सगरमाथा उचाइ मापन टोलीलाई ओलीले गरे बिदाइ



प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज बिदाइ गरेका छन् ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली बुधवार त्यस तर्फ जाँदै छन् ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान आयोजित शुभकामना तथा बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवेदन आधिकारिक हुने जानकारी दिए ।

“नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला ” प्रधानमन्त्री ओलीले भने“तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।”

प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिएका छन् । तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।

“लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ” प्रधानमन्त्री ओलीले भने “गाइडको निर्देशन पालना गर्नुहोला ।”

सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । बिदाइ कार्यक्रममा मन्त्री पद्मा आर्याल पनि थिए । सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics