प्रविधि क्षेत्रमा महिलाको सहभागिता



टेक्नोलोजी क्षेत्रमा लागेका महिलाहरूको एक समूहले यस क्षेत्रका महिलालाई समेट्न मिस–टेक अर्थात प्रविधि सुन्दरी समूह गठन गरेका छन् । समूहका उत्साही तीन जना हुन्, स्टेला कोइराला, अम्बिका शर्मा र अन्जु बुढाथोकी । उनीहरूको समूहले विभिन्न संस्थासँग मिलेर राजधानी र उपत्यका बाहिरका स्थानमा पनि प्रविधिसम्बन्धी तालिम दिने गर्छन् । शुक्रबारको कान्तिपुरमा खबर प्रकाशित छ ।

हार्डवेयर र सफ्टवेर जसैगरी नयाँ सोच भएका अर्का ३ जनाको समूहको नाम हो, ‘सोच वेयर’ । उनीहरू पनि नवीन सोच लिएर प्रविधि क्षेत्रमा आएका हुन् ।

एडा सोच वेयरकी सिइओ र संस्थापक हुन् । ४ महिनादेखि उक्त संस्थाले प्रविधि क्षेत्रमा काम गरिरहेको छ । च्याउ खेतीमा लागेका ललितपुरका एक किसानको फर्ममा उनीहरू आफ्नो यन्त्र परीक्षण गरिरहेका छन् ।

यस्तै पेसा रोजेका र रुची भएका महिलाको संख्या र उनीहरूको आत्मबल बढाउने उद्देश्यले बिहीबार महिलाहरूका लागि सूचना तथा सञ्चार प्रविधि दिवस (इन्टरनेसनल गर्ल्स आइसिटी डे) मनाइएको छ । विश्वमा प्रविधि क्षेत्रमा महिलाको सहभागिता बढाउन सन् २०१० देखि नै एप्रिल २७ मा यो दिवस मनाइने भए पनि नेपालमा औपचारिक रूपमा सन् २०१३ बाट सुरु गरिएको हो ।

नेपाल टेलिकमले बिहीबार राजधानीमा आयोजना गरेको कार्यशाला गोष्ठी कार्यक्रममा प्रमुख अतिथि रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना क्षेत्रमा महिलाको संख्या बढाउनुपर्ने तर सूचना प्रविधिको दुरुपयोग भइरहेको सन्दर्भमा महिला नै बढी पीडित देखिएको प्रति चिन्ता व्यक्त गरे ।

‘जहाँ महिलाले उच्च पद पाएका छन् त्यहाँको विकास भएको छ,’ कार्कीले भने, ‘सूचना प्रविधिका क्षेत्रमा पनि महिला आउनुपर्छ ।’ राष्ट्रिय महिला आयोगकी अध्यक्ष भगवती घिमिरेले आयोगमा पर्ने उजुरीहरूमध्ये कतिपय घटनामा सञ्चार प्रविधिबाट पीडितका पनि हुने गरेकाले विद्यालय स्तरदेखि नै सञ्चार प्रविधिको प्रयोगका फाइदा र दुरुपयोग गर्दा हुने सजाय जस्ता विषयमा अध्यन–अध्यापन हुनुपर्ने बताइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics