आमा गैंडाको मृत्युपछि सँगै रहेको बच्चा (केटो) बेपत्ता, खोज्न हात्ती र सेना परिचालन

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार बाहिर बच्चासँगै निस्केको पोथी गैंडा मृत अवस्थामा फेला प¥यो । माउ अचानक ढलेपछि बच्चा सँगै रहेको फोटो ट्रयापिङ क्यामरामा परेको छ । तर, अहिले बच्चा (केटो) सम्पर्कमा छैन । यहीँ तनावमा छन् निकुञ्जका कर्मचारी र नेपाली सेना । उनीहरू केटोलाई खोज्न हात्तीको साथमा निस्किएको दुई दिन भयो । तर, भेटिएको छैन ।

हात्तीसहित सुरक्षाकर्मीले शनिबारदेखि संगठित खोजी सुरु गरेका हुन् । निकुञ्जले गैंडाको केटा खोज्न शुक्रबार बिहानदेखि नै थाले पनि भेटिएन । शनिबारदेखि चार वटा हात्ती, नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालित भएको सहायक संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए ।

पोथी गैंडा निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकाको बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी मृत अवस्थामा फेला परेको थियो । पोथी गैंडा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । खाग लगायत अंग सुरक्षित छ ।

घटनास्थल हेर्दा माउको मृत्यु भएपछि केटा निकैबेर त्यहीँ रहेको संकेत देखिएको छ । निकुञ्ज प्रशासनका अनुसार माउ अचानक ढलेपछि बच्चा सँगै रहेको फोटो ट्रयापिङ क्यामरामा परेको छ ।

माउ गैंडा मृत भेटिएको ठाउँ निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारि पर्छ । माउ गैंडा करिब १९÷२० वर्ष उमेरको थियो । निकुञ्ज मुख्यालयबाट पर र अप्ठ्यारो ठाउँ भएकाले राति चिकित्सक टोली त्यहाँ पुग्न सकेको थिएन ।

बर्दिया निकुञ्जबाट चिकित्सकसहित सुरक्षा टोली घटनास्थलमा शनिबार बिहान पुगेर गैंडाको पोष्टमार्टम गरेको जनाएको छ । निकुञ्जमा पछिल्लो गणना अनुसार ३८ वटा गैंडा छन् । गैंडाको बासस्थान कर्णाली नदी तटीय क्षेत्र, बबई उपत्याका र खाता जैविक मार्ग हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics