वन मन्त्रालय नै रित्याएर जम्बो टोली कोप २९ मा, अख्तियारले राख्यो चासो
- नेचर खबर
काठमाडौं – राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा वन मन्त्रालय नै रित्याएर जम्बो टोली बाकु गएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेको छ ।
नेपालबाट तीन जना मात्र जानुपर्नेमा मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट ३१ जनाको नेपाली टोली बाकु गएको छ ।
यस विषयमा आयोगले सोमबार वन मन्त्रालयलाई पत्र लेखेर जम्बो टोली किन बाकु पठाएको भन्दै प्रश्न गरेको हो ।
मन्त्रालयको टोलीमा वन मन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा. दीपक कुमार खरालदेखि प्रशासन महाशाखा प्रमुख एवम् सहसचिव भुपाल बराल र प्रशासन महाशाखाका उपसचिव शोभाकर रेग्मीसमेत टोलीमा छन् ।
अख्तियारले चार–पाँच वटा प्रश्नहरुसहित आवश्यकता, औचित्य, त्यहाँको कामको जिम्मेवारी के हो भनेर सोधेको स्रोतले बताएको छ ।
प्रशासन महाशाखा प्रमुख बराल छिट्टै काठमाडौं फर्किने तयारीमा रहेको र मन्त्री शाहीको भने १८ तारिखको दिन प्रस्थान गरेर १९ तारिखमा काठमाडौं आइपुग्ने टिकट छ ।
यता वन राज्यमन्त्री रुपा विक पनि बाकु जाने भनेर भ्रमण स्वीकृत भइसकेको छ । १४ तारिख अर्थात् कात्तिक २९ गतेको टिकट छ । तर राज्यमन्त्री विकले भने आफू बाकु नजाने मुडमा रहेको बताइन् ।
कोप २९ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । उनले आज सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस