विश्व समूदायमा प्रधानमन्त्री दाहाल, जलवायु परिवर्तनको विषयमा राष्ट्रसंघमा के बोले ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जलवायु परिवर्तनले विश्वव्यापी संकट निम्तिने चेतावनी दिँदै नियन्त्रणको समय घर्किन लागेको तर्फ सचेत गराएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका विषयमा समयमै सचेत नभए विश्वले ठूलो क्षति भोग्नुपर्ने अवस्था आउने बताए ।

दाहालले जलवायु परिवर्तनको बारेमा कुरा राख्ने क्रममा नेपालजस्ता जलवायु जोखिममा रहेका हिमाली मुलुकले जलवायु परिवर्तनको चरम पीडा भोग्दै आएको विषय उल्लेख गरेका थिए । उनले जलवायु परिवर्तनले संकटको परिस्थिति निम्त्याइरहेको बताए ।

उनले भने, ‘हाम्रो निष्क्रियता वा सानो कार्यले पक्कै पनि मानवताका लागि विनाशकारी नतिजा निम्त्याउनेछ । तसर्थ, हामीले उच्च महत्त्वाकांक्षा राख्नुपर्छ र ती महत्त्वाकांक्षाहरूलाई सामयिक रूपमा हासिल गर्न आफूलाई प्रतिबद्ध हुनुपर्छ ।’

‘हिमालय क्षेत्र दुई अर्बभन्दा बढी मानिसका लागि ताजा पानीको स्रोत हो । जलवायु परिवर्तनका कारण हाम्रो हिमालयमा हिउँ तीव्र रुपमा घटिरहेको छ,’ उनले भने, ‘जलवायु परिवर्तनले हाम्रो हिमालको स्वास्थ्यलाई मात्रै नभई त्यहाँभन्दा तलतिर बस्ने लाखौं मानिसको जीवन र जीविकोपार्जनलाई समेत खतरामा पारेको छ ।’

दाहालले बाढी, खडेरी र अन्य चरम हावापानीका कारण हुने मानवीय र आर्थिक क्षति डरलाग्दो रहेको प्रस्ट पारे । उनले नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने महत्त्वाकांक्षी लक्ष्य राखेको पनि बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics