नेपालमा फेला पर्यो नयाँ चरा गेरुमुहार चाँचर

काठमाडौं – अन्नपूर्ण संरक्षण क्षेत्रको चेले गाउँमा नयाँ चरा फेला परेको छ । मुस्ताङको ३ हजार १ सय मिटर उचाइमा चराविद् शंकर तिवारीले फेला पारेका उक्त चरा गेरुमुहार चाचर रहेको बताइएको छ ।

पदयात्रा गर्दै चरा अवलोकनका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको चेले गाउँमा रहेको स्याउ बगैंचामा उनले गत वैशाख १८ गते बिहान ६ बजेर ३९ मिनेटमा खिचेका थिए ।

नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटीलाई नेपालमा नयाँ चरा अभिलेख भएको भनेर कात्तिक २५ गते भौगोलिक अवस्था र तस्बिरसहित विस्तृत जानकारी उनले दिएका थिए ।

समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विशेषज्ञसँग सुझाव लिई अध्ययन गरेर नेपालका लागि नयाँ चरा भएको निष्कर्षमा फुगेको समिति अध्यक्ष डा. तुल्सी सुवेदीले जानकारी दिएका छन् ।

समितिले अंग्रेजीमा (नौम्यान्स थ्रस) नाम रहेको चराको नेपाली नाम गेरुमुहार चाँचर दिएको हो । मुहार र तल्लो भाग गेरुरंगको हुँदा यो चराको नाम गेरुमुहार चाँचर दिइएको हो । योसँगै नेपालमा पाइने चाँचर प्रजातिका चराको संख्या २० पुगेको छ ।

रुसमा आवासीय रूपमा पाइने र प्रजनन् गर्ने यो चरा चीन, जापान, मंगोलिया, कोरिया र ताइवानमा पनि पाइन्छ । बसाइँसराइका बेला यो चराले मंगोलियाको बाटो प्रयोग गरेर आवतजावत गर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics