सहकारीमार्फत कोदो संरक्षण गर्दै भरतपुर महानगर

भरतपुर – चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरुमार्फत अभियान सञ्चालन गरेको हो । सहकारी संस्थामार्फत आइतबार भरतपुर–८ स्थित ज्योति टोलमा सामूहिक रुपमा कोदो रोपिएको छ । सुरुआतमा बाँझो रहेको आठ कट्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामूहिक रुपमा कोदो रोपिएको हो ।

‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरूले घडेरी किन्दै छाड्ने र बाँझो राख्ने क्रम उच्च छ’, सापकोटाले भने, ‘खाली जमिनलाई उत्पादनसँग जोड्नका लागि यो अभियान चलाएका हौँ ।’ सापकोटाका अनुसार वडा नं ८ र ९ मा रहेका करिब १० बिघा जमिनमा कोदो रोपिएको छ । यस वर्ष मात्रै सहकारी संस्थामार्फत बीउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ ।

सहकारी संस्थाले गत वर्ष काभ्रेबाट एक किलो रैथाने कोदोको बीउ ल्याएर रोपेको थियो । त्यसबाट ४१ किलो बीउ उत्पादन भएको थियो । त्यस बीउमध्ये संस्थाका सदस्यलाई यस वर्ष २२ किलो बीउ वितरण गरिएको सापकोटाले बताए । वडा नं ९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागिपरेको बताए । महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने उनले बताए।

लामो समयपछि कोदो रोप्न पाउँदा स्थानीयसमेत हर्षित भएका छन । भरतपुर–८ का चन्द्रमणि कँडेलले पछिल्लो समय कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको विषय भएको बताए। विगतमा पहाडमा रहँदा २२ मुरीसम्म कोदो उत्पादन गरेका उनले चितवन झरेपछि कोदो रोप्न छोडेका थिए यो । यस वर्ष भने उनले दुई कट्ठा जमिनमा कोदो रोपेको बताए ।

चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनतमा कोलोखेती गर्न सकिने भएकाले किसानका लागिसमेत यो लाभदायिक हुने कृषि विकास कार्यालयका कृषि अधिकृत उमनाथ अर्यालले बताए । चितवनमा कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव दुई मेट्रिक टन छ । गत वर्ष जिल्लामा एक हजार चार सय ६५ हेक्टरमा कोदोखेती गरिएको कृषि अधिकृत अर्यालले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics