जलवायु परिवर्तनको मारमा बैतडीका महिला

A+ A-



बैशाख २९ गते साँझ परेको असिना पानीले बैतडी दोगडाकेदार गाउँपालिकाकी पार्वती जोशीको भएभरको खेतीपाती नष्ट गर्यो । भर्खरै उम्रिँदै गरेको मकै बाली सखाप नै भयो । बल्ल सप्रिन लागेको आलुको बाली पनि बाँकी रहेन । प्याजको बालीको पनि अवस्था त्यस्तै भयो । पछिल्लो समयमा जोशीले यस्तो समस्या बर्षेनी खेप्दै आएकी छिन् ।



जोशी मात्र होइनन्, बर्षौं बर्षदेखि कृषिकर्ममा संलग्नहरुका लागि मौसममा आउने गरेको परिवर्तन अहिले चिन्ताको विषय बन्न थालेको छ । कहिले हिमपात, कहिले किरा र रोग प्रकोपको प्रभाव, कहिले खडेरी त कहिले अत्यधिक असिना पानी – यस्ता किसिमका बेमौसमी घटनाले यस भेगका अधिकांश महिलाको दिनचर्या प्रभावित हुन थालेको छ। तर, यसका बारेमा उचित ज्ञान र जानकारी नभएर भने स्थानीयबासी अन्यौलमा छन् ।

ग्रामीण भेगका अधिकांश जनताको मुख्य पेशा नै कृषि हो। त्यसमाथी त्यहाँका महिलाको दिनचर्या जल, जंगल र जमिनको हेरचाहमा नै बित्ने गरेकाले पनि उनीहरुको पानी र माटोसँग गहिरो सम्बन्ध रहने गरेको छ ।

कृषि कर्ममा रमाउँदै


दोगडाकेदार गाउँपालिका ८ की भागादेवि विष्ट कृषि उपजको उत्पादन अहिले घट्दो क्रममा रहेकोले चिन्तित छिन् । कृषि कर्म गरिरहँदा उनले विभिन्न प्रकारका नयाँ समस्याहरुसँग जुध्नुपर्छ । बालीहरुमा लाग्ने नयाँ रोगको बारेमा आफू जानकार नभएको उनले बताइन् । उनलाई कहिले पानी त कहिले मल, कहिले बीउबिजनको अभाव त कहिले असिना पानीले रुवाएको छ । गुनासो पोख्दै बिष्टले भनिन्, ‘अहिले मल र बीउबिजनको अभावका कारण कृषि कर्म पनि समाप्त हुने स्थितिमा पुगेको छ ।’

बिउबिजनको अभावको समस्याले स्थानीयबासीलाई गिजोलेको छ । यो समस्या समाधान गर्न कसैले चासो नदिएको उनको भनाई छ । जसोतसो उत्पादन भएको बस्तुले पनि न त बजार पाउँछ, न त उचित मूल्य नै । यस्तो अवस्थामा के गर्ने भनेर पिरोलेको उनी बताउँछिन् ।

सामान्य प्रकृतिको खेतीमा लाग्ने रोग प्राकृतिक तरिकाबाट नियन्त्रणमा ल्याउने प्रयास गरिएपनि थाहा नभएका रोगको लक्षण देखिँदा भनेसमस्या छ किनभनेस्थानीय तहमा कृषि बिज्ञ छैन । नयाँ प्रकारका किरा र रोगलाई नियन्त्रण गर्न आफ्नो ज्ञानले नभ्याएको उनी बताउँछिन् ।

यि विविध समस्याहरुको सामना गर्दै आएका स्थानीयबासी जलवायु परिवर्तनको असरका कारण यि समस्याहरु भएका हुन् भन्ने खासै ज्ञान भने नभएको बताउँछन् ।

‘हामीहरु सँधै कृषि कर्ममै व्यस्त हुन्छौं,’ बिष्टले भनिन्, ‘जलवायु परिवर्तनको असरबारे हामीलाई खासै थाहा छैन । सिंचाईको अभाव, मौसम परिवर्तनको असर र कृषिमा नयाँ रोग नै हाम्रो तिर मुख्य समस्या देखापरेको छ ।’

दोगडाकेदार गाउँपालिका ८ कै अर्की कृषक ३८ वर्षीया दुर्गा बिष्ट कृषिकर्म गर्न सँधै अनुकुल वातावरण नहुने बताउँछिन् । उनले भनिन्, ‘कृषि कर्म गर्न गाह्रो छ । तर पनि जसोतसो गर्दै आएकी छु । रोगले गर्दा कठिन भएको छ ।’ बालीलाई कहिले सेतो किराले खाइदिन्छ, कहिले कुर्मुल्लोले सोत्तर बनाउँछ भने ढ्डि कुडामिडा चराचुरुङ्गीका कारण पनि असहज भएको उनको अनुभव छ ।

आकाशे पानीको भर नै हुन्न भने कहिलेकाहीँ खडेरी पर्छ । यस्तो अवस्थाका कारण पनि कृषि पेशा छोडौंजस्तो लाग्ने उनले बताइन् । खानेपानीको अभावका कारण समस्या भने जेनतेन ब्यवस्थापन गर्दै आएको उनले भनिन् ।

गाउँमा ‘आकाशको फल आँखा तरी मर’ उखानजस्तै छ पानीको समस्या । न समयमा पानी पर्छ, न त उत्पादित बस्तुको उचित मूल्य नै पाइन्छ । दुर्गा भन्छिन्, ‘बजार निकै टाढा छ । विभिन्न रोग, चराचुरुङ्गी, किराफट्याङग्राबाट जोगाएर राख्दा केही उत्पादन जोगिन्छ । तर बजारसम्म लाने साधन नपाएर ति उत्पादन खेतमै कुहिने अवस्था पनि आएको छ ।’

सोही गाउँकी २८ बर्षीय जयन्ती बिष्ट पनि समयमा पानी नपर्दा ठूलो मारमा परेको बताउँछिन् । झन् स्थानीय बजारमा किट्नाशक औषधी नपाइँदा थप सास्ती व्यहोर्न बाध्य भएको उनले बताइन् । कृषि सामग्रीको शाखामा लिन जाँदा दुई दिन लाग्छ । उनी भन्छिन्, ‘यहाँ मिल्दैन बाहिर जानुपर्छ । हामीले प्राकृतिक विधिबाटै रोग किराको उपचार गर्दै आएका छौं ।’

जयन्तीका अनुसार जंङ्गली जनावरको कारण पनि कृषि पेशा प्रभावित भएको छ । उत्पादित बस्तुको बजार नपाएको गुनासो त छँदैछ कामदारको चर्को अभाव पनि अर्को समस्या छ । गाउँघरमा औंलामा गन्न सकिने संख्यामा पुरुष छन् । यहाँ जति दुःख गर्दा पनि पर्याप्त परिमाणमा उत्पादन नहुँदा दैनिकी चलाउन नै कठिन भएको बताउदै उनले अब बिकल्पको रुपमा वैदेशिक रोजगार मात्रै भएको जानकारी दिइन् ।

स्थानीय फुण्डि भट्ट


स्थानीय फुण्डि भट्टले प्रतिकुल मौसम, किरा फट्याङग्रा र रोगको प्रकोप, सिंचाईको असुविधा, औषधी, मल र बीउबिजनको अभावका बीच पनि स्थानीयबासी खेतीपातीमा लागेको जानकारी दिइन् । सरकारी क्षेत्रबाट कहिलेकाँही बीउबिजन उपलब्ध गराउने गरेको उनको भनाई छ । सरकारी कर्मचारीमा पहुँचवालालाई सुविधा दिने पबृति पनि उतिकै रहेको भट्टले जानकारी दिइन् । उत्पादित बस्तु पिठयुँमा बोकेर चार घन्टा हिडेर बल्लतल्ल बजारसम्म  पु-याउन  सकिएको स्थानीयको पीडा छ । जसले गर्दा कृषि पेशामा लगानी पाउन पनि कठिन बन्दै गएको छ ।

रम्भा सुनार खेतीपाती गदैं


दोगडाकेदार गाउँपालिका वडा ८का अध्यक्ष चक्रबहादुर कार्की पछिल्लो समयमा पानीको मुहान सुक्ने, समयमा बर्षा नहुने, पहिला हिउँ पर्ने ठाउँमा अहिले हिउँ पर्न छोड्ने, कृषि उत्पादन घट्ने र न्यूनीकरणको लागि बजेटको अभावजस्ता समस्या देखापरेको बताउँछन् । उनकाअनुसार बजेटको अभाव र पछिल्लो समयमा भएको बजेट पनि कोभिड महामारीमा केन्द्रित भएकाले जलवायु परिवर्तनको मुद्दा ओझेलमा परेको छ ।

कृषि मन्त्रालयका सह–सचिव कञ्चनराज पाण्डेले जलवायु परिवर्तनको असरले महिलालाई प्रत्यक्ष रूपमा प्रभावित गरेको जानकारी दिए । जलवायु परिवर्तनको असर कम गर्न तीन तहका सरकार मिलेर आवश्यक योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए । स्थानीय सरकारको क्षमता अभिवृद्धि गरी जलवायु अनुकूलनका कार्यक्रम अघि बढाउन सकिने उनको सुझाव छ । स्थानीय बीउबिजनको जगेर्ना गर्नुपर्ने पनि उनले बताए । सह–सचिव पाण्डेले जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए ।

हिमाल, तराई र पहाडी भेगमा जलवायु परिवर्तनको प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर परेको छ । पछिल्लो समयमा यसको असर झन् बढी देखिन थालेको बिज्ञहरुले औँल्याएका छन् । सुदूरपश्चिमको बैतडी दोगडाकेदार गाउँपालिका यसको ज्वलन्त उदाहरण बनेको छ । जलवायु परिवर्तनका कारण यस गाउँका कृषिमा निर्भर महिलाहरुको दैनिकी  प्रभावित भएको छ नै, उनीहरुमा कृषि पेशाप्रति नै वितृष्णा जाग्ने अवस्थाको सृजना भएको छ । यसका लागि जलवायु परिवर्तनका प्रभाव अनुकूलन र न्यूनीकरणका कार्यक्रम यथाशिघ्र गाउँमा पुराउन जरुरी बनेको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics