ताप्लेजुङमा यो वर्ष २३ हेक्टर वनमा लौठ सल्ला रोपिने
- नेचर खबर

पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा यो वर्ष २३ हेक्टर वनमा लौठ सल्लाको विरुवा रोपिने भएको छ । जिल्ला बन कार्यालयको जडिवुटि विकास कार्यक्रम मार्फत जिल्लाका २१ किसानको नीजि वनमा लौठ सल्ला रोप्न लागिएको जिल्ला वन कार्यालय ताप्लेजुङले जनाएको छ । अहिले छनौट भएका २१ कृषकहरु संग सम्झौताको काम भईरहेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले बताए ।
विष्णुलालका अनुसार जडिवुटि विकास कार्यक्रम अन्तरगत विनियोजित १२ लाख ३५ हजार रुपैँया रकमबाट लौठ सल्लाको विरुवा खरिद गरि किसानलाई वितरण गुर्नका साथै प्राविधिक सहयोग समेत उपलब्ध गराइने छ ।
प्रति हेक्टर क्षेत्रफलमा ६ सय ५६ विरुवा रोपिने छ भने यसका लागि जिल्ला बाहिरबाट विरुवा खरिदको तयारी भएको छ । जिल्ला भित्रै विरुवा उत्पादन सुरु गरे पनि रोप्न योग्य भईनसकेकाले बाहिरबाट विरुवा ल्याउन लागिएको हो ।
परम्परागत रुपमा विभिन्न रोगको उपचारमा प्रयोग हुँदै आएको लौठ सल्ला विभिन्न अर्वुद रोगको उपचारमा समेत काम लाग्ने पुष्टि भए संगै यसको महत्व बढेको छ । लौठ सल्लाको संरक्षण संगै जैविक विविधताको समेत संरक्षण हुने साथै व्यवसायिक खेती गरे आयआर्जनमा समेत टेवा पुग्न सक्ने कार्यालयको विस्वास छ ।
प्रतिक्रिया दिनुहोस