किन भाइटीकामा ओखर, मखमली र सप्तरङ्गी टीका अनिवार्य ?
- नेचर खबर
काठमाडौं - भाइटीकामा छुट्टाउने नहुने कुराहरू हुन् बिमिरो, ओखर, सप्तरङ्गी टीका, भाइ मसला र मखमलीको माला । यी सामग्री तिहारमा किन महत्वपूर्ण मानिएका छन् ?
भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबो, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्छन् ।
ओखर र बिमिरो
तिहारमा अष्ठदल कमल पत्रमा लेखिएको थालमा यमराजको प्रतीक बिमिरो र ओखर राख्ने र पूरा गर्ने चलन छ। तिहारमा भाइटीका लगाउँदा नभई नहुने कुरा हुन्, ओखर र बिमिरो । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ ।
यसरी ओखर फुटाउँदा दाजुभाइको कालको बाटो छेकिने विश्वास गरिन्छ । भाइटीकामा ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरू आफ्ना माइतीबाट टाढै रहुन् भन्ने पनि धार्मिक विश्वास छ ।
मखमलीको माला
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ। मखमली कहिल्यै ओइलाउँदैन, यो पृथ्वीमा धेरै फूल फुल्छन् तर कोहीको आयु एक घण्टाको मात्र पनि हुन्छ । त्यसैले लामो आयुलाई यसले प्रतिबिम्बित गर्दछ ।
सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन । मखमली माला र दुबो कहिल्यै नओइलाउने र तेल कहिल्यै नसुक्ने भएकाले तिहारमा तेलको तीन पटक फेरा हालेर आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकाङ्क्षालाई प्रतिबिम्बित गर्दछ ।
सप्तरङ्गी टीका
तिहारमा दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिएको छ ।
सप्तरङ्गी टीका लगाउँदा दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । तिहारमा अष्टचिरिञ्जीवी तथा लक्ष्मीपूजा गर्दा पनि अबिर–केसरी आवश्यक हुन्छ । त्यसैले सप्तरङ्गी रंगहरु देख्दा हामीलाई तिहारको सम्झना आउने गर्छ ।
भाइ मसला
तिहारमा विशेष गरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखन लगायतका मसाला (भाइ मसला) दिने चलन छ ।
दाजुभाइका लागि दिइने मसालाहरू स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । तिहारमा प्रयोग हुने भाइ मसालाको प्रयोगले शारीरिक विकासका साथै रोगसित लड्न सक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्दछ ।
प्रतिक्रिया दिनुहोस