फत्तेपुर जंगलमा पाटेबाघ देखिएपछि…

बाँके - राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वन क्षेत्रमा पाटेबाघ देखा परेको छ । वनमा गएका स्थानीय बासिन्दाले उक्त बाघलाई फेला पारेका हुन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले सामुदायिक वन क्षेत्रमा पाटेबाघ पुनः देखा परेको जानकारी दिए । ‘राप्ती पीडित तथा गुलरी सामुदायिक क्षेत्रमा पुनः बाघ देखा परेको छ, जंगल प्रवेश गर्दा समुह बनाएर मात्र प्रवेश गर्नुहोला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । दुई वर्षअघि मात्र सोही सामुदायिक वन क्षेत्रमा पाटेबाघले आतंक मच्चाएको थियो ।

पाटेबाघले मानिसको ज्यान लिनुका साथै थुप्रै पशु चौपायामाथी आक्रमण गरेको थियो । बाघले दिनहुँजसो मानिस र पशु चौपायामाथी आक्रमण गर्ने क्रम नरोकिएपछि डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जले बेहोस बनाएर नियन्त्रणमा लिई चितवन पुर्याएका थिए ।

विगतको घटनालाई स्मरण गर्दै वडाअध्यक्ष खरेलले सावधानी अपनाउन विशेष आग्रह गरेका छन् । उक्त क्षेत्र डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्र भित्र पर्दछ । डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले पाटेबाघ अहिले जंगलमा देखा परेकाले घाँस, दाउरा र पशु चौपाया चराउन जाँदा सजगता अपनाउनुपर्ने बताए ।

‘जंगलमा जाँदाखेरी विशेष सावधानी अपनाउन म राप्तीपारीका बासिन्दालाई आग्रह गर्दछु, सकभर यो समयमा जंगलमा प्रवेश नगर्दा राम्रो हुन्छ, यदी प्रवेश गर्नै परेको खण्डमा समुह बनाएर मात्रै जानु हुन अनुरोध गर्दछु,’ उनले भने ‘बाघको पनि एउटा एरिया हुन्छ, सधैं एकै ठाउँमा बस्दैन, बाघले अहिले राप्तीपारी क्षेत्रमा हानी नोक्सानी गरेको कुरा हामीलाई जानकारी छैन, तर बाघ देखा परेपछि सजगता अपनाउनै पर्छ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics