कपिलवस्तुका किसानले ५० प्रतिशत धानको बीउ जोगाए



धानवाली रोपाईका लागि कपिलवस्तुका किसानले करिब ५० प्रतिशत बीउ जोगाएर राखेका छन् । सिँचाइ सुविधा नहुँदा बर्षेनी अकाशे पानीको भरमा धानको  रोपाई गर्दै आएका स्थानीय किसानले असारमा हुने रोपाईका लागि बीउ जोगाएर राखेका हुन् ।

कपिलवस्तु राजमार्ग उत्तरका अधिकांश किसानले धानको बीउ सुरक्षितसाथ राख्न सफल भएका छन् । दक्षिण भेगका किसानले बिस्तारै बीउ जोगाउने अभियानमा लागेका छन् । अन्न भण्डारका रूपमा समेत परिचित कपिलवस्तुको दक्षिणी भेगका किसानहरू अहिले धमाधम धान रोपाइँ गर्न खेतको तयारीमा जुटेका छन् । केही दिन अघिदेखि अकाशे पानी पर्न सुरु भएपछि किसानले रोपाईका लागि आवश्यक तयारीमा जुटेका हुन् ।

धानको बीउ जोहो गरेर राखेपनि समयमा अकाशे पानी नपर्दा प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको रोपाई गर्न बर्षेनी किसानले दुःख व्यहोर्नुपरेको छ । बर्षेनी किसानले सिंचाई सुविधाको चर्को अभाव व्यहोर्न बाध्य भएपनि सरकारले सिंचाईको बैकल्पिक व्यवस्थाको व्यवस्थापनमा ध्यान दिएको छैंन् ।

कपिलवस्तुमा कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टरमध्ये झन्डै ७२ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइने जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । डिभिजन सिचाई कार्यालय तौलीहवाका अनुसार पछिल्लो समय केही सिचाई आयोजना सञ्चालनमा आएपछि जिल्लाको कुल खेती योग्य जमिनमध्ये ३५ हजार हेक्टर जमिन मात्रै सिञ्चित हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics