्रयोग गरिएको छ भने नेपालका विभिन्न भागहरुमा ल्यान्टेनाबाट बायोचार , बायो बिक्रेटहरु बनाउने स्थानीय कार्यक्रम र अनुसन्धान चलिरहेका छन् ।

यसरी बाह्य मिचाहा वनस्पतिका प्रजातिहरुलाई स्थानीय तहमा जैविक मल, जैविक उर्जा र औषधीय गुणसगँ जोड्दै प्रयोगमा ल्याउन सकियो भने स्थानीय जनसमुदायको जीविकोपार्जन सुधारमा टेवा पुग्छ , नियण्त्रण र ब्यवस्थापनमा स्थानीय जनसमुदायको भूमिका बढ्छ, चेतनाको बृद्धि हुन्छ जसका कारणले व्यवस्थापन र नियण्त्रणको प्रयास दिगो हुन सक्छ ।

बेलैमा उचित कदम चाल्न नसकेको अवस्थामा मिचाहा वनस्पतिका प्रजातीहरुले जैविक विविधता ,परिस्थतिकीय प्रणाली, कृषि र मानव जीवनमा अपूरणीय हानी पुर्‍याउने सम्भावना  रहेको छ । त्यसैले सरकारले  समयमा नै सबै तहको सरोकारवाला निकायहरुसँग आवश्यक व्यवहारिक रणनीतिहरु तयार गरी, आर्थिक, सामाजिक लगायत सबै कोणबाट योग्य तरिकाहरुबाट प्रभावकारी रूपमा अगाडि बढाउन अत्यावश्यक छ ।

 पौंडेल बन विज्ञान अध्ययन संस्थानका बिद्यार्थी हुन 

प्रतिक्रिया दिनुहोस

web
analytics