जलवायु अनुकुलनमा उदाहरण बन्दै रोल्पाली जनता

A+ A-

रोल्पा कोटगाउँकी दिक्षा बुढामगरको बिवाह भएको १० वर्ष बित्यो । स्थानीयस्तरमा रोजगारीको कुनै अवसर नपाएका उनका श्रीमान चेतन घर्तीमगर ३ वर्षअघि परिवार पाल्न बैदेशिक रोजगारमा जान बाध्य भए ।

‘पक्कै पनि आफ्नै ठाउँमा अवसर पाइएको भए दुई छोरी र मलाई छोडेर जानु हुँदैन थियो होला,’ दिक्षाले बताइन् ।

सिंचाईका अभावका कारण खेती किसानीबाट मनग्गे आम्दानी नहुँदा धेरै महिलाहरु आफ्नो श्रीमानबाट टाढा हुनुपर्ने बाध्यता छ । पानीको चर्को अभावमा रोल्पा कोटगाउँ भन्दा आफनो माइती घर रोल्पाको माडीचौरलाई कार्यथलो बनाइन् । पानीसँग खेल्दै गोडमेल गर्दै तरकारी खेतीमा रमाउने गर्थिन् उनी । जब बिवाह भयो कोटगाउँसँग घुलमिल हुन निक्कै गाह्रो भयो । बिस्तारै सबैसँग कुरा मिलेपनि पानीको चर्को अभावका कारण उनको मनै खिन्न भयो । खेतीपाती गर्ने रहर पानीको अभावमा पुरा हुन नसक्ने अवस्था देखेपछि उनको मन खिन्न भएको हो । उनी माडीचौर आफ्नो माइती घरमा लामो समयसम्म खेतीपाती गरेर दैनिकी चलाउँदै आएकी थिइन् ।

आम्दानीको स्रोत नभएको रोल्पा कोटगाउँमा पारिवारिक सल्लाहपछि उनका श्रीमान बैदेशिक रोजगारमा जाने निर्णय गरेपछि केही समय उनी कोटगाउँमै बसिन् । त्यसपछि उनी आमा बुबाको हेरचाह, आम्दानीको स्रोतको विकल्प खोजेर भएपनि आफ्नै घर कोटगाँउमै बस्ने निधो गरिन् ।  कोटगाउँमा उनकै अध्यक्षतामा स्थानीयको सहयोगमा सिंचाई सुविधाको लागि कुलपुज्ने सिंचाई पोखरी निर्माण भयो । जसबाट ४५ घरधुरी लाभान्वित भएका छन् ।

कुलपुज्ने सिंचाई पोखरीमा दिक्षा बुढामगर


यसले गर्दा गाउँमा सिंचाई अभावको समस्या टरेको छ । कुलपुज्ने सिंचाई पोखरी पहाडी साना किसानका लागि अनुकूलन आयोजना ( आशा ) रोल्पाको सहयोगमा निर्माण भएको हो । यसले गर्दा धैरैजनाको जीवनमा जलवायु परिवर्तनका असरबाट अनुकूलन हुँदै अगाडि बढ्दै जीविकापार्जन सुधारका लागि ठूलो सहयोग भएको पाइएको छ ।

गोलभेडा खेतीमा रमाउँदै होम विक


त्यस्तै माडी गाउँपालिका वडा नम्बर ४ बुढागाउँका ३५ वर्षिय होम विक पनि ७ वर्षअघि साउदी अरबको चर्को घाममा काम गर्न बाध्य भए । तर त्यो चर्को घाममा साथीहरु बेहोश भएको देख्नुपर्दा उनको मन निकै रोएको थियो । साउदी अरबमा जसोतसो ७ वर्ष बिताएर आफ्नै देशमा केही गरौं भनेर स्वदेशी माटोले उनलाई तान्यो । काम गरेको अनुभव बोकेर उनले आफ्नै जन्मभूमि फर्किने निधो गरे । आफ्नै ठाउँको आफ्नै माटोमा केही गर्न सकिन्छ भन्ने आँट थियो उनमा । नेपाल फर्केपछि उनको सपना पूरा गर्न आशा आयोजनाले सहयोग गर्यो । आयोजनाबाट उनले तालिम र आर्थिक सहयोग पाएपछि तरकारी खेती सुरु गरे । उनले १ वर्षदेखि तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन् ।

तरकारी खेतीमा रमाउँदै इन्द्र थापा


रोल्पाकै सुनिल स्मृती गाउपालिका वडा नम्वर ६ गजुलका इन्द्र थापाले विगत ५ वर्षदेखि खेती गर्दै आएका छन् । उनी अहिले परम्परागत रुपमा खेती गरिदै आएको खाद्यान्न वालीलाई तरकारीवालीले प्रतिस्थापन गर्दै खेती गरिरहेका छन् । पहिला गहु, मकैं, भटमास र सिमीलगायतको खेती गर्दै आएका उनी अहिले तरकारी खेतीमा रमाउन थालेका छन् ।

टमाटर, काउली, बन्दा, रायो, प्याज र लसुनलगायतको खेती गरी नगद आम्दानीबाट उनले आफ्नो जीवनलाई सहज बनाएका छन् । आशा आयोजनावाट पर्माकल्चर अर्थात दिगो कृषिकोे तालिम पाएका उनले जैविक मल, झोल मल, स्थानीय विउको प्रयोगवाट अर्गानिक खेतीमा होमिएका उनले मूल्यमा प्रतिष्पर्धा गर्न नसकेपनि बिक्री गर्न समस्या नभएको उनको अनुभव छ । यही खेतीपातीबाट उनले आफ्नो परिवार पालेका छन् । आफ्नो छोरालाई भेटेनरी पढाउन पाउँदा उनी औधी खुशी भएका छन् ।

गाउँमा अगुवा कृषकको दर्जा पाएका उनको अर्गानिक कृषिमा देखिएको समर्पणको मूल्यांकन स्वरुप पालिकाले रु १० हजार पुरस्कार सहित सम्मान समेत गरेको छ ।

जलवायुजन्य प्रकोपबाट जोखिममा परेका ग्रामीण पहाडी क्षेत्रका समुदायको गरिबी न्यूनीकरण गर्न आशा आयोजनाले ठूलो भूमिका खेलेको छ । रोल्पा जिल्लामा आर्थिक वर्ष २०७३।०७४ देखि लागु भएको यो आयोजना एक बर्ष म्याद भै चालु आर्थिक वर्षमा २०७८।०७९ मा सकिदैछ । आयोजनाले साना किसानको क्षमता अभिबृद्धि, तालिम तथा वन र वातावरण संरक्षण सेवा अनुदान अन्तर्गत जलवायु अनुकुलित कृषि तथा पशुपालन अनुदान सहयोग प्रदान गर्दै आएको छ । यसले गर्दा आयोजनाको कार्यक्षेत्रमा निर्वाहमूखी कृषि अहिले आम्दानीमुखी बन्दै गएको छ ।

आशा आयोजना रोल्पाका जिल्ला आयोजना संयोजक बिनोद ज्ञवालीले आयोजना मार्फत सञ्चालित कृषि, पशुपालन, वन तथा भू संरक्षणसम्वन्धि कार्यक्रमहरुले जलवायु परिवर्तनका असरवाट प्रत्यक्ष जोखिममा परेका र जोखिममा पर्न सक्ने संकटासन्न साना किसानको जलवायु समानुकूलनमा सुधार गरी अनुकुिलत हुन सहज बनाएको बताए । सम्बन्धित वडावाट अपनत्व लिई कार्यान्वयनमा ल्याईएको स्थानीय अनुकूलन कार्यक्रम (लापा) कितावमा उल्लेख भएको योजनालाई प्राथमिकिकरण  गरी शिफारिस गरेका आधारमा आयोजनाले लापा समुहसंग सम्झौता गरी कार्यक्रमहरु कार्यान्वयन गर्दछ ।

लापा कार्यान्वयन गर्न आयोजना अबधिको लागि प्रति वडामा ८९ लाख रुपैयाँको बजेटको सीमा निर्धारण गरिएको छ । यसमध्ये रु ३७ लाख ८० हजार (४२%) रकम साना किसानका लागि जलवायु अनुकूलन लाभदायक उत्पादन अन्तर्गतको कार्यक्रममा र ५१ लाख २० हजार (५८%)जलवायु अनुकुलित सामुदायिक पूर्वाधार निर्माण, भू–व्यवस्थापन-संचालनका लागि सहयोग अनुदान उपलव्ध गराउदछ । यसको साथै आयोजनाले स्थानीय स्तरको जलवायु अनुकूलन ढांचा सुदृढीकरण र आयोजना कार्यान्वयन सम्वन्धी कार्यक्रमहरु समेत सञ्चालन गर्दछ । कार्यक्रम सञ्चालनको लागि आयोजनावाट सालवसाली स्विकृत हुने वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि तथा अनुदान परिचालन निर्देशिकालाई अनुसरण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय कृषि विकास कोष(आईफाड)को अनुदान सहयोगमा सञ्चालित आशा आयोजना कर्णाली प्रदेशको ५ जिल्ला (कालिकोट, जाजरकोट, दैलेख, सल्यान, पश्चिम रुकुम) र लुम्बिनी प्रदेशका २ जिल्ला (पुर्वी रुकुम र रोल्पा) गरी ७ जिल्लामा यो आयोजना सञ्चालित भएको छ । वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. राधा वाग्लेका अनुसार जलवायु परिवर्तनको अनुकुलन कार्यमा नेपालको प्रयास उल्लेखनीय पाइएको छ ।

जलवायु परिवर्तन विज्ञ युवराज गुरागाईका अनुसार जलवायु परिवर्तनका असरका कारण वनमारा बढी हुने, बाली नाली नष्ट गर्ने नयाँ किरा, चिसो ठाउँमा लामखुट्टे देखिने र खडेरीलगायतका समस्या बढ्दो क्रममा छ । उनले न्यूनिकरणका लागि खडेरी सहने प्रजातिको खेती गर्ने, सौर्य उर्जाको विकास गर्ने, वृक्षारोपण, कुलो सिंचाई र सिंचाई पोखरीका लागि काम भइरहेको बताए । जलवायु अनुकुलित फलफूल खेतीबाट पनि समुदायले आर्थिक लाभ लिन सफल भएको गुरागाईले बताए ।

जलवायु अनुुकुलनका लागि खानेपानी मुहान र कुलो मुहान संरचनाको कार्यहरु अहिले प्राथमिकतामा छन् । जलवायु परिवर्तनका असरका कारण नेपालको ग्रामीण र सहरी भेगमा जीविकोपार्जनमा असर देखिन थालेको छ ।

अहिले रोल्पा जिल्लाका ७ वटा पालिकाअन्तर्गत ३० वडामा जलवायु अनुकुलन कार्यक्रम सञ्चालन भईरहेको छ । जस अनुसार रोल्पा नगरपालिकाको ६, ७, ८ र १०, माडी गाउँपालिकाको १ देखि ६ वटै वडा, परिवर्तन गाउँपालिकाको १ देखि ६ वटै वडा, रुन्टीगढी गाउँपालिकाको ७, ८ र ४ वडा, त्रिवेणी गाउँपालिकाको २, ५, ६, र ७ वडा, सुनिलस्मृति गाउँपालिकाको १, २, ५ र ६ वडा तथा गंगादेव गाउँपालिकाको १ र २ वडामा यो आयोजनाको कार्यक्रम सञ्चालित छन् ।

आशा आयोजनाले कृषकलाई क्यारेट, र सिकेचरलगायतका कृषि सामग्रीहरु पनि उपलब्ध गराएको छ । अपांगता भएका घरधुरी पहिचान गरेर माग वमोजिमका यस्ता सामाग्री उपलव्ध गराएको छ । मिचाहा प्रजातीलाई मलमा उपयोग गरिने वायोचार प्रविधि पनि सिकाइएको छ ।

आयोजना अन्तर्गत मुहान संरक्षण तथा व्यवस्थापन, सामुदायिक बन विधान कार्ययोजना, नवीकरण र कार्यान्वयन सहयोग, सिंचाई कुलो निर्माण तथा मर्मत, नविकरणीय उर्जा प्रविधि (घरायसी सौर्य उर्जा जडान), संरक्षण तथा रिचार्ज पोखरी, बाढी, पहिरो, गल्छी नियन्त्रण, नर्सरी स्थापना, सिंचाई पोखरी निर्माण, वन व्यवस्थापन क्रियाकलाप, बृक्षारोपण तथा संरक्षण तथा मुहान संरक्षण तथा खानेपानी व्यवस्थापन लगायतका प्रमुख कार्यक्रम सञ्चालनमा छन् ।

यस्तै बाख्रापालन समूहलाई नश्ल सुधारका लागि वोयर जात (५० प्रतिशत) को बोका वितरण, खोर तथा भकारो सुधार, जलवायुमैत्री तरकारी खेती, मौरिपालन, जलवायुमैत्री फलफुल खेती (स्याउ र किवी), उन्नत डाले तथा भुँई घाँस खेती, कृषि बनप्रणाली प्रबद्र्धन, गैह्काष्ठ वन पैदावार खेती र विस्तार (ओखर, टीमुरखेती) कार्यक्रम पनि सञ्चालनमा छन् ।

आयोजनाले गत आर्थिक वर्षमा स्विकृत कुल १५ करोड ४६ लाख ४४ हजार वजेटमध्ये रु १३ करोड ६४ लाख ३३ हजार रुपैया खर्च गरी भौतिक प्रगति ९५.६ प्रतिशत र वित्तिय प्रगति ८८.२२ प्रतिशत हासिल गरेको छ । समग्र ६ जिल्लामध्ये रोल्पा जिल्लाको वित्तिय र भौतिक प्रगति उत्कृष्ट भएकोले प्रशंसापत्र समेत प्राप्त गरेको छ । कार्यक्रमवाट गत आर्थिक वर्ष २०७७।७८ मा ८ हजार ४ सय ४३ घरधुरी लाभान्वित भएका छन् । यसमध्ये ७ हजार ३ सय ५७ श्रमदिन वरावर दक्ष रोजगारी, ३९ हजार ३ सय ३७ श्रमदिन वरावर अदक्ष रोजगारीको अवसर सिर्जना भएको छ । आयोजनाले लैङ्गिग समता तथा सामाजिक समावेशिकरणको नितिको प्रभावकारी कार्यान्वयन हुदा कार्यक्रमवाट लाभान्वित भएका र समितिमा संलग्न महिलाको प्रतिनिधित्व ७३ प्रतिशत रहेको छ ।

नेपालमा विगत केही दशकयता बाढी, पहिरो, डँढेलो तथा खडेरी तथा जलवायुजन्य प्रकोपका कारण ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ भने कृषि, जलस्रोत, बन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा तथा पूर्वाधार विकासका क्षेत्रमा समेत यसको असर देखिन  थालेको छ ।

कुल ग्राहस्थ उत्पादन (जीडीपी)को एक तिहाई योगदान कृषि क्षेत्रको छ । खाद्य सुरक्षाको ग्यारेन्टी नेपालमा बढ्दो चुनौती बन्दै गएको छ । नेपालमा उधोग कलकारखाना, यातायात र परिवर्तित जीवनशैलीका कारण हुने कार्बन उत्सर्जन ज्यादै न्युन छ । तर जलवायु परिवर्तनको हिसाबले नेपाल चौथो जोखिम मुलुकको सूचीमा परेको छ र । यसबाट जोगिन जलवायु अनुकुलन कार्यक्रमलाई नेपालका  सबै क्षेत्रहरुमा व्यापक बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics