वन तथा वातावरणमा डा. ओली


 

सरकारले वन तथा वातावरण मन्त्रालयको सचिवमा डा. विश्वनाथ ओलीलाई पठाएको छ। वन सेवाका बरिष्ठतम् सचिव ओलीलाई सरकारले पशुपंछी मन्त्रालयबाट वन तथा वातावरणमा सरुवा गरेको हो ।ओलीले यसअघि पनि वन तथा भू संरक्षण मन्त्रालय र वातावरण मन्त्रालयमा सफल सविचको भूमिका निर्वाह गरिसकेका छन् । वन विज्ञानमै विद्यावारिधि गरेका ओली वन तथा वातावरणको क्षेत्रमा अन्तर्राष्टिय क्षेत्रमासमेत ख्याती कमाएका विज्ञ हुन् । रेञ्जरबाट वन सेवामा प्रवेश गरेका ओली २०७३ वैशाखमा सचिवमा बढुवा भएका थिए । उनी उमेरका हिसावले नेपाल सरकारका सबैभन्दा कान्छा सचिवसमेत हुन् ।

मैले कर्म गरेँ । सरकारले मलाई फुल्ने र फल्ने वातावरण दियो -डा. ओली

म जुन अवस्थामा आइपुगेको छु,यसमा मेरो मिहिनेत, समर्पण र लगनशीलताले नै बढी काम गरेको छ।मेरो मान्यता छ, जिन्दगीलाई कहिल्यै पनि ‘कम्लिकेटेड’ बनाउनु हुँदैन । सहज किसिमले बाँच्ने प्रयास गर्नुपर्छ । म नेपाल सरकारको सचिव हुँ तर तपाईं मेरो घर आउनुभयो भने देख्न सक्नुहुन्छ, सादा जीवन उच्च विचारप्रति मेरो प्रतिबद्धता । मलाई लाग्छ, जीवनलाई सकेसम्म सादा बनाउनुपर्छ, बढी रंगीचंगी र बिलासी त क्षणिक हो ।

म रेन्जरबाट जागिरमा प्रवेश गरेको हुँ । मैले जिन्दगीको लामो गोरेटोमा कहिल्यै ठूलो महत्वाकांक्षा राखिनँ । त्यसको अर्थ आकांक्षाहरू राखिनँ भन्ने होइन ।आकांक्षा राखेँ र सोहीअनुसार लगनशील हुँदै, कर्म गर्दै अघि बढेँ ।त्यसैले होला, मैले जीवनमा खासै असफलता भोग्नुपरेको छैन । त्यसैले आफूलाई निकै भाग्यमानी पनि ठान्छु ।मैले कर्म गरेँ । सरकारले मलाई फुल्ने र फल्ने वातावरण दियो । त्यसैले पनि नेपाल सरकारप्रति सदा समर्पित भइरहन सकूँजस्तो लाग्छ । मैले आफ्नो जीवन देशकै सेवामा बिताउने सोच बनाएको छु । निजामती सेवामा रहेर मैले कति गरेँ, त्यो राज्यले मूल्यांकन गर्ने हो तर मैले राज्यबाट धेरै पाउन सफल भएको छु । त्यसैले मैले असन्तुष्टि व्यक्त गर्ने कुरै छैन । मैले देशप्रति कृतघ्न बन्न मिल्दैन।म बाल्यकालदेखि नै जिन्दगीलाई सफलतातर्फ डोहोर्या‍उनुपर्छ भन्ने मानसिकता राख्थेँ । कापी–किताबमा बढी ध्यान दिन्थेँ।अलि जान्ने भएकालाई गाउँघरमा डाक्टर-इन्जििनियर बन्नुपर्छ भन्ने एक किसिमको दबाब हुन्थ्यो। पढाइमा सधैँ अब्बल भएकाले होला घर परिवार र छरछिमेक सबैले डाक्टर बन्नुपर्छ भन्थे । तथापि, बाल मस्तिष्कमा ठ्याक्कै यही बन्छु भन्ने थिएन । मात्र पढ्नमा भने निकै ध्यान दिन्थेँ।

बुबा गाउँमै शिक्षक हुनुहुन्थ्यो । बुबाको प्रेरणाले पढ्नमा बढी ध्यान गयो।१ देखि ७ सम्म कक्षाप्रथम नै भएँ।गाउँको स्कुलमा सात कक्षासम्म मात्रै पढाइ हुन्थ्यो, ८ कक्षा पढ्न अलि टाढा रहेको स्कुलमा जानुपथ्र्यो । नयाँ स्कुलमा गएपछि पनि म प्रथम नै भएँ।९ र १० मा पढ्दा सहपाठी सधैँजसो म कहाँ पढ्न आउँथे । म उनीहरूलाई सिकाइदिन्थेँ ।सिकाउँदा झनै ज्ञान बढ्थ्यो । हामी चार दाजुभाइ र दुई दिदी–बहिनी।एकजना दाइबाहेक बाँकी पाँचजना प्रथम, द्वितीय नै हुन्थ्यौँ । त्यसैले गाउँका सबैले हाम्रो परिवारलाई मान्थे ।२०४२ सालमा भण्डारा स्कुलबाट एसएलसीमा हामी पाँचजना मात्रै पास भएका थियाैँ। पास भएकामध्ये मेरो मात्रै प्रथम श्रेणी थियो।प्रथम श्रेणीमा उत्तीर्ण भएपछि छरछिमेकी र आफन्तको दबाब बढ्यो, डाक्टर बन्नुपर्छ भन्ने । म काठमाडौं आएँ । त्रिचन्द्र क्याम्पसमा आइएस्सीमा भर्ना भएँ । डाक्टर बन्ने लक्ष्यका साथ मिहिनेतले पढ्न थालेँ ।

तथापि, घर–परिवारकै सल्लाहमा मैले हेटौंडाको वन विज्ञान क्याम्पसमा पनि फर्म भरेको थिएँ। केही आफन्तले वन विज्ञान पढ्नासाथ जागिर पाइन्छ, फाल्तु बस्न पर्दैन भन्ने सल्लाह दिएका थिए । घर–परिवारले पनि यसमा समर्थन जनाएपछि मैले त्यहाँ फर्म भरेको थिएँ ।नभन्दै नाम निस्कियो ।चाँडै नै जागिर खान पाइने आशाले मलाई हेटौंडा डोर्या‍यो।त्यता लागेपछि मेरो जीवनको कोर्स नै परिवर्तन भयो। त्यतिखेर हेटाै‌ै‌‌‍डास्थित वन विज्ञान क्याम्पसमा प्रायः मधेसी मूलका विद्यार्थी बढी पढ्न आउँथे।२०४४ देखि भने हामीजस्ता पहाडे मूलका विद्यार्थीको संख्या बढ्यो।२०४५ सम्म आइएस्सी फरेस्ट्री अध्ययन गरेँ । त्यो पनि प्रथम श्रेणीमै उत्तीर्ण गर्न सफल भएँ। त्यतिखेर रेन्जरको जागिरमा धेरै अवसर थियो । सुदूरपश्चिम, मध्यपश्चिम क्षेत्रमा रेन्जरका लागि ६०–७० जनाको माग हुँदा तीन–चारजनाले मात्रै परीक्षा दिन्थे।तर, मलाई टाढा जान मन लागेन । काठमाडाैँमा दिदीदाइ बस्नुहुन्थ्यो । काठमाडौं बस्न थालेँ ।के गर्ने होला भन्ने लागिरहेको थियो, हेटाैँडा क्षेत्रबाट अस्थायी रेन्जर माग भयो । त्यहाँबाट रेन्जरको अस्थायी नियुक्ति ल्याएर डेढ महिना भक्तपुरमा नै जागिर खाएँ ।

केही महिनापछि वन विभागमा स्थायी रेन्जरमा नाम निकाल्न सफल भएँ।२०४६ जेठमा निजामती सेवामा प्रवेश गरेँ । त्यसवेला म १९ वर्षको थिएँ । जेठ२०५० देखि २०५२ फागुनसम्म बिएस्सी पढेँ । डिस्टिङ्सनमा उत्तीर्ण भएँ । अधिकृतका आन्तरिक परीक्षामा जनरल फरेस्ट्री,रिसर्च,भूसंरक्षण र वाइल्डलाइफ गरी चारवटै समूहमा परीक्षा दिएँ । तीनवटामा नाम निकाल्न सफल भएँ । रिसर्चको अन्तर्वार्ता सबैभन्दा पहिला भयो । ६ जनामा मेरो मात्रै नाम निस्कियो ।त्यसपछि अर्को समूहमा सहभागी हुनै परेन ।२०५५ मा मास्टर्स पढ्न नर्वे गएँ।त्यसवेला पनि सरकारको मनोनयनबाट होइन, ग्लोबल कम्पिटिसनमा उत्तीर्ण भएर गएको हुँ ।

०६५ को पुसतिर डेनमार्र्कमा पिएचडीका लागि छात्रवृत्ति पाउन सफल भएँ।यता त्यही वेला सहसचिवको अन्तर्वार्ताको समय थियो । छात्रवृत्तिको समय सार्न लगाए । त्यही समयमा क्यानडामा गएर पिएचडी गर्ने अवसर पनि आएको थियो।क्यानडाको पिएचडी राम्रो मानिन्छ। सहसचिवमा नाम निस्किएन भने जागिर छाडेर परिवारसहित क्यानडा जाने सोच बनाएको थिएँ। तर,सहसचिव भइयो ।सहसचिव भएपछि साथीभाइले क्यानडा नजान सुझाब दिए।त्यतिखेर सहसचिवमा नाम ननिस्किएको भए म अहिले क्यानडामा हुन्थेँ।सचिव हुने अवसर पाउँदैनथेँ।निजामती क्षेत्रमा रहनैपर्ने मेरो भाग्यका कारण होला, सहसचिवमा नाम निस्कियो।क्यानडा जान परेन ।अध्ययन बिदा लिएर पिएचडीका लागि डेनमार्क गएँ । त्यहाँ जति धेरै मिहिनेत गर्यो‍, उति चाँडै पिएचडी कोर्स गर्न सकिन्थ्यो।आठै महिनामा कोर्स पूरा गरेँ।प्रपोजल पनि समयमा नै सकेँ । डेनमार्क, स्विडेन र नर्वेमा पिएचडी विद्यार्थीलाई धेरै महत्व दिइने रहेछ । २०६६ मंसिरमा कोर्स पूरा गरेर स्वदेश फर्के। म आफूलाई निकै भाग्यमानी ठान्छु । यथा समयमा बढुवा हुँदै आएँ । २०७० वैशाखमा वन विभागको महानिर्देशक भएँ । त्यहाँ १६ महिना काम गरेँ ।

ब्युरोक्रेसीमा एक्लै हिँडेर सफल भइँदैन।यो भनेको टिम वर्क नै हो।तथापि, लिडिङ रोल त राजनीतिक नेतृत्वको नै हुन्छ।एकजनाले मात्रै चाहेर हुँदैन। मेरो निजामती सेवाको हालसम्मको अनभुवलाई हेर्ने हो भने यहाँ धेरैजसो कर्मचारी लोभीपापी छन्।कर्मचारीहरू ढोकाबाट प्रवेश गर्नासाथ नै के भन्न आए भन्ने प्रस्ट बुझिन्छ । कहिलेकाहीँ सुधार गर्न खोज्दा एक्लो बृहस्पति भइएला भन्ने चिन्ताले दिक्दार लागेर आउँछ । काम गरेर मलाई के हुन्छ र भन्ने सोच आमकर्मचारीमा रहेको पाइन्छ यो सोचाइको अन्त हुन जरुरी छ ।

सचिव पद निजामती क्षेत्रको सर्वोच्चमध्येकै हो। सुरुमा २०७२ भदौमा सचिवको सिफारिसमा परेको थिएँ।त्यतिखेर म दिल्लीमा थिएँ।गएको भोलिपल्ट राति सचिवका लागि सिफारिस भएको खबर पाएँ । साथीभाइले फोन गरेर सिफारिस भएकाले तुरुन्तै आउन सुझाब दिए।त्यसवेला सिफारिस हुन्छु भन्ने सोचेकै थिइनँ।उमेर पनि छ भन्ने थियो। तथापि, सिफारिसमा परेपछि सचिव हुन पाए हुन्थ्यो भन्ने लाग्ने नै भयो।

तर, सचिव बन्न सकिएन।सिनियर साथी नै सचिव बन्नुभयो । दोस्रोपटक सिफारिस गर्ने वेला भयो । यसपटक मेरो नाम एक नम्बरमा नै परेकाले बढी आशा थियो । अन्ततः २०७३ वैशाखमा वरिष्ठताका हिसाबले पनि मलाई मन्त्रिपरिषद्ले सचिव बनायो ।सचिव भएपछि पनि राम्रो मन्त्रालयका लागि धाउने काम गरिनँ । जहाँ खाली छ, त्यहाँ नै गएर काम गर्नुपर्छ भन्ने मान्यता हो । खाली रहेको जनसंख्या तथा वातावरण मन्त्रालयमा जिम्मेवारी पर्यो‍ । मैले पनि सहर्ष स्विकारेँ । हालसम्म यसैमा छु ।

जागिरमा प्रवेश गर्दा सरकारको सचिव हुन्छु र पिएचडी गर्छु भन्ने कुनै कल्पना नै थिएन । त्यसैले जिन्दगी एउटा संयोग पनि हो जस्तो लाग्छ । जिन्दगीमा अनेक चुनौती र समस्या भोग्नुपर्‍यो । तर, म सकारात्मक सोच राख्ने व्यक्ति भएकाले चुनौतीलाई सामना गर्दै अघि बढेँ ।म सचिव पनि भएँ र पिएचडी पनि गर्न सकेँ । मलाई यो प्लेटफर्म उपलब्ध गराइदिएको नेपाल सरकारले नै हो । तसर्थ, मेरो जिम्मेवारी सरकारप्रति नै हुनुपर्छ । सरकारले मलाई ठूलो गुन लगाएको छ । मैले त्यो तिर्नुपर्छ । मलाई बाहिरबाट धेरै खालका अफर नआएका होइनन् तर म कृतघ्न हुनु हुँदैनथ्यो, हुनु हुँदैन पनि । म यहीँ रहेर देश र देशवासीको सेवा गर्नुपर्छ भन्ने मान्यतामा अडिग छु । जति सकिन्छ, यहीँ सेवा गरौँ भन्ने मान्यतामा छु । त्यसो गर्न सकेँ भने मात्रै मैले मेरो जिन्दगी सार्थक भएको महसुस गर्न सक्नेछु ।

कर्म गर्दै अघि बढेपछि फल प्राप्त गर्न कठिन हुँदैन । यो सर्वोपरि मान्यता नै हो । त्यसैले म पनि जिन्दगीलाई योभन्दा पृथक् किसिमले हेर्न सक्दिनँ । जिन्दगी एउटा कर्म हो । मलाई जिन्दगी लगनशीलताको डोरीमा उनिएको एउटा माला हो जस्तो लाग्छ । ४६ वर्षको अनुभवको कटु सत्य के हो भने जीवनलाई सधैँ ऊर्जाशील बनाउँदै अगाडि लैजानुपर्छ । जिन्दगी जिम्मेवारीबोध हो । जिम्मेवारीबोधले नै मानिसलाई सफलता चुम्न सहज बनाउँछ । मेरो अर्को अनुभव के हो भने मानिसको जिन्दगी सफल बनाउन सबैभन्दा महत्वपूर्ण पक्ष पारिवारिक वातावरण हो । पारिवारिक वातावरण सकारात्मक, सहयोगी र अनुकूल हुन सके जिन्दगी सफलताको गोरेटोतर्फ अगाडि बढ्न सक्छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics