नेपालले ‘कृषि सिक्ने’ इजरायलमा हमासकाे आक्रमण, नौ नेपाली घाइते

काठमाडौं - इजरायलमाथि प्यालेस्टाइनी चरमपन्थी समूह हमासले रकेट आक्रमण गरेको छ । बीबीसीले जनाएअनुसार उक्त रकेट आक्रमणमा परेर कम्तिमा पनि ४० जना इजरायली नागरिकको मृत्यु भइसकेको छ भने पाँच सय बढी घाइते भएका छन् ।

शनिबार बिहान इजरायलमाथि हमासले गोलाबारी गरेको हो । समाचारअनुसार केही इजरायली सैनिकलाई हमासले नियन्त्रणमा पनि लिएको छ तर यसको औपचारिक पुष्टि भने भइसकेको छैन । हमासले २० मिनेटमा पाँच हजार रकेट आक्रमण गरेको जनाएको छ । हमासको आक्रमणमा परी इजरालयमा रहेका ९ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हुआयामिक नेपाल–इजरायल सम्बन्धलाई इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (मसाभ) को सहयोगमा इजरायली कृषि प्रविधिलाई नेपालमा ल्याउने उद्देश्यले नेपालका सातवटै प्रदेशमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्र हालै हस्ताक्षर भएकाे थियाे ।
नेपाल र इजरायलबीच हालसालै भएको अर्को समझदारीले इजरायलको श्रम बजारमा नेपाली कामदारलाई अस्थायी रोजगारी प्रदान गर्नेछ भने सुसारेका रूपमा मात्र नेपालीले पाउँदै आएको रोजगारीको अवसर अब कृषि, होटल÷रेष्टुरेन्ट, निर्माण र अन्य क्षेत्रमा मिल्नेछ।

आर्थिक सम्बन्ध अभिवृद्धिका निम्ति लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधि हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार बनाउन नेपाल–इजरायल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री स्थापना हुनुले व्यापार क्षेत्रमा पारस्परिक सहयोगका निम्ति बाटो खुलेको छ।

नेपाल र इजरायलबीच शिक्षा, संस्कृति, प्रविधि, विज्ञान र वातावरणका क्षेत्रमा जारी सहयोगलाई थप प्रगाढ बनाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय र तेल अविव विश्वविद्यालयबीचको साझेदारीले प्राज्ञिक सम्बन्ध पनि क्रमशः विस्तार भइरहेको छ। इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ। नेपालले लामाेसमयदेखि इजरायलसँग कृषि सिप, तालिम, खेति प्रणाालीलगायतमा सहकार्य गरिरहेकाे छ ।

दोस्रो विश्वयुद्धको समाप्त भएसँगै बेलायती उपनिवेशबाट स्वतन्त्र भई १४ मे १९४८ मा स्थापना भएको पश्चिम एसियाको सानो देश इजरायललाई मान्यता दिने दक्षिण एसियाकै पहिलो देश नेपाललाई इजरायलका जनताले स्नेहका साथ हेर्ने गरेका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics