५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य



सरकारले यो वर्ष ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ । चालू आर्थिक वर्ष २०७३/७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो अहिलेसम्मकै धेरै उत्पादन हो । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले भने, ‘यो वर्ष हामीले ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य राखेका छौँ ।’ मन्त्रालयका अनुसार सरकारले धानको आयातदर प्रतिस्थापन गर्न आगामी आर्थिक वर्षमा धानमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना समेत बनाएको छ ।

नेपालमा मनसुन भित्रिएसँगै रोपाई सुरु भएको छ । सामान्यतया जुन १० मा भित्रिने मनसुन यो वर्ष निर्धारित समयभन्दा दुई दिन ढिला गरी गत जेठ २९ (जुन १२) मा नेपाल भित्रिएको थियो । सुरुवातका दिनमा कमजोर रूपमा देखिएको मनसुन अहिले सक्रिय बन्दै गएपछि किसानहरू धान रोपाईमा व्यस्त हुन थालेका छन् ।

यो वर्ष औसतमा वर्षा हुने अनुमान मौसमविदहरुको छ । राम्रो वर्षा, उपयुक्त विउ विजनको प्रयोगले यो वर्ष पनि धान उत्पादन राम्रो हुने प्रक्षेपण कृषि विकास मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता कार्की भन्छन्, ‘यो वर्ष धान उत्पादन अझै वृद्धि हुनेमा विश्वस्त छौँ ।’ नयाँ नयाँ कृषि प्रविधि र उपकरणको प्रयोग, आवश्यक मल र बीउविजनले पनि कृषि क्षेत्रको विकास हुँदै गइरहेको छ । यसले गर्दा पनि कृषि उत्पादन बढ्दो अवस्थामा छ ।

नेपालका अधिकांश क्षेत्रमा किसानहरू अहिले पनि आकाशे पानीकै भरमा धान खेती गर्दै आइरहेका छन् । चालु आर्थिक वर्षमा राम्रो वर्षा भएको र मलको आपूर्ति पनि सहज रूपमा भएकाले धानको उत्पादनमा वृद्धि भएको थियो ।

नेपालमा उन्नत जातको बीउविजन भित्रिएसँगै धान उत्पादन बढ्दै गएको छ । वरिष्ठ धान विज्ञ भोलामान सिंहले भने, ‘नेपालमा पछिल्लो समय विकासे धान रोप्ने प्रचलनले पनि धान उत्पादन वृद्धि हुँदै गइरहेको छ ।’ सरकारले कृषिको विकासका लागि विभिन्न परियोजना ल्याएसँगै धान उत्पादन पनि बढ्न गएको हो । वृहत्तर, चैते तथा मसिनो र बास्नादार धान उत्पादन कार्यक्रम गतवर्षबाट लागू भएको छ । चैते धान रोप्ने प्रचलनले पनि धान उत्पादन बढ्दै गएको पाइन्छ ।

संसारमा करिब १ लाख ४० हजार प्रकारका धानकाे जात रहेको अनुमान अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी)को छ । सोमध्ये १ लाख १७ हजार प्रकारका जातहरु आफ्नो जीन बैंकमा सङ्कलन गरेकाे इरीले जनाएको छ । धान विज्ञ सिंहका अनुसार नेपालमा हालसम्म ८१ प्रकारका उन्नत धानको बीउ रहेका छन् ।

१५ लाख हेक्टरमा रोपाई


नेपालमा करिब १४ देखि १५ लाख हेक्टरमा धान उत्पादन गरिदै आएको छ । कृषि विकास मन्त्रालयले यो वर्ष पनि करिब १५ लाख हेक्टरमा धान रोपाई हुने जनाएको छ । गत आर्थिक वर्षमा पनि १५ लाख ५२ हजार हेक्टरमा धान रोपाइ भएको थियो ।

राम्रो वर्षा र उपयुक्त बीउविजनका कारण सर्वाधिक धान फलेको थियो । गत वर्ष नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा कृषिको योगदान ३१ प्रतिशत थियो । जसमा धानको मात्र २१ प्रतिशत रहेको छ । नेपालमा कुल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics