मौसम परिवर्तनसँग जुध्दैछन् हिमालका स्थानीय

ताप्लेजुङ - पुसको पहिलो सातामा नै ताप्लेजुङको ओलाङचुङगोलाका घरका छाना हिउँले ढपक्क ढाकेको हुन्थ्यो । हिउँको भार अत्याधिक भएपछि काठको छाना चुइँचुइँ कराउँथे । यसको संकेत हो – ‘छानालाई हिउँको भार अत्याधिक भयो ।’ अनि, स्थानीय टाँसी दोर्जे शेर्पा घरको छानामा चढ्थे र हिउँ फुटाएर झार्थे । उनले हिउँ झारेको देखेपछि स्थानीय अन्य युवाहरू पनि आ–आफ्ना घरका छानामा चढ्थे र हिउँ झार्न सुरु गर्थे । तर, अब यो अनुभव पनि कथा जस्तो भएको बताउँछन् टाँसी । भन्छन्, ‘अहिले त हिउँ नै बाक्लो पर्दैन र पर्ने ठेगान पनि हुँदैन । पहिले त छानाको हिउँ झार्दा भुइँमा मान्छे जतो थुप्रो हुन्थ्यो ।’

टाँसीले भनेझै अहिले हिमाली क्षेत्रमा हिउँ पर्ने ठेगान छैन । पहिले स्थानीय अकाशमा कुहिरो हेरेको भरमा हिउँ पर्ने÷नपर्ने अनुमान लगाउँथे । अहिले उनीहरूको अनुमानले मेल खाँदैन । शेर्पा भन्छन्, ‘पर्ला भनेको समयमा पर्दैन । नसोचेको समयमा तीन फिट भन्दा धेरै पर्छ ।’ उनका अनुसार पहिले अकाशको बादलको रूप हेरेर हिउँ पर्ने अनुमान गर्दै याक र चौरी संकलन गर्न शेर्पाहरू खर्क जान्थे । ‘अहिले पर्दैन होला भने बस्यो हिउँ बर्सन्छ । पर्छ भनेर याक चौरी भेला प¥यो, एक हप्ता सम्म पर्दैन,’ अर्का स्थानीय पेम्बा फुटी शेर्पा भन्छिन् ।

यहाँका स्थानीयले घाँस हुने खर्कमा याक र चौरी छाडेका हुन्छन् । हिउँ नपरे सम्म त्यहीँ चर्ने भएकाले उनीहरू २÷३ दिन सम्म पनि लिन जाँदैनन् । जब हिउँ पर्ने खालको मौसम देखा पर्छ, स्थानीयले याक र चौरी संकलन गरेर ल्याउँछन् र गोठमा सुरक्षित राख्छन् । हिउँ परेपछि सबै घाँस पुर्ने र याक, चौरी पनि बसेकै ठाउँमा पुरिने भएकाले हिउँ पर्नु अघि नै संकलन गर्नुपर्छ । नत्र, याक चौरी हराएर ठूलो क्षति बेहोर्नु पर्छ । त्यसैले अकाशमा कुहिरोको अवस्था हेरेर याक चौरी संकलन गरिन्छ । तर, अहिले यो अवस्था नरहेको पेम्बा बताउँछिन् । ‘कुहिरो रातो, रातो भएर फाटेको अवस्था देखियो भने भोली अथवा राती हिउँ पर्छ भन्ने अनुमान पहिले सहि हुन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । यस्तो मौसम हुँदा पनि हिउँ पर्दैन,’ उनले भनिन् ।

इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) को कञ्चनजंघा ल्यान्डस्केप इनिसियटिभ नामक संरक्षण कार्यक्रममा लामो समय कार्यक्रम प्रमुख भएर काम गरेका टाँसी दोर्जी शेर्पा पछिल्लो समय जलवायु परिवर्तनको असर यहाँको मौसममा पनि परेको बताउँछन् । भन्छन्, ‘समयमा हिउँ पर्दैन । परेको समयमा पनि अस्वभाविक रूपमा हिउँ पर्छ ।’ उनी यहाका स्थानीयको परम्परागत अनुमान पहिले सही हुने गरेको भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मेल खान छाडेको बताउँछन् । ‘पहिले स्थानीय अकाशमा कुहिरोको अवस्था र हावाको गती हेरेर हिउँ वा पनी पर्ने अनुमान गर्थे । त्यो अनुमान लामो समय सम्म मेल खाएको बुढा पाकाको अनुभव पनि छ । तर, पछिल्लो समय यो पूर्वानुमानले मेल खाँदैन । यसले यहाँका स्थानीयको दैनिकीमा नै असर गरेको छ,’ उनी भन्छन् ।

पछिल्लो समय ताप्लेजुङको हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तन सँगै धेरै कुरामा असर परेको छ । यसबाट स्थानीयले धेरै क्षति पनि बेहोर्नु परेको छ । स्थानी ५८ वर्षिय छिरिंग दोर्जी शेर्पा आपूmले यो उमेर सम्ममा मौसमको फरक–फरक रूप देखेको र त्यसले स्थानीयको दैनिकी र जीविकोपार्जनमा पनि प्रत्यक्ष असर गरेको बताउँछन् । ‘पहिले हाम्रा पुर्खा देखि नै कुहिरो हेरेर र हावाको चाप महसुस गरेर मौसम थाहा पाउन सक्थ्यौं । सबै कुरा ठिकै पनि थियो । तर, अहिले त्यसो हुँदैन । नसोचेको समयमा हिउँ पर्दा याक, चौरी हिउँले पुरिएर लामो समय बेपत्ता भएका छन् भने कति त मरेका पनि छन्,’ उनले भने, ‘यो मौसमकै कारण स्थानीयले ठूलो नोक्सानी बेहोरिरहेका छन् ।’

पछिल्लो समय अस्वभाविक रूपमा हिउँ पर्दा छिमेकी मुलुक भारतको उत्तरी सिक्किम र भुटानमा धेरै याक र चौरी मरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरे । ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रका स्थानीयले पनि यस्तो समस्या केही वर्ष यता भोग्दैछन् । स्थानीय नुपु शेर्पा नसोचेको समयमा हिउँ पर्दा वर्षेनी याक चौरी हराउने र मर्ने समस्या जिल्लाको ओलाङ्चुङगोला, याङ्मा र घुन्सामा देखिएको बताउँछन् । भन्छन्, ‘यहाँ पनि त्यस्तो समस्या छ । हामी खर्कमा चौरी र याक चरोस भनेर छाड्छौं । नसोचेको समयमा हिमपात र वर्षा हुन्छ । मान्छेको जीवन नै जोखिममा राखेर याक चौरी खोज्न जान्छौ । केही भेटिन्छन्, केही हराउँछन् । कति त पछि हिउँ पग्लेपछि मरेको अवस्थामा पनि भेटिएका छन् ।’

दशकौँदेखि अनियन्त्रितरूपमा हरितगृह ग्यास उत्सर्जन भइरहेका कारण नेपालका हिमाली क्षेत्रमा यसको ठूलो असर देखिएको छ । हिमपात र तापक्रम बृद्धि यहाँका समस्या हुन् । पछिल्लो समय फरक मौसमका कारण याक र चौरीमा विभिन्न रोग पनि देखिन थालेका छन् । यसले स्थानीयलाई आर्थिक रूपमा पनि ठूलो क्षति पुगेको स्थानीय शिक्षक ओम गौतम बताउँछन् । भन्छन्, ‘अहिले हिमाली क्षेत्रका पशुपालक कृषकका धेरै समस्या मौसममा आएको परिवर्तन सँग जोडिएको छ । पहिलेका खर्कहरूमा घाँस नउम्रनु, फरक फरक समयमा हिउँ पर्नु र पशुहरूमा विभिन्न किसिमका रोग देखिनु मुख्य समस्या हो । यसले किसानलाई ठूलो क्षति पुगेको छ,’ उनी थप्छन्, ‘जलवायु परिवर्तनको असर हो भने यसको अनुसन्धान गरेर समयमा यसबाट जोगिने उपाय यहाँका स्थानीयलाई बताउनुपर्छ ।’

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics