‘सार्वजनिक शिक्षा सुधार्न समुदाय सक्रिय हुनुपर्छ’

विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कार्यक्रममा शिक्षाविद्लगायतले सार्वजनिक शिक्षाको खस्कँदो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति डा. केदारभक्त माथेमाले सार्वजनिक शिक्षाको बिग्रँदो अवस्थालाई हस्तक्षेप गर्न समुदाय सक्रिय हुनुको विकल्प नहरहेको बताए ।‘सार्वजनिक विद्यालयमा भर्ना भएका एक सय विद्यार्थीमध्ये जम्मा २० जनाले मात्र उच्चमावि तह पूरा गर्छन्,’ माथेमाले भने, ‘विद्यार्थी हराउने यो दर निकै नै डरलाग्दो छ ।’ माथेमाले जसरी कुनै औद्योगिक उत्पादकको ८० प्रतिशत उत्पादन खेर गयो भने सो उद्योग फस्टाउन सक्दैन त्यसैगरी देशका जनशक्ति यसैगरी वषौंदेखि खेर गइरहँदा देश सप्रन नसक्ने तर्क गरे ।

सार्वजनिक शिक्षा सुधार गर्ने उद्देश्यले गठित विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानले सानै भए पनि राम्रो काम गर्न सकोस् भन्दै माथेमाले भने, ‘समुदायको प्रतिनिधित्वि गर्दै यस्तै संस्था आउनु जरुरी छ । यस्ता संस्थालाई हामीले सहयोग गर्ने मात्र होइन निगरानी पनि गर्नुपर्छ ।’

विश्व निकेतन माविका पूर्वप्रधानाध्यापक गम्भीरमान मास्केको जन्म दिन पारेर गत शुक्रबार जेठ १७ गते उनीद्वारा लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंगेजी संस्करण ‘लिंगरिङ इमेज अफ माइ डे ड्रिम्स्’को विमोचन कार्यक्रममा वक्ताहरुले आफ्नो धारणा राखेका हुन् । सो पुस्तकको अंग्रजी अनुवाद प्रा. डा् तेजरत्न कंसाकारले गरेका हुन् । कार्यक्रममा अनुवादकलाई सम्मान गरिएको थियो । अनुवाद प्राडा कंसाकारले भने, ‘गम्भीरमान मास्केको शिक्षाप्रति निस्वार्थ लगाव मात्र थिएन । उनको बुझाइ पनि धरै नै फराकिलो थियो ।’

कार्यक्रममा प्रस्तावित विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानका कार्यक्रम र अद्देश्यबारे सुरज पौड्यालले प्रकाश पारेका थिए । ‘गुणस्तरीय शिक्षाका लागि हातेमालो भन्ने उद्देश्यसाथ हामी सार्वजनिक शिक्षामा केही सुधारका लागि प्रयाशरत हुनेछौं,’ पौड्यनलले भने, ‘हाम्रो यो प्रयाशमा सबै तह र तप्काबाट सहयोगको अपेक्षा छ ।’

कार्यक्रममा बोल्दै विश्वनिकेतन माविका पूर्वप्रधानाध्यापक सत्यनारायण राजभण्डारीले मास्केको सुशील, सहृदयी र विद्यार्थीलाई मायालु पाराले उत्प्रेरित गर्ने गुणबाट सबैले प्रेरणा लिनुपर्ने बताए । मास्केको समवयी मित्र उद्योगपति हेरम्बराज राजभण्डारीले मास्केमा सेवाभाव उच्च रहेको बताउँदै विद्यार्थीमा मानवता विकास गर्ने विलिक्षण गुण रहेको बताए ।

विश्व निकेतन माविका सञ्चालक समिति अध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी गोपाल श्रेष्ठले मास्केलाई ‘इमान्दार तथा मानवताका प्रतिमूर्ती’ भन्नु उपयुक्त हुने बताउँदै प्रतिष्ठानले मास्केले खडा गरेको ‘लिगेसी’लाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे ।

प्रतिष्ठानले मास्केको तिथिका दिन मंसिर १६ गते विद्यालय परिसरमा अर्धकदको सालिक राख्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । संस्थाले विश्ननिकेनत लगायतका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने, शिक्षक उत्पे्ररणा तालिम दिने, शिक्षक अनुभव आदानप्रदान कार्यक्रम गर्ने लगायतका वैकल्पिक सिकाइका विधिलाई कार्यान्वयन गर्ने कार्यक्रम रहेको संस्थाद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

शिक्षासेवी मास्केको ८८ वर्षको उमेरमा गत वर्ष मंसिर १६ गते स्वर्गारोहण भएको थियो । २०१७ सालमा माध्यामिक शिक्षकको रुपमा विश्वनिकेतनमा प्रवेश गरी २०२३ देखि २०५२ सम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका मास्के एक अनुकरणीय शिक्षासेवी थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics