नेपालीको खुसी ९३औं स्थानमा, कुन देशका नागिरक बढी खुसी ?
- नेचर खबर
काठमाडाैं - वर्ल्ड ह्यापिनेस रिपोर्टमा लगातार सातौँ पटक फिनल्यान्ड पहिलो स्थानमा रहन सफल हुँदा सन् २०२४ को सूचीमा नेपाललाई दक्षिण एशियाको सबैभन्दा धेरै खुसी देशका रूपमा चिनाइएको छ।
विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ भने ६० वर्षमाथिको उमेर समूहमा नेपाल ७६औँ स्थानमा छ ।
१४३ देशको खुसीको स्तर मापन गरिएको उक्त प्रतिवेदन ग्यालप, द अक्सफोर्ड वेलबिइङ रिशर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घीय डिभिलपमेन्ट सोलुसन्स नेटवर्क र एउटा सम्पादकीय बोर्डले तयार पारेको हो।
प्रतिव्यक्ति कूल गाह्रस्थ उत्पादन, सामाजिक सहयोग, स्वास्थ्य, स्वतन्त्रता, सहृदयता र भ्रष्टाचारबारेका जनमतसहितलाई ध्यान दिएर तयार पारिएको उक्त प्रतिवेदनमा यस पटक संयुक्त राज्य अमेरिका पहिलो पटक विश्वका सर्वाधिक खुसी २० देशमा परेको छैन।
फिनल्यान्ड र अन्य नर्डिक देशहरू उक्त सूचीको माथिल्लो स्थानमा रहँदा सबैभन्दा पुछारमा अफगानिस्तान रहेको छ। यता गएको चार वर्षको तथ्याङ्कलाई हेर्ने हो भने नेपालीले हरेक वर्ष खुसी गुमाउँदै गएको छ ।
सन् २०१३ मा नेपाल खुसी हुने सूचीमा ४.१६५ अंक ल्याएर १३५औँ स्थानमा थियो । त्यस्तै सन् २०१५ मा ४.५१४ अंक ल्याएर १२१ औँ स्थानमा पुगेको थियो । त्यस्तै सन् २०१६ मा ४.७९३ अंक ल्याएर १०७ औँ स्थानमा झरेको थियो ।
सन् २०१७ मा ४.९६२ अंक ल्याएर ९९ औँ स्थानमा आएको नेपाल सन् २०१८ मा ४.८८० अंक ल्याएर १०१ औँ स्थानमा पुगेको थियो । सन् २०१९ मा ४.९१३ अंक ल्याएर १०० औँ स्थानमा रहेको नेपाल सन् २०२० मा भने सुधार गर्दै ५.१३७ अंक ल्याएर ९२ औँ स्थानमा रह्यो ।
२०२१ मा ८७औँ, २०२२ मा ८४औँ र सन् २०२३ मा ७८औँ स्थानमा रहेको नेपाल सन् २०२४ मा ५.२ अंक ल्याएर ९३ औँ स्थानमा पुगेको हो । तथ्याङ्कलाई हेर्दा युवाको तुलनामा प्रौढ बढी खुसी देखिन्छन् ।
खुसीलाई हेर्ने मानिसका दृष्टिकोण फरक फरक हुनसक्नेमा विज्ञहरू सहमत छन्। प्राध्यापक ढकाल शान्ति, वातावरण, स्वास्थ्य प्रणाली र सामुदायिक भावनाजस्ता कुराहरूमा खुसी निर्भर हुने ठान्छन्।
फिनल्यान्डमा ३२ वर्षदेखि बसोबास गरिरहेकी व्योमा ताम्राकार चाहिँ शिक्षाजस्ता कतिपय आधारभूत क्षेत्रमा सुधार गर्नुपर्ने कुरा नेपालले फिनल्यान्डबाट सिक्नुपर्ने ठान्छिन्।
उनले भनिन्, “मलाई लाग्छ देशप्रतिको माया र देश प्रतिको इमानदारिता फिनल्यान्डबाट सिक्नुपर्छ। तर सबैभन्दा पहिला नेपालीहरू शिक्षित हुनुपर्छ। नेपालमा जनताहरू धनी छन् तर देश गरिब छ। तर यता नर्डिक देशहरूमा देशहरू धनी छन् र उनीहरूले धेरै सुविधा दिन सक्छन्।”
उनले गरिबहरूलाई माथि उठाउने संयन्त्र फिनल्यान्ड जस्ता देशमा रहेको उल्लेख गर्दै थपिन्, “यहाँ गरिबहरूलाई उकास्ने तालिमहरू र सुविधाहरू छन्। सब कुरा सरकारले उपलब्ध गराउँछ जुन हाम्रो देशमा छैन। धनी धनी भइरहने र गरिब गरिब रहिरहने अवस्था अन्त्य गर्नुपर्छ।”
प्रतिक्रिया दिनुहोस