गुमानसिंहलाई चिनायो कृषिले

बाग्लुङ गलकोटका ४३ वर्षीय गुमान सिंह खत्री व्यवसायिक कृषक हुन् । उनले कृषि पेशाबाट नै आफ्नो राम्रो चिनारी बनाएका छन् ।

लामो समयसम्म शिक्षक पेशामा संलग्न रहेका खत्री गाउँकै प्रावि स्कुलमा पढाउँथे । प्रावि स्कुलबाट हुने आम्दानिले परिवारको गर्जो टार्न नसक्ने भएपछि उनले वि.सं २०५७ सालमा व्यवसायिक कुखुरा पालन सुरु गरे । तर पनि उनको व्यवसाय उनले सोचेको जस्तो भएन । कुखुरा व्यवसायबाट घाटा भएपछि वि.सं २०६३ मा उनी विदेश जाने तयारी गर्न थाले ।

बारी जोत्दै गुमानसिंह ।


‘विदेश जानकालागी पासपोर्ट बनाउन पहिलो पटक कोट र टाई लगाएर फोटो खिचेँ ।’ उनले हाँस्दै आफ्नो अनुभव यसरी सुनाए । जब उनि विदेश जाने सोचमा थिए त्यतिबेला गाउँमा नै उनले प्लाष्टिकको घरमा गोलभेँडा कसरी फलाउन सकिन्छ भन्ने तालीम लिने अवसर पाए । तालिम प्राप्त भएपछि उनमा विदेश जाने रहर सेलाउँदै गयो र उनले व्यवसायिक कृषिको थालनी गरे ।

‘प्लास्टिक घर भित्र पनि गोलभेडा फल्दो रहेछ भन्ने कुरा पहिलोपटक त्यहि तालिमबाट थाहा पाएको हुँ’ उनले भने । मधेसमा मात्र गोलभँडा फल्छ जस्तो लागेको थियो । आधुनिक प्लाष्टिक घर भित्र लटरम्म फलेको गोलभँेडा र ति फल फलाउने सफल किसानका कुरा सुन्दा उनको पास्पोट बनाउने र विदेश जाने रहर एकाएक हरायो ।

तालिमपछि उनी घर फर्कीए । बारीमा मकै रोपिएका थिए । उनले बारीका सबै हरिया मकै काटी १ सय २० बर्ग मिटरको प्लाष्टिको घर बनाए । र त्यहीँ उनले पहिलोपटक १६ जातको गोलभेडा लगाए । आधुनिक प्लाष्टिकको घर भित्र ९० दिनमा नै लटरम्म गोलभेँडा फलेपछि उनी निकै हर्षित भए ।

पहिलो पटक नै उनको बारीमा १८ क्विन्टल गोलभेँडा फल्यो । अन्तिम फल टिप्दा सम्म उनले गोलभेँडा गनिरहे । अन्त्यमा ७२ हजार गोलभेँडा जम्मा भएछ, उनी फुरुङ्ग भए । कृषि व्यवसायबाट नि धेरै कुरा गर्न सकिन्छ भन्ने अनुभव उनलाइ भयो । उनि भन्छन, ‘मलाई यो क्षेत्रले नाम र पैसा दुबै दिएको छ । म मात्र नभएर मैले मेरो छोरालाई पनि अहिले कृषि पढाई रहेको छु । उसलाई प्रविधिक कृषक बनाउने मेरो सपना छ ।’

दुई रोपनी जग्गाबाट सुरु गरेका कृषिकार्य हाल उनले ३० रोपनी जग्गा भाडामा लिइ सुरु गरेका छन् । सो जग्गामा गाई ,भैंसी , बंगुर दश वटा प्लाष्टिक घरमा गोलभेडा खेती र दिगो भू व्यवस्थापनमुखी मौसमी बेमौसी तरकारी खेती गरी तिन जनालाई रोजगार दिएका छन् । अहिले पोल्ट्री फर्ममा लागेको चार लाख ऋण तिरें १५ लाखमा हटिया बजारमा घर किनिसकेका छन् । अहिले उनलाई छोराछोरी पढाउन कुनै समस्या छैन । उनले वार्षिक ३ लाख बचत गर्ने गरेका छन् । गाविसले कृषि विकासका लागि पैशा छुट्याएर उनलाई बोलाएर तालिम दिन लगाउने गरेको छ ।

वि.सं २०५७ सालदेखि नै व्यवसायिक कृषि पेशामा संलग्न खत्रीले कृषि विकास मन्त्रालयको कृषि तथा व्यापार आयोजना (प्याक्ट) मार्फत १० लाख अनुदान समेत प्राप्त गरीसकेका छन् । उनी अहिले सफल कृषकका रुपमा परिचित भइसकेका छन् । दिगो भू व्यवस्थापनका प्रविधिको प्रयोग र अनुसरणबाट आफ्नो कृषि व्यवसाय राम्रो बनाउन सफल भएका खत्रीले आफ्ना समुदायमा समेत प्रविधिको प्रयोग र व्यवसायिक कृषिको बारेमा जनचेतना अभिबृद्धि गर्ने काम गरिरहेका छन् ।

व्यवसायिक कृषि सम्बन्धि जानकारी लिई कृषि व्यवसायमा संलग्न खत्रीले २०६६ सालमा अनुभवी अगुवा कृषकको सम्मान समेत पाएका थिए । त्यसपछि पनि उनले कृषिमा योगदान पुर्याए बापत विभिन्न सम्मान प्राप्त गर्दै आइरहेका छन् । हाल उनी गौमुखी कृषि विकास सहकारी संस्थाका सचिव रहेका छन् ।

अहिले गलकोटमा प्रत्येक वडामा किसानको समुह छ । त्यसैगरी सहकारी मार्फत किसानको हित हुने काममा उनी आवद्ध छन् । उनले आफ्नो खेति आधुनिकरणमा ध्यान दिदै मेसिन मार्फत खेती गर्न सुरु गरिसकेका छन् । विउ÷बिरुवा पसल साथै मासु पसल पनि आफैँले खोलेका छन् । उनी आफ्नो परिवारिक सहयोग पाएकोमा खुसी छन् । उनले सुरुवात देखी सुरु गरेको कृषि सहकारीमा ८ सय ४७ जना किसान आवद्ध छन् । उक्त सहकारीले कृषिमा लगानी गर्नको लागि ऋण उपलब्ध गराउने गरेको छ । १ लाख बाट सुरु गरिएको यो सहकारीले अहिले २ करोड भन्दा बढिको कारोबार गरिरहेको उनले जानकारी दिए ।

प्लाष्किको टहरामा फलाइएको गोलभेँडा


परम्परागत कृषि प्रणाली, अव्यवस्थित बजार, बालीमा लाग्ने रोग र जलवायु परिवर्तन नै कृषिको मुख्य चुनौति हो । उनले भने यसको बारेमा हामी आफैँ सचेत रहनु जरुरी छ । त्यसैगरी कृषिका लागी आज पनि हामी आकाशे पानिमा निर्भर छौँ । कृषि विकासको जे जति कुरा गरेपनि कृषकहरु अझै लाभान्वित बन्न नसकेको बताउँदै उनी भन्छन् ‘सरकारले निती पास गरेपनि पनि नाम मात्र भएको छ । कृषकहरुको हित हुने निती अझ पनि आएको छैन ।’

उनका अनुसार किसानलाई प्रविधिक बनाउनु आजको आवश्यकता हो । प्राविधिक बिना अब कृषी सम्भव छैन । उनी युवा साथीभाईलाई कुनै पासपोर्ट पनि नचाहिने, लाईसन्स पनि नचाहिने पेशा कृषि हो यसैमा लाग्न सल्लाह दिने गरेका छन् । दिनहुँ आफ्ना अनुभव सुनाउदै यस क्षेत्रलाई सम्मानित बनाउन अनुभवी अगुवा कृषक सञ्जाल मार्फत उनि सक्रिय देखिन्छन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics