दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मासमक्ष उनले मंगलबार राजीनामा बुझाएको खनालले जानकारी दिए ।

खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउन ६ गतेबाट पाँच वर्षका लागि प्राधिकरणको जिम्मेवारीमा आएका थिए । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले भोलि (बुधबार) बाट लागु हुने गरी राजीनामा बुझाएका हुन् ।

पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा मन्त्री शर्मासँग विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ ।

त्यस्तै स्मार्ट टेलिकम खारेजी, एनसेलको सेयर खरिद बिक्री र इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत विषयमा पनि मन्त्रालय र प्राधिकरण नेतृत्वबीच विवाद थियो ।

खनालले भने आफ्नो स्वेच्छाले राजीनामा दिएको बताए । प्राधिकरणले खरिद गरेको टेरामक्सबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

उनको पदावधि आगामी साउनसम्म थियो । विभागीय मन्त्रीसँग विवाद बढ्दै गएपछि खनालले कार्यकाल सकिन करिब ६ महिना अगावै राजीनामा दिएका हुन् ।

यसैबीच प्राधिकरणका अध्यक्ष खनालले पेस गरेको राजीनामा मन्त्रिपरिषद्को आजै बसेको बैठकले स्वीकृतसमेत गरेको छ ।

मन्त्रिपरिषद्ले रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने, रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्नेसमेत निर्णय गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics