बर्दियामा बाघको आक्रमणबाट ४ वर्षीय साहिल घाइते

बर्दिया – बर्दियामा बाघको आक्रमणबाट एक बालक घाइते भएका छन् । बारबर्दिया नगरपालिका –३ स्थित खुरखुरे फाँटाका ४ वर्षीय साहिल सुनारलाई बाघले आक्रमण गरेको हो ।

घाइते बालकको नेपालगञ्ज स्थित नर्सिङ होममा उपचार भैरहेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले बताए ।

उनले भने, ‘चारैतिर जंगलले घेरिएको बस्ती खुरखुरे फाँटाको सडकमा खेल्दै गरेका बालकलाई शुक्रबार बेलुका साढे ६ बजे बाघले आक्रमण गरे लगत्तै नगरपालिका मार्फत निःशुल्क एम्बुलेन्स मार्फत उपचारको लागि नेपालगञ्ज पठायौं । बालकको उपचारका क्रममा रगत चढाउनु पर्ने भएकोले रेडक्रससँग समन्वय गरेका छौं ।’

बालकको गालामा बाघको नंग्राले घाउ बनाएको छ । उपचार र राहतको लागि नगरपालिकाले डिभिजन बन कार्यालय बर्दियासँग समन्वय गरेको र नगरपालिकाबाट पनि राहत उपलब्ध गराउने नगरप्रमुख थारुले बताए ।

सोही क्षेत्रमा हालसम्म ३ जना मानिसलाई बाघले आक्रमण गरिसकेको छ । द्वन्द्व रोक्न तत्काल विद्युतीय तारबारको ब्यवस्थापन गर्न उनले माग गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics