एसियाका हिमालबाट हरेक वर्ष हराउँदैछन् २२ गिगाटन बरफ
तापक्रमसँगै मनसुनको बदलिँदो प्रकृतिले हिमनदीहरूलाई पनि क्षति

काठमाडौं । एसियाका देशमा रहेका हिमालका हिउँलाई कुनै समय ‘यो स्थायी हो’ भन्ने गरिन्थ्यो । तर, अब यी स्थायी रहेनन् – क्रमश पग्लँदैछन् । मनसुनको परिवर्तनशील ढाँचा र बढ्दो गर्मीका कारण अहिले हिमालका हिउँ मात्रै होइन, हिमताल पनि द्रुत गतिमा पग्लिरहेका छन् । अनि, फुटिरहेका छन् ।
युटा विश्वविद्यालय र भर्जिनिया टेकसँग सम्बन्धित वैज्ञानिकहरूले आफ्नो नयाँ अध्ययनमा एसियाका उच्च पहाडहरू (हाई माउन्टेन एसिया) मा रहेका हिमनदीहरूले हरेक वर्ष २२ गिगाटनभन्दा बढी बरफ गुमाइरहेको दाबी गरेका छन् । यो परिमाणलाई यसरी पनि बुझ्न सकिन्छ – यो मात्राको बरफले वा यसबाट बन्ने पानीले लगभग ९ करोड ओलम्पिक स्विमिङ पुलहरू भर्न सकिन्छ ।
जलवायु परिवर्तनका कारण बढ्दै गएको गर्मीले हिमनदीहरूमा जम्मा भएको बरफ पग्लँदा नेपाल, भारतसहित एसियाका देशहरूका नदीमा पानीको मात्रा बढ्दा चुनौती पनि थपिएको अध्ययनमा संलग्न विज्ञ बताउँछन् ।
प्रमुख अनुसन्धानकर्ता तथा युटा विश्वविद्यालयकी सहायक प्राध्यापक सोनम शेर्पा भन्छिन्, ‘हिमालय क्षेत्र, जहाँ मनसुनको हिमनदीहरूमा सबैभन्दा बढी प्रभाव पर्छ । यसले चुनौती निम्त्याईरहेको छ । यदि मनसुनको समय र तीव्रता यसरी नै परिवर्तन हुँदै गयो भने, बरफको क्षति पनि तीव्र हुनेछ र लाखौं मानिसहरूको पानी आपूर्ति खतरामा पर्नेछ ।’
एसियाका अग्ला पहाडहरूलाई ‘तेस्रो ध्रुव’ पनि भनिन्छ, किनभने यसमा आर्कटिक र अन्टार्कटिक पछि सबैभन्दा बढी हिउँ पर्छ । यी हिमनदीहरूले एसियाका सयौं नदी र तालहरूलाई पानी प्रदान गर्छन् । जसमा १.४ अर्ब भन्दा बढी मानिसहरू कृषि, जलविद्युत र उनीहरूको दैनिक पानीको आवश्यकताको लागि निर्भर छन् ।
पछिल्लो समय देखिएका परिवर्तनहरूका कारण, हिमालयबाट बग्ने नदीहरूको भविष्य पनि खतरामा छ । विज्ञका अनुसार यहाँ उपस्थित हिमनदीहरू पहिलेभन्दा छिटो संकुचित हुँदैछन् ।
यस अध्ययनमा, वैज्ञानिकहरूले नासाको ग्रेस उपग्रह, मौसम र पानी रेकर्डसँग सम्बन्धित डेटा विश्लेषण गरेका थिए । बढ्दो गर्मी र परिवर्तनशील मनसुनले हिमनदीहरूलाई कसरी असर गरिरहेको छ भनेर हेर्न यी डेटा विश्लेषण गरिएको शेर्पाले बताइन् । यस अध्ययनको नतिजा अन्तर्राष्ट्रिय जर्नल आईईईई जर्नल अफ सेलेक्टेड टपिक्स अन एप्लाइड अर्थ अब्जर्भेसन एन्ड रिमोट सेन्सिङमा प्रकाशित भएको छ ।
अध्ययनका अनुसार, मध्य हिमालयको दक्षिणी भागमा उच्च उचाइमा रहेका हिमनदीहरू जाडोको सट्टा गर्मीमा जम्मा हुन्छन् । यहाँ, उच्च उचाइमा चिसोको कारण, मनसुनी वर्षा हिउँमा परिणत हुन्छ र हिमनदीहरूलाई समर्थन गर्छ । तर, जब कम हिमपात हुन्छ वा बढी पग्लन्छ, हिमनदीहरू संकुचित हुन थाल्छन् ।
बढ्दो गर्मीले पग्लने गति मात्र बढाउँदैन, वर्षा र हिमपातको ढाँचालाई पनि बाधा पुर्याउँछ । यसले वर्षायामलाई छोटो बनाउन सक्छ । वर्षा–हिउँ कम हुन सक्छ वा हिउँको सट्टा वर्षा हुन सक्छ । फलस्वरूप, हिमनदीहरूमा कम हिउँ जम्मा हुन्छ र पग्लने क्रम पनि धेरै छिटो हुन्छ । एकै समयमा, पूर्वी हिमालयमा हिमपातमा कमी हिमनदीहरू संकुचित हुनुको कारण हुन सक्छ ।
अध्ययनका अनुसार, हिमनदीहरूको संकुचनका ढाँचाहरू ३ देखि ४.५ वर्ष र ५ देखि ८ वर्षको चक्रमा दोहोरिन्छन्, जुन मनसुनको प्राकृतिक उतारचढावसँग मेल खान्छ । यस्तो अवस्थामा, भविष्यमा मनसुनमा जलवायु परिवर्तनको प्रभावले यी हिमनदीहरूको स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने ठूलो प्रश्न उठ्छ ।
शेर्पाले चेतावनी दिँदै भनेकी छन्, ‘द्रुत गतिमा पग्लिरहेका हिमनदीहरूले दीर्घकालीन खतराहरू साथै तत्कालीन संकटहरू पनि निम्त्याउँदैछन् । यसका कारण हिमनदी फुट्ने र त्यसपछि पहिरो र बाढी जस्ता प्रकोपहरूको जोखिम बढ्दै गइरहेको छ । यसले तल्लो क्षेत्रमा भौतिक र मानविय क्षति बढी गर्न सक्छ ।’ शेर्पाले थपिन्, ‘यो भविष्यमा पानीको अभावको कुरा मात्र होइन, मानिसहरू र आधारभूत सुविधाहरूको सुरक्षामा मडारिरहेको खतरा पनि हो ।’
यदि आगामी समयमा पहाडी हिमनदीहरू द्रुत गतिमा घट्दै गए भने, नदीहरूको मुख्य स्रोत हिउँ पग्लनुको सट्टा अब वर्षा मात्रै हुनेछ । यसले आगामी समयमा तल्लो क्षेत्रहरूमा खडेरीको जोखिम बढाउनेछ । नदीमा क्रमश पानी घट्नेछन् ।
म्यासाचुसेट्स एमहस्र्ट विश्वविद्यालयसँग सम्बन्धित वैज्ञानिकहरूको नेतृत्वमा गरिएको एक अध्ययनले तीव्र गतिमा पग्लिरहेका हिमनदीहरू र वर्षाको ढाँचामा परिवर्तनले एशियाका हजारौं नदीहरूको प्रवाहमा परिवर्तन ल्याइरहेको खुलासा गरेको छ । अध्ययनको नतिजाले यहाँ बग्ने १० प्रतिशत अर्थात् लगभग ११,११३ नदीहरूको पानीको प्रवाह बढेको देखाएको छ ।
वैज्ञानिकहरूले यो पनि नदीहरूमा पानीको यो बढ्दो मात्राको ठूलो हिस्सा अहिले वर्षाको सट्टा हिमनदीहरू पग्लिएर आइरहेको बताएका छन् । यस्तो अवस्थामा, विज्ञहरू सुझाव दिँदै भन्छन्, ‘हिउँ र वर्षाको ढाँचाको निगरानी गर्न बलियो र सटीक संयन्त्र विकास गर्नु तत्काल आवश्यक छ । यो संयन्त्रले मनसुनमा हुने परिवर्तनको प्रभाव बुझ्न र समयमै तयारी गर्न मद्दत गर्नेछ ।’
प्रतिक्रिया दिनुहोस