विश्व हात्ती दिवसकै भोलिपल्ट मोरङको बेलबारीमा मृत भेटियो छावा

काठमाडौं – विश्व हात्ती दिवस मनाएको भोलिपल्टै मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत अवस्थामा भेटिएको छ । बेलबारी नगरपालिका–३ करमडाँडाका स्थानीय विनोद थापाको टिक बगानमा मंगलबार बिहान छावा मृत भेटिएको हो ।

स्थानीयले बिहान ५ः३० बजेतिर प्रहरी र वन कार्यालयलाई यस विषमा खबर गरेका थिए । सव डिभिजन वन कार्यालय बेलबारीका प्रमुख एवं वन अधिकृत दिपेशकुमार मिश्रले अन्दाजी २÷३ वर्षको जस्तो देखिने पोथी हात्ती मृत फेला परेको जानकारी दिएका छन् ।

छावाको मृत्युको कारण खुल्न बाँकी नै छ । मिश्रले घटनाका बारेमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरिसकिएको र अनुसन्धानपछि मात्रै सबै कुरा प्रष्ट हुने बताए ।

अहिले घटनास्थललाई वन कर्मचारी र इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुरक्षित राखेको छ । प्रहरीका अनुसार घटनास्थल वरपर सोमबार राति १०÷१२ वटाको संख्यामा हात्ती देखा परेको जानकारी स्थानीयले दिएका छन् । बेलबारी क्षेत्रमा पछिल्लो १ सातायता नियमितजसो हात्तीको हुल देखा परिरहेको छ । हात्तीले सामान्य क्षति पनि गरिरहेको छ ।

योसँगै मोरङमा ७ महिनाको अवधिमा ३ वटा जंगली हात्ती मृत फेला परिसकेका छन् । सुन्दरहरैँचा नगरपालिका–६ मा भाले जातको छावा गत जेठ ३० गते बिहान मृत भेटियो थियो ।

सुन्दरहरैंचा–१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती २०८० पुस १६ गते मृत फेला परेको थियो । धमाधम हात्ती मृत फेला पर्न थालेपछि संरक्षणकर्मीहरु चिन्तित बनेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics