चितुवाकाे आक्रमणबाट २३ जनाको ज्यान गयो



मानव र वन्यजन्तुबीच द्वन्द्व सिर्जनाका कारण पछिल्ला सात वर्षको अवधीमा बैतडीमा २३ जनाको ज्यान गएको छ । चितुवाको आक्रमणमा परी २३ जनाको ज्यान गएको हो ।

जिल्ला वन अधिकृत प्रभात सापकोटाकाअनुसार मुख्य गरी चितुवा र मानवबीच द्वन्द्व सिर्जना भएको हो । मानव र वन्यजन्तुबीच द्वन्द्वका कारण मानव समुदाय र बस्ती अहिले त्रासमय वातावरणमा बाच्न विवश भएको सापकोटाले जानकारी दिए । ‘वन्यजन्तुहरु बस्ने बासस्थान क्रमशः नष्ट हुँदै जान थालेपछि द्वन्द्व बढेको हो,’ उनले भने ।

सापकोटाकाअनुसार चितुवा मात्रै नभएर पछिल्लो समयमा बाँदर, बँदेल, स्याललगायतका जंगली जनावरका कारण पनि मानवका विभिन्न गतिविधीमा अवरोध सिर्जना हुँदैआएको छ । जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामचन्द्र लामाका अनुसार वन्यजन्तुहरूले बालीनालीमा समेत असर पार्न थालेको छ । जिल्ला वन कार्यालयका अनुसार बैतडीमा वनजंगलको क्षेत्र बढ्दै गएपनि घना जंगल भने घट्दै गएको छ । यसले गर्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको हो ।

जनसंख्या वृद्धिसँगै प्राकृतिक स्रोत माथिको बढ्दो मागका कारण वन जंगलमा चाप बढ्दै जाँदा त्यस वनमा आश्रय लिएर बस्ने विभिन्न किसिमका वन्यजन्तुको वासस्थान जोखिममा पर्न थालेको छ । यसले गर्दा मानव र वन्यजन्तु बीच खाना र वासको लागी द्वन्द्व उत्पन्न भइरहेको लामाले जानकारी दिए ।

मानव चेतनशिल प्राणी भएकाले चितुवा–मानव द्वन्द्व न्यूनिकरणको लागी मानवको नै प्रमुख जिम्मेवारी भएकाले चितुवाको आहाराको र वासस्थानको विनाश रोकथाम मात्रै गर्ने हो भने धेरै हदसम्म यस्ता प्रकारका द्वन्द्व समस्या समाधान हुने बताइएको छ । यस्ता समस्या समाधान भएको अवस्थामा चितुवा मानव वस्तीभित्र प्रवेश नगर्ने र द्वन्द्व पनि सजिलै समाप्त हुने वन अधिकारीहरूको भनाई छ ।

चितुवाले २०६८ सालयता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रशासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बन रक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकेर रित्तो हात फर्कने गरेको छ । चितुवाले सबैभन्दा बढी महिला तथा बालबालिकालाई आक्रमण गर्ने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics