‘कोप-२८ ले आवश्यक ऊर्जा उत्सर्जन कटौतीको केवल ३० प्रतिशत पूरा गर्छ’

काठमाडौं - संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ मा हालसम्म गरिएका प्रतिबद्धताले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनमा कमी गर्न आवश्यक पर्ने कार्यमा ३० प्रतिशतले मात्र कमी ल्याउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईइएले आइतबार जनाएको छ।

“जिवाश्म इन्धन क्षेत्रको कारण हरितगृह ग्यास उत्सर्जनको सामना गर्न यी प्रतिज्ञाहरू सकारात्मक कदमहरू भए तापनि ती विश्वलाई विशेष गरी विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय लक्ष्यमा पुग्ने मार्गमा अघि बढ्न पर्याप्त हुने छैनन्,” आईइएको रिपोर्टमा भनिएको छ।

दुबईमा सरकारहरू र तेल र ग्याँस उद्योगहरूबीच नवीकरणीय ऊर्जालाई तीन गुणा वृद्धि गर्ने र सन् २०३० सम्ममा मिथेन ग्यास उत्सर्जनमा तीव्र कटौती गर्ने गैर–बाध्यकारी प्रतिज्ञाहरूको मूल्याङ्कन छलफल जारी छ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी निकायका अनुसार नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी प्रतिबद्धतामा १३० देशले हस्ताक्षर गरेका छन्।

विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक चीन, विकासशील भारत र प्रमुख ऊर्जा निर्यातकर्ता साउदी अरब र रूसले सम्झौतामा हस्ताक्षर गरेका छैनन्।

यद्यपि, चीनले क्यालिफोर्नियामा कोप २८ को तयारीका लागि भएको वार्तापछि संयुक्त राज्य अमेरिकासँगको संयुक्त वक्तव्यमा नवीकरणीय ऊर्जालाई तीन गुणा बढाउने लक्ष्यमा औपचारिक रूपमा केही प्रतिबद्धता जनाएको थियो।

बेइजिङ ऐतिहासिक रूपमा संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्कमार्फत आधिकारिक रूपमा नभएका यस्ता वक्तव्यहरूमा प्रतिबद्धता जनाउन हिचकिचाउँदै आएको छ।

सन् २०१५ को पेरिस सम्झौताले बढ्दो खडेरी, आँधीबेहरी र समुद्रको सतह वृद्धिलगायत जलवायु परिवर्तनको सबैभन्दा खराब विनाशबाट बच्न विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी नराख्ने महत्वाकाङ्क्षा राखेको थियो।

मिथेनको बारेमा, लगभग ५० इन्धन कम्पनीहरूले उत्सर्जन शून्य गर्ने र सन् २०३० सम्ममा नियमित उत्सर्जनलाई अन्त्य गर्ने वाचा गरेका छन्।

अत्यधिक शक्तिशाली तर तुलनात्मक रूपमा कार्बन डाइअक्साइडपछि दोस्रो मानिने अल्पकालिक मिथेन ग्यास अहिले हुने हरितगृह ग्याँस उत्सर्जनबाट तापक्रम वृद्धिका लागि लगभग एक–तिहाई नतिजाको लागि जिम्मेवार छ। ऊर्जा उत्पादनको अतिरिक्त, पशु कृषि मिथेनको एक प्रमुख स्रोत हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics