चैत १७ देखि तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला



काठमाडौंको भृकुटी मण्डपमा आगामी चैत्र १७ देखि २० गतेसम्म अन्तर्राष्ट्रिय पुष्प मेलाको आयोजना गरिएको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोसियसन नेपाल फ्यानले मेलाको आयोजना गर्न लागेको हो । मेलामा भारत, बंगालादेश, श्रीलंका, चीन, दक्षिण कोरिया लयायत अन्य मुलुकका पुष्प व्यवसायीहरुको सहभागिता  रहने छ ।

पुष्प व्यवसायको विकास र विस्तारसँगै पुष्प व्यवसायको प्रवद्र्दनका लागी फ्लोरा एक्सपोको आयोजना गरिएको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । पुष्प व्यवसायको प्रवद्र्दनमा फ्यानले समय समयमा पुष्प प्रदर्शनी व्यापार मेला कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

अन्तर्राष्ट्रिय रुपमा हुने यस्ता मेलाहरुबाट अन्य देशहरुमा हुने पुष्प व्यवसाय, यसकालागी प्रयोग गरिने प्रविधि लगायतका अन्य कुराहरु सिक्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, ‘नेपालमा पुष्प व्यवसायको विकास गरी पुष्प निर्यात कम गर्दे लैजानुपर्छ ।’ बर्षेनी ५ प्रतिशतका दरले पुष्प निर्यात कम गर्दे लैजाने लक्ष्य एसोसियसनले राखेको छ ।

तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो बाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले लिएको छ । साथै पुष्प व्यवसायको क्षेत्रमा भएका नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेलामा नै प्राप्त गर्न सकिने छ । प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरु मेलामा सहभागी हुने मेला संयोजक तथा बरिष्ठ उपाध्यक्ष दिलिप बादेले जानकारी दिए ।

यी प्रबिधीहरु पुष्प क्षेत्रलाई मात्र नभएर सम्पुर्ण व्यवसायीक कृषिका लागि समेत अतिनै उपयोगी हुने भएकोले कृषिसंग सम्बन्धित व्यवसायी, अध्ययन अध्यापन गर्ने गराउने तथा अनुसन्धानमा संलग्न संघ संस्था एवं व्यक्तिहरुलाई यो मेला उपयोगी हुने फ्यानका अध्यक्ष श्रेष्ठले बताए । एक्स्पो अबधि भरमा ६५ हजार अवलोकनकर्ता तथा ७५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा ७१ ओटा राष्ट्रिय र २८ ओटा अन्तर्राष्ट्रिय गरी ९९ सय ओटा स्टल राखिनेछ । ४५० भन्दा बढी मौसमि फूल, आलंकारिक बोट विरुवा, कट् फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्रि कक्ष रहनेछन् ।

मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाहरु विच प्रतिस्पर्धा गराई विभिन्न बिधामा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम राखिएको फ्यानले जनाएको छ । प्रतियोगिता हुने १० विधाहरुमा उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप ५) उत्कृष्ट पुष्प सजावट ६) उत्कृष्ट स्टल ७) उत्कृष्ट कट फ्लावर (रोज) ८) उत्कृष्ट कट फ्लावर (कार्नेशन, उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस) रहेका छन् । यसैगरि २०४२ सालमा स्थापना भई निरन्तर कार्य गर्दै आएको महाराजगंज, काठमाण्डौ स्थित महर्जन नर्सरीलाई कदर–पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।

नेपालमा बिक्रम संवत् २०११ मा नेपाल प्राइभेट नर्सरीको स्थापना भएपछि पुष्प व्यवसायको सुरुवात भएको पाइन्छ । हालसम्म ३९ जिल्लामा लगभग ६७८ पुष्प व्यवसाय बिस्तार भईसकेको छ । लगभग १४८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको छ ।

यस व्यवसायले आर्थिक वर्ष ०७२/७३ मा १ अर्व ५० करोड भन्दा माथिको कारोबार भएको छ भने ३ करोड भन्दा बढीको निर्यात र ९ करोड बराबरको पुष्पजन्य वस्तुको आयात भएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics