पाँचथरमा आधुनिक अलैंची भट्टीप्रति किसानको मोह
- नेचर खबर

पाँचथर फालेलुङ गाउँपालिका अलैँची कृषकहरूलाई अलैंची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीप्रति आकर्षित हुन थालेका छन् ।
अलैंची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने, सुकाइएको अलैंचीमा प्राकृतिक रङ र वासना हुने भएकाले किसानहरू आधुनिक प्रविधिप्रति आकर्षित भएका हुन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ पाँचथरको आर्थिक तथा प्राविधिक सहयोग पश्चात् जिल्लाको फालेलुङ वडा नम्बर २ र ७ का कृषकहरूले आधुनिक भट्टि बनाएपछि उनीहरूलाई सहज भएको छ ।
परम्परागत भट्टि भन्दा अहिलेका आधुनिक भट्टि निर्माण भएपश्चात् दाउरा कम लाग्ने,श्रमिक कम लाग्ने,अलैँची पनि राम्रो सँग सुक्ने र अन्य भट्टिको तुलनामा यस भट्टि बाट अलैँची सुकाउँदा मूल्य समेत राम्रो पाउने भएको हुँदा आफूहरुलाई सहज भएको फालेलुङ ७ का कृषक पदम रिजालले बताए।
परम्परागत भट्टीमा सुकाइएको अलैंची कालो रङ हुने भएकाले व्यापारीहरूले समेत प्राकृतिक रङ भएकै अलैंची खोज्ने गरेका छन् । कम समयमा सुक्ने भएकाले यसमा ओजन समेत बढ्ने उनीहरूको बुझाई छ ।
आधुनिक भट्टीमा २ सयदेखि ४ सय किलोसम्म काँचो अलैंची सुकाउने सकिन्छ । १० घण्टामा डेढ मन काँचो अलैंची सुकाउन सकिने सो भट्टीमा अलैंची सुकाउँदा अलैंचीको प्राकृतिक रङ र मौलिक वासना कायम हुने, दाउराको खपत कम हुने, अलैंची फुट्ने र धुँवा कम मात्र निस्कने गर्नाले प्रभावकारिता बढेको पाइन्छ ।
पाँचथरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन पाँचथरका कृषि अधिकृत प्रकाश विश्वकर्माले जिल्लामा ५७ वटा आधुनिक अलैंची भट्टीहरु सञ्चालनमा आएको मध्ये ३० वटा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र अन्य १७ वटा जिल्ला कृषि विकास कार्यालयमार्फत वितरण भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस