संकटमा हिमनदी ! एकै वर्षमा गुम्यो ५४८ अर्ब टन बरफ
- पिताम्बर सिग्देल

काठमाडाैं । पछिल्लो २३ वर्षमा विश्वभरका हिमनदीहरू डरलाग्दो दरमा पग्लिरहेको तथ्य सार्वजनिक भएको छ । विश्वभरीका वैज्ञानिकहरुको समूहले हालै नेचर जर्नलमा प्रकाशित एक अध्ययनले हिमनदी पग्लिने दर द्रूत हुँदा समुद्री सतह बढ्न उल्लेखनीय सहयोग पुर्याएको पुष्टी गरेको छ । अध्ययन अनुसार, सन् २००० देखि २०२३ सम्म, हिमनदीहरूले वार्षिक औसत २७३ अर्ब टन बरफ गुमाए ।
यस अवधिको दोस्रो आधामा क्षतिको दर ३६ प्रतिशतले बढ्यो । यो ठूलो परिमाणमा भएको बरफ क्षतिले विगत दुई दशकहरूमा विश्वव्यापी समुद्री सतहमा लगभग १८ मिलिमिटर थपिएको छ । जसमा पछिल्लो पाँच वर्ष (२०१९ देखि २०२३) सम्ममा बरफ पग्लिने दरले रेकर्ड नै कायम गरेको छ । २०२३ मा मात्रै, हिमनदीहरूले एकै वर्षमा ५४८ अर्ब टन बरफ गुमाए । यो क्षती अहिलेसम्म एकै वर्षमा रेकर्ड गरिएको सबैभन्दा उच्च हो ।
हिमनदीहरूले सन् २००० पछि क्षेत्रीय रूपमा आफ्नो बरफको २ देखि देखि ३९ प्रतिशतसम्म सम्म गुमाएका छन् । जसको विश्वव्यापी औसत क्षति लगभग ५ प्रतिशत छ । २००० देखि २०२३ सम्मको कुल बरफ क्षति ६,५४२ अर्ब टन छ, जुन साढे २ अर्ब ओलम्पिक आकारका स्विमिङ पुलहरू भर्नु बराबर हो ।
सबैभन्दा धेरै बरफ क्षति गर्नेमा अलास्का २२ प्रतिशत, क्यानेडियन आर्कटिक २० प्रतिशत, ग्रीनल्याण्डका हिमनदीहरू १३ प्रतिशत र दक्षिणी एन्डिज १० प्रतिशत छन् । मध्य युरोप र काकेशस जस्ता साना हिमनदीहरू भएका क्षेत्रहरूले पनि बरफ उच्च दरमा क्षति अनुभव गरेका छन् । यसमध्ये युरोपले मात्रै सन् २००० पछि यसका हिमनदीमा भएको बरफको ३९ प्रतिशत गुमाएको छ ।
हिमनदी पग्लिएर विश्वव्यापी समुद्री सतह प्रति वर्ष ०.७५ मिलिमिटरका दरले वृद्धि भएको छ । जुन वृद्धिदर २००३ र २०१६ बीच देखिएको कुल वृद्धिको २० प्रतिशत हो । सन् २००० देखि २०११ सम्ममा प्रतिवर्ष २३१ अर्ब टन बरफ खस्ने दर बढेर २०१२ देखि २०२३ सम्ममा प्रतिवर्ष ३१४ अर्ब टन पुगेको छ । त्यस्तै सन् २०१९ देखि २०२३ सम्ममा बरफ खस्ने दरमा चार रेकर्डहरू देखिए ।
विभिन्न अध्ययनहरूका अनुसार, मानव जन्य गतिविधिका कारण बढ्दो विश्वव्यापी तापक्रम नै हिमनदी पग्लनुको मुख्य कारण हो । तापक्रम वृद्धि र वर्षामा परिवर्तन जस्ता क्षेत्रीय जलवायु ढाँचाहरूले पनि बरफ खस्ने गति बढाउन भूमिका खेलेका छन् ।
हिमनदीहरू पृथ्वीको जलवायु प्रणालीका महत्वपूर्ण हिस्सा हुन् । तिनीहरूको पग्लनेले समुद्री सतह वृद्धिमा मात्र योगदान गर्दैन ताजा पानीका स्रोतहरू, पारिस्थितिक प्रणालीहरू र स्थानीय समुदायहरूलाई पनि असर गर्छ । धेरै क्षेत्रहरू पिउने पानी, कृषि र जलविद्युतको लागि हिमनदीबाट बग्ने पानीमा निर्भर छन् । हिमनदीहरू घट्दै जाँदा, यी स्रोतहरू जोखिममा छन्।् । हिमनदीहरू पग्लने क्रममा पहिरो, बाढी र अन्य जोखिम पनि बढिरहेका छन् । हिमनदीको क्षतिले समुद्री र स्थनीय पारिस्थितिक प्रणाली दुवैलाई असर गर्छ, बासस्थान र जैविक विविधतालाई बाधा पुर्याउँछ ।
अध्ययनले जलवायु परिवर्तनलाई सम्बोधन गर्न विश्वव्यापी कार्यको तत्काल आवश्यकतामासमेत जोड दिएको छ । हिमनदी पग्लने दरलाई कम गर्न र यसको प्रभावहरूलाई कम गर्न हरितगृह ग्यास उत्सर्जन घटाउनु अहिलेको प्रमुख आवश्यकता हो ।
अध्ययनका अनुसार, सबै १९ हिमनदी क्षेत्रहरूले बरफको डरलाग्दो क्षति व्यहोरेका छन् । दक्षिण एशिया पश्चिम जस्ता केही क्षेत्रहरूले क्षेत्रीय शीतलता र बढ्दो जाडो र वर्षाका कारण बरफ क्षतिको दर केही ढिलो ढिलो अनुभव गरेका छन् । यसको विपरित, दक्षिणी एन्डिज र न्यूजिल्याण्डको जस्ता क्षेत्रहरूले बरफको क्षतिको तिब्र गति व्यहोरेका छन् ।
अध्ययनले कार्वन उत्सर्जनको दर यस्तै रहे जलवायु परिवर्तनका कारण भइरहेको हिमनदीको क्षतिबारे समयमै विशेष कदम नचाल्ने हो भने सन् २१०० सम्ममा, संसारभरिका हिमनदी २५ देखि ४५ प्रतिशतले हराउन सक्छन् । वैज्ञानिकहरुको समूहले गरेको यो अध्ययनमा विश्वभरका ३५ अनुसन्धान टोलीहरूबाट ४५० भन्दा बढी तथ्यांक विज्ञहरु पनि समावेश थिए । अध्ययनका क्रममा तथ्यांक विश्लेषण, ,हिमनदी मापन, डिजिटल उचाइ मापनसहित विभिन्न बैज्ञानिक विधिहरु प्रयोग गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस