एन्टार्क्टिक क्षेत्रका बरफहरू टुक्रिए, डुबे हजारौँ पेङ्ग्विनका बचेरा

काठमाडौं – पेंग्विनको वासस्थान हिउँले भएको क्षेत्र हो । समुद्र नजिकैका हिउँले भरिएका क्षेत्रमा धेरै पेंग्विन पाइन्छन् । पछिल्लो समय पृथ्वी तातिँदै जाँदा यसको असर सबैभन्दा धेरै यो चरामा परेको देखिएको छ । मुनी समुद्र र माथि हिउँले भरिएका ठाउँमा रहेको पेंग्विनका वासस्थान मासिँदा विस्थापित हुँदैछन् भने धेरैको यसकै कारण मृत्यु समेत भएको छ ।

पछिल्लो समय दक्षिणी धु्रव अर्थात् एन्टार्क्टिक क्षेत्रमा बस्ने एम्परर पेङ्ग्विनका बचेराहरूको मृत्युको संख्या बढ्ने क्रम देखा परेको छ । त्यहाँ झण्डै १० हजार त्यस्ता कलिला पक्षीहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

ती चल्लाहरूले समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास गर्न सक्नु अघि नै मुनिको समुद्री बरफ पग्लिएपछि त्यस्तो अवस्था सिर्जना भएको हो । ती चराहरू कि त डुबेर वा ठिहिरिएर मरेको हुनसक्ने बताइएको छ ।

सन् २०२२ को अन्त्यतिर भएको त्यस्तो घटना उक्त महादेशको पश्चिमतर्फ बेलिङ्जहाउजन सागरमा तैरिएको क्षेत्रमा भएको थियो । घटना भूउपग्रहमार्फत रेकर्ड गरिएको थियो । ब्रिटिश एन्टार्क्टिक सर्भे (बीएएस)का डा पिटर फ्रेटवेल त्यहाँ भएको विनाश भविष्यमा हुनसक्ने घटनाको सङ्केत रहेको बताउँछन् ।

एम्परर पेङ्ग्विनको ९० प्रतिशत भन्दा धेरै बथान यस शताब्दीको अन्त्यसम्ममा लोप हुने प्रक्षेपण गरिएको छ । उक्त महादेशको मौसमी बरफ सागरले पृथ्वीमा दिनदिनै बढिरहेको तापमानको मार खेपिरहेको छ ।

आफ्नो प्रजनन चक्रमा एम्पररहरू समुद्री बरफमा निर्भर हुन्छन्, चल्लाहरू हुर्काउनलाई यो स्थिर परिवेश हो । तर यदि त्यो बरफ हुनुपर्ने जति फराकिलो छैन वा धेरै छिटो टुट्यो भने यी चराहरू समस्यामा पर्छन् । डा फ्रेटवेल र उनका सहकर्मीहरूले मृत्युको उक्त क्रमका बारेमा कम्युनिकेसन्स अर्थ एन्ड इन्भायरोमेन्ट जर्नलमा लेखेका छन् ।

ती वैज्ञानिकहरूले बेलिङ्जहाउजन सागर क्षेत्रमा रहेमा पाँच वटा बथानलाई अवलोकन गरेका थिए । ती क्षेत्रहरू रोत्थ्सचाइल्ड टापु, भर्डी इनलेट, स्माइली टापु, ब्रायन प्रायःद्वीप र फ्रग्नर प्वइन्ट छन् । ईयूको सेन्टिनेल–२ भूउपग्रहहरूको प्रयोग गरेर उनीहरूले पेङ्ग्विनका गतिविधिहरू अवलोकन गरेका थिए। पेङग्विनले सेताम्मे समुद्री बरफमा त्याग गरेका मलमूत्रको थुप्रोको आधारमा त्यस्तो अध्ययन गरिएको थियो । खैरो रङ्गको त्यस्तो मलमुत्रको धब्बा भूउपग्रहबाट समेत देखिन्छ ।



दक्षिणी गोलार्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री बरफमा हाम फाल्छन् । उनीहरू त्यहाँ जोडी बन्ने, संसर्ग गर्ने र अण्डा पार्ने काम गर्छन् । ती अण्डाहरू कोरलेपछि बचेराहरू स्वयंमा भर पर्न सक्ने नभएसम्म आउँदा महिनासम्म तिनको हेरचाह गर्छन् ।

त्यो सामान्यतः नयाँ चराहरू समुद्रमा आइपुग्ने समय डिसेम्बर÷ज्यानुअरी महिनाको आसपास हुन्छ । तर अनुसन्धान टोलीले देखे अनुसार नोभेम्बरमा एम्पररका बथान मुनिको समुद्री बरफ टुक्रिएको थियो । त्यो हजारौँ चल्लाहरूले पौडी खेल्नको लागि आवश्यक चिल्लो प्वाँखहरू विकास गर्न समय पाउनुअघिको बेला थियो ।

फलस्वरूप चारवटा बथानमा प्रजननपछिको प्रकृया पूर्णतः विफल भयो । उत्तरी क्षेत्र रोत्थ्सचाइल्डमा मात्र केही सफलता देखा प¥यो । एन्टार्क्टिकको ग्रीष्मकालीन समुद्री बरफ सन् २०१६ पछि उल्लेखनीय रूपमा घटेको छ । जसले गर्दा उक्त महाद्वीपको वरिपरि जमेको पानीको कुल क्षेत्रमा नयाँ न्यूनतम रेकर्ड कायम भएको छ ।

त्यसमा समग्र रूपमा सबैभन्दा कम बरफ सन् २०२१÷२२ र २०२२÷२३ को गर्मी याममा देखिएको थियो जतिखेर बेलिङ्जहाउजन सागर पूर्वरूपमा बरफको आवरणबिना देखिएको थियो । जाडोको समुद्री बरफको अधिकतम मोटाई सामान्यतः सेप्टेम्बरमा पुग्छ जुन अब सामान्यतः भइरहने भन्दा निकै कम हुन्छ ।



डा फ्रेटवेल र सहकर्मीहरूका अनुसार एम्पररहरूले परिस्थितिमा आएको यस परिवर्तनको प्रभाव महसुस गरिरहेका छन् । सन् २०१८ र सन् २०२२ को बीचमा थाहा भएकामध्ये ६० भन्दा बढी एम्परर पेङ्ग्विनमध्ये झण्डै एक तिहाइ कुनै न कुनै रूपमा समुद्री बरफको मोटाइमा आएको कमीबाट प्रभावित भएका थिए । जुन कहिले याम सकिएपछि बरफ बन्ने कारण रहेको छ भने कहिले ती छिट्टै टुक्रने कारणले पनि भएको छ ।

पृथ्वीको अर्को छेउ अर्थात् आर्क्टिकमा समुद्री बरफ दशकौँदेखि निरन्तर घट्दै गएको छ । यसको विपरीत एन्टार्क्टिक बलियो देखिन्थ्यो । सन् २०१६ सम्म त्यो प्रत्येक अर्को वर्ष केही व्यापक बनेको थियो । – बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics