स्याङ्जामा भदौमै सुन्तला पाकेपछि…
- नेचर खबर
गल्याङ (स्याङ्जा) – स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनकाको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
अर्यालको फार्ममा सुन्तला बगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । उनले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन् ।
शान्ति कफी टे«ड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन् । सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिए । “उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्”, उनले भने, “अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन् ।”
उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने उनले बताए । “बेमौसममा फलेका कारण स्याउको मूल्यमा बिक्री हुन्छ”, कृषक अर्यालले भने, “अहिले घरमा आउने पाहुनालाई खुवाउने र कोसेलीका रुपमा दिने गरेका छौँ ।” उनले उन्सु जातका सुन्तलाले एक÷दुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताए ।
“कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए”, उनले भने, “सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु ।”
अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए । अर्यालको फार्मका उत्पादन वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन् । उनले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको बताए । उनले पुतलीबजार–१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बनाएका छन् ।
उनले उत्पादन गरेको सुन्तला काठमाडाँै, बुटवल, भैरहवालगायतका स्थानमा निर्यात हुने गरेको छ । कृषि क्षेत्रमा तीनै तहका सरकारको राम्रो सहयोग पाएको उनको भनाइ छ । अर्यालकी श्रीमती उमाले श्रीमानको कृषि कर्मले सामाजिक प्रतिष्ठा निर्माण भएको बताइन् । – रासस
प्रतिक्रिया दिनुहोस