प्राकृतिक सौन्दर्यसँगै चन्द्रागिरी (फोटो फिचर)

प्रकृतिको अनुपम सुन्दरता कसलाई पो मन पर्दैन र ? छिनमै कुहिरो लाग्ने, छिनमै घाम लाग्ने र छिनमै वर्षा हुने यस्तै यस्तै किसिमको मौसम अवस्था रहने चन्द्रागिरी डाँडा प्राकृतिक रुपमा नै निकै सुन्दर र मनोरञ्जनात्मक छ । चन्द्रागिरी डाँडालाई नेपालको ऐतिहासिक थलोको रुपमा पनि चिनिन्छ ।

हाइकिङ गर्दै उक्लिनु पर्ने चन्द्रागिरी डाँडा अब उक्लिरहन नपर्ने भएको छ । पहाडि खोच र उकालो बाटो पार गर्दै पुगिने चन्द्रागिरी डाँडा अब १० मिनेटको केबलकारको यात्रामा थानकोटबाट सजिलै पुग्न सकिन्छ ।

काठमाडौंको अस्तव्यस्त सडक अनि जताततै फोहोरमैला र धुँवाधुलो । यहि अवस्थालाई हेर्दा लाग्छ सिङ्गो नेपालमा नै प्रदुषण बाहेक अरु केहि छैन । तर काठमाडौंकै थानकोटको दक्षिण पश्चिममा अवस्थित एक ठाउँमा त्यहाँ पुग्न सकिन्छ जहाँ हामीले कल्पना गरेको भन्दा पनि निकै चमत्कारिक मौसम अनुभुत गर्न सकिन्छ ।

धार्मीक र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरी डाँडा प्राकृतिक रुपले निकै सुन्दर रहेको छ । लगभग २६ सय मिटर उचाईमा रहेको चन्द्रागिरी डाँडाबाट सिङ्गो काठमाडौंलाई अवलोकन गर्न सकिन्छ । साथै मौसम सफा रहेको बेलामा यहिँबाट देख्न सकिन्छ उत्तरका हिमश्रृङ्खला पनि ।

भनिन्छ, चन्द्रागिरी डाँडा त्यो हो जहाँबाट पृथ्वीनारायण शाहले काठमाडौं (त्यतिबेलाको कान्तिपुर)को दृश्यावलोकन गरी काठमाडौंदेखि मोहित भएर काठमाडौंलाई आफ्नो बनाउने रणनिति तय गरेका थिए । चन्द्रागिरी डाँडामा पुग्ने जो कोहि पनि त्यहाँको वातावरणमा मोहित भईहाल्छन् ।

चन्द्रागिरीको अर्को विशेषता भनेको यहाँको मन्दिर हो । स्वस्थानि कथामा वर्णन गरिएअनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिड्दा यही स्थानमा निधार पतन भएको थियो । निधारलाई संस्कृतमा ‘भाल’ भनिने भएकाले यस मन्दिरलाई भालेश्वर नामले चिनिने गरिएको छ । यस मन्दिरमा इच्छा गरिएको कुरा प्राप्त हुने जनविश्वास रहेको छ । यहि विश्वासका कारण यस मन्दिरलाई इच्छापुरेश्वर मन्दिरका रुपमा पनि चिनिन्छ ।

मौसमि विशेषता र भौगोलिक रुपले निकै सुन्दर यस चन्द्रागिरी डाँडामा काठमाडौं फनपार्क लिमिटेडले केबलकार सञ्चालनमा ल्याएपछि यहाँको वातावरणमा अझ बढी रौनकता थपिएको छ । केबलकार चढ्ने र यहाँको मौसम अवलोकन गर्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या बृद्धि भएको छ ।

विदाको दिनमा केबलकार चढ्ने र चन्द्रागिरीको अबलोकन गर्ने मानिसको भिँड लाग्ने गरेको छ । विदाको दिनमा ३ हजार भन्दा बढि मानिस केबलकार चढ्न आउने गरेका छन् भने हालसम्म ३० हजार भन्दा बढिले केवलकार चढिसकेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको एउटा केन्द्बिन्दु बनेको छ, चन्द्रागिरी डाँडा । हाल थानकोटबाट चन्द्रागिरी सम्म पुग्ने केबलकारमा ३८ वटा ग्वान्डला सञ्चालनमा रहेका छन् । ग्वान्डलामा ८ जना सम्म यात्रु चढ्न सक्छन् ।

त्रिभुवन राजमार्गबाट लगभग १ किलोमिटरको दुरीमा केबलकारको बटम स्टेशन राखिएको छ । बटम स्टेशनको करिब साढे २ किलोमिटरको उचाईमा केबल तार टाँगि केबलकार सञ्चालन भईरहेको छ । थानकोटको एउटा चुचुरोबाट चन्द्रागिरीको डाँडामा पुग्न केबलकारले सामान्यतया १० मिनेट समय लगाउने गरेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics