तिहारका लागी ११ लाख मालाको माग

नजिकिदै गरेको तिहारका लागी कुल ११ लाख मालाको माग रहेको छ । जसमा उपत्यकामा मात्रै ६ लाख माला खपत हुन्छ भने उपत्यका बाहिर ५ लाख माला खपत हुन्छ ।



तिहारको माग अनुसार नेपालमा सयपत्री फुलको करिब ८० प्रतिशत नेपाली उत्पादन रहेको र २० प्रतिशत सयपत्री माला भारतबाट आयात गर्नुपर्ने देखिन्छ । फ्लोरिकल्चर एसोसियसन नेपालका कार्यक्रम संयोजक जेबी तामाङले भने ‘नेपालमा उत्पादित मालाले मात्र तिहारलाइ नपुग्ने हुँदा भारतबाट पनि आयात गर्नुपरेको हो ।’ मखमली र गोदावरीमा आत्मनिर्भर भइसकेको जानकारी गराउँदै उनले भने ‘सयपत्री फुलको माला मात्र आयात गर्नुपर्ने देखिन्छ ।’

तिहारको बेलामा उपभोक्ताले ५० रुपैयाँ देखि १०० रुपैयाँसम्ममा माला किन्न सक्छन् ।

भारतबाट आयात गर्दा प्रतिगोटा माला ३० देखि ३५ रुपैयाँसम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्ति लागतका आधारमा बजारमा उपभोक्ताले खरिद गर्दा ५० देखि १०० रुपैयाँ सम्म पर्न जाने एसोसियसनका संयोजक तामाङले बताए ।

नेपालमा हरेक बर्ष एक अर्ब भन्दा बढी मुल्य बराबर फुलको कारोबार हुने गरेको छ । तिहारमा मात्र सात करोड मुल्य बराबर मालाको कारोबार हुने गरेको छ । तिहारमा ११ लाख माला आवश्यक हुने गरेको छ भने अन्य समयमा विभिन्न प्रयोजनका लागी मासिक १२ हजार सम्म फुल खपत हुने गरेको छ ।

नेपालमा शहरीकरणको विकास सँगसँगै पुष्प व्यवसायको पनि विकास भइरहेको छ । पछिल्लो समय घर, आँगन, बगैंचा, पार्क, स्कुल, कार्यालय फूलले सजाउने क्रम बढ्ीरहेको छ । मौसमी फूलका बिरुवा र घर सजावटका विरुवाको बिक्री उल्लेख्यवृद्धि हुँदै गएकाले बजारमा फुलको माग बढ्दै गइरहेको छ ।
भारतबाट २ लाख माला आयात हुने
विगतमाझैं यस वर्षपनि तिहारको लागी भारतबाट २ लाख माला आयत हुने भएको छ । स्वदेशी फुलको उत्पादन बढ्न नसकेका कारण भारतबाट माला आयात गर्नुपरेको हो । फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजु श्रेष्ठले भने ‘तिहारका लागी नेपालमा ११ लाख मालाको माग रहेको छ । ९ लाख मालामात्र नेपालमा उत्पादन भएका छन् । बाँकी २ लाख माला भारतबाट ल्याइने भएको छ ।’

पछिल्लो समय नेपाल गोदावरी, मखमली लगायतका मालामा आत्म निर्भर भइसकेकाले सयपत्री माला मात्र भारतबाट आयात गरिने फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)का अध्यक्ष श्रेष्ठले बताए ।

तिहारको लागी ९ लाख सयपत्री र अन्य २ लाख मालाको आवश्यक पर्ने अनुमान गरिएको छ । सयपत्री फुलको आयात गर्नुपर्ने भएपनि नेपालबाट मखमली फुलको निर्यात हुने गरेको छ । नेपालबाट हरेक बर्ष ५० हजार भन्दा बढी मखमली फुलको माला अन्य मुलुकमा निर्यात हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics