आज कछुवालाई संझने दिन

A+ A-



आज मे २३ तारिख । थाहा नहुनेहरुलाई उही सधैं आउने सोमबार हो, तर केहीका लागि भने वर्षमा एकदिन मात्र आउने विश्व कछुवा दिवस पनि रहेको छ । सन् १९९० मा स्थापना भएको अमेरिकन टर्टवाइज रेस्क्यु  नामक एक गैर लाभकारी संस्थाले सन् २००० मा कछुवा दिवसको शुरुवात गरेपछि प्रत्येक वर्ष आजकै दिन विश्वभरि कै जनसमुदायले कछुवा संरक्षण सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यकम गरेर यो दिन मनाउने गर्दछन् । मुलतः यो दिवसको स्थापना पनि कछुवाहरुको महत्वबारे सबैमा ज्ञान बाड्न र मानव जातिलाई कछुवाहरुको संरक्षणमा लाग्नलाई प्रोत्साहन गर्नको लागि गरिएको हो ।

सरीसृप वर्गमा पर्ने कछुवाहरु मेरुदण्ड भएका प्रजातिहरु मध्ये सबैभन्दा लामो समयदेखि पृथ्वीमा बस्दै आएका जीवहरु मध्ये एक हुन् । करिब २० करोड बर्ष पुरानो इतिहास बोकेको कछुवाहरु सर्पहरुभन्दा पनि अगाडिदेखि पृथ्वीमा रहँदै आएका हुन् । सबैभन्दा प्राचीन सरीसृप मात्र नभएर सबैभन्दा धेरै समय बाँच्ने मेरुदण्डीय जीवहरु पनि यिनै हुन् । सामान्यता कछुवाहरुलाई बासस्थानको आधारमा पनि वर्गीकरण गर्न सकिन्छ । ठूला–ठूला समुद्रमा बस्नेहरुलाई समुद्री कछुवा (मेराइन टर्टल), जमिनमा बस्नेहरुलाई भुइँ कछुवा (ल्याण्ड टर्टवाइज) र नदी, ताल, सिमसारहरुमा बस्नेहरुलाई पानी कछुवा (फ्रेस वाटर टर्टल) भन्न सकिन्छ । केही कछुवाहरुलाई टेरापिन्स पनि भनिन्छ जो पानी तथा जमिन दुवैमा उत्तिकै समय बिताउने गदर्छन् । यिनीहरु पनि फ्रेस वाटर टर्टलमै पर्छन् ।

विश्वमा तीन सय ५६ प्रजातिको कछुवाहरु पाइन्छन् । नेपालमा मात्रै पनि १८ प्रजातिका कछुवाहरु पाइने विभिन्न अध्ययन अनुसन्धानहरुले पुष्टि गरेको छ । नेपालको समथर तराई भूभागहरुदेखि करिब एक हजार मिटर उचाईसम्म कछुवाहरुको उपस्थिति रहेको पाइन्छ । यिनीहरु लजालु स्वभावका र दिनको समयमा सालको जंगल, पात पतिंगर, ठूलो मुडा, ठूलो पत्थर वा पानी कछुवा भए पानीभित्रै लुकेर बस्ने गर्छन् । कछुवाहरु प्रजाति अनुसार शाकाहारी, मांसाहारी वा सर्वहारी पनि हुन सक्छन् ।

जमिनमा बस्ने कछुवाहरुले प्राकृतिक रुपमा झारपात, जंगली फलफुल खाए पनि कृतिम संरक्षण केन्द्रहरुमा मेवा, केरा, स्याउ, कोपी, गाँजर आदिहरु पनि खाने गर्छन् । पानीमा बस्ने नरम खबटे कछुवाहरु मांसाहारी हुन्छन् । यिनीहरुले भ्यागुता, माछा, घुँगी, सिपी आदि खाने गर्छन् । साथै नदी सतहमा रहेको मृत जीव र वनस्पतिहरु पनि खाने भएकाले खोला, नदीहरुलाई सफा राख्ने र पारिस्थिक प्रणालीमा मद्दत पुर्याउने काम पनि कछुवाहरुले गरिरहेका हुन्छन् । प्रजाति अनुसार कछुवाहरुले तीनदेखि एक सय वटासम्म अण्डा पार्न सक्छन् । पानीमै बस्ने प्रजाति भए पनि अण्डा पार्न भने कछुवाहरुले जमिनमै निस्किनु पर्छ । नदी किनार या जमिनमा खाडल पारेर अण्डाहरु छोप्ने यिनीहरुको प्रवृति हुन्छ । नेपालमा पाइने ठूला कछुवाहरुको अधिकतम् तौल एक सय केजीसम्मको हुने गर्छ । तर, विश्वका कछुवाहरुसँग तुलना गर्ने हो भने यो निकै कम वजन हो ।

कछुवाको महत्व वातावरणीय हिसाबले मात्र नभएर धार्मिक र वैज्ञानिक दृष्टिकोणले पनि उत्तिकै छ । हिन्दू धर्म अनुसार कछुवालाई भगवान बिष्णुको दोस्रो अवतार ‘कुर्म’ भगवान भनेर पूजा समेत गरिन्छ । केही धार्मिक ग्रन्थहरुले कछुवाको पिठ्युमै सारा संसार अडिएको कुरा पनि वर्णन गरेका छन् । वैज्ञानिकहरुको लागि त कछुवाहरु रहस्यको खजाना भन्न सकिन्छ जसबाट थुप्रै जानकारीहरु उत्खनन् हुन बाँकी नै छ । डाइनासोरको अस्तित्व रहँदैको बेलादेखि कछुवाहरु रहि आएको र अझसम्म पनि बाँचिरहेको यस जीवहरुप्रति वैज्ञानिकहरुको विशेष चाख रहनु कुनै नौलो कुरा भने होइन ।

तर, बिडम्बना, कछुवाहरुको संख्या दिनानुदिन घट्दो छ । ‘इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर’ (आईयुसीएन)का अनुसार संसारका ५० प्रतिशतभन्दा बढी कछुवाहरु संकटापन्न अवस्थामा पुगिसकेका छन् । समुद्री कछुवाहरुको लागि प्लाष्टिकजन्य फोहोरहरुले निम्त्याएको समस्या कहालीलाग्दो छ । त्यस्तै ‘घोस्ट नेट’ अर्थात् मछुवाराहरुले प्रयोग गर्ने जालहरु हराएर, चुटिएर वा नियतबस समुद्रमा छाड्दिनाले कति जलचर जीवहरु भयानक मृत्युको शिकार हुने गर्छन् र केहीले अंगभंग भएर बाँच्नुपर्ने हुन्छ । भूमण्डलीय उष्मीकरण (ग्लोवल वार्मिंग)ले गर्दा कछुवाहरुमा देखिएको समस्या धेरैलाई अपत्यारिलो लाग्न सक्छ । यिनीहरुको अण्डाबाट कोरलिने बच्चा भाले वा पोथी हुने भन्ने कुरा तापक्रमले निर्धारण हुने गर्छ । अधिक तापक्रममा पोथी जातिको मात्र उत्पादन हुने हुँदा विश्व तापक्रम वृद्धिसँगै कछुवाहरुको प्राकृतिक प्रणालीमा पनि प्रतिकुल असर पर्ने कुरा नकार्न सकिँदैन ।

नेपालमै पनि कछुवाहरुको स्थिति जोखिमपूर्ण देखिन्छ । जीवजन्तु बेचबिखन सम्बन्धी कानून लागू गर्ने अन्तर्राष्ट्रिय संस्था ‘साइटिस’को सूचीमा नेपालमा पाइने सबै कछुवाहरु पर्छन् । तर, नेपालको आफ्नै कानूनले भने कछुवाहरुलाई खासै प्राथमिकतामा राखेको पाइँदैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का संरक्षित वन्यजन्तहरुको सूचीमा पनि कछुवाहरुले स्थान पाउन सकेको छैन ।

खुकुलो कानून हुँदा अवैध चोरी, शिकारीले फस्टाउने मौका पाउँछन् । वनजंगल फडानी, सिमसार अतिक्रमण, वन डढेलो आदिले कछुवाहरुको प्राकृतिक बासस्थान बिनास भइरहेको छ । कछुवाको अण्डा र मासुलाई औषधिको रुपमा प्रयोग गर्न मिल्ने अन्धविश्वासको कारण र घरायसी सजावटको प्रयोजनमा पनि आउने हुँदा यिनीहरुको माग बजारमा उच्च छ । यस्ता अनेकौ कारणहरुले गर्दा नेपालमा पाइने अधिकांश कछुवाहरु लोपोन्मुख अवस्थामा पुगिरहेका छन् । चीनको सुज्होउ चिडियाखानामा रहेको एकमात्र पोथी यांगजी कछुवा (राफेटस स्विन्होई) कृतिम गर्भाधारण गर्ने क्रममा मृत्यु भएपछि त्यस प्रजातिकै लोप हुने अवस्थामा पुगेको उदाहरण लिएर नेपालमा पनि चाँडै कछुवा संरक्षणप्रति ध्यान केन्द्रित हुनुपर्ने आवश्यक देखिन्छ ।

नेपालमा राष्ट्रिय स्तरबाट कछुवा सम्बन्धी कुनै संरक्षणको कदम नचालिए पनि झापाको अर्जुनधारा– ९, सालबारीमा रहेको सुखानी शहीद स्मृति उद्यानमा नेपालकै पहिलो समुदायमा आधारित कछुवा उद्धार तथा संरक्षण केन्द्र ९त्च्ऋऋ०को सन् २०१२ मा स्थापना भएको छ । उभयचर तथा सरीसृप संरक्षण नेपाल (आर्को–नेपाल) र सुखानी शहीद स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा स्थापना भएको उक्त केन्द्र नेपालका कछुवाहरुको संरक्षण थलो र अनुसन्धानकर्ताहरुका लागि उत्तम स्थान भएको छ । यहाँ विभिन्न सात प्रजातिको कछुवाहरु देख्न सकिन्छ । नेपालमा अति दुर्लभ र पूर्वी नेपालमा बाहेक देशको अन्य कुनै भागमा नपाइएको ध्वाँसे कण्ठे पाते कछुवा (साइक्लेमिस ओल्धामी ) नामक कछुवा पनि यहाँ मात्र देख्न सकिन्छ ।

विश्वभरिका देशहरुले कछुवा दिवस मनाइरहँदा नेपालमा यसको सार्थकता पूरा गर्न पहिला सबैले कछुवाको महत्व बुझ्न आवश्यक देखिन्छ । त्यसपछि कछुवा संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि सरकारी निकायबाट पनि केही नीति नियमहरुको निर्माण हुनुपर्छ । युवाले प्रकृति, वातावरण र वन्यजन्तु प्रति पनि मोह राख्न जरुरी छ । अनि बाँकी सबै सचेत समुदायहरुले आफ्नो ठाउँमा रहेको सम्पदाहरुको पहिचान गरी तीनको प्रवद्र्धनमा लागे मात्र कछुवा जस्ता ओझेलमा परेका प्राकृतिक सम्पदाको जगेर्ना हुन सक्छ । नत्र भने केही समयमा कछुवाहरु पनि एकादेशका कथाहरु जस्तै शब्दमा मात्र सिमित हुने प्रायः निश्चित छ । (पूर्वाञ्चल दैनिक)

प्रतिक्रिया दिनुहोस

web
analytics